हरि घिमिरे कपिलवस्तु, साउन ९ । हरिशयनी एकादशीको अवसरमा कपिलवस्तुको ४ नम्बर जीतपुरमा आयोजित ‘युवा भजन साँझ–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।
कपिलवस्तु युवा भजन समूहको आयोजनामा, हिमवत प्रतिष्ठान नेपालको सहयोग तथा श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको संरक्षकत्वमा सम्पन्न कार्यक्रममा हजारौँ भक्तजनको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ बटुक ब्राह्मणद्वारा स्वस्तिवाचन, दीप प्रज्वलन तथा तुलसी रोपण गरी गरिएको थियो । वैदिक विधिअनुसार गरिएको उद्घाटनले कार्यक्रमलाई थप आध्यात्मिक गरिमा प्रदान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजमा नैतिकता, सद्भाव, अनुशासन र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।
शुभकामना मन्तव्यका क्रममा श्रृङ्गीघाट समुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुशीलसिंह ठकुरीले युवाहरूलाई भजन, सत्सङ्ग र संस्कारमूलक गतिविधिमा सक्रिय रहँदै सकारात्मक समाज निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको सञ्चालन हिमवत प्रतिष्ठान नेपालका आचार्य कमल पौडेलले गर्नुभएको थियो । उहाँले हरिशयनी एकादशीको धार्मिक महत्त्व, तुलसीको आध्यात्मिक गरिमा तथा सामूहिक हरिनाम सङ्कीर्तनको प्रभावबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले आध्यात्मिक जागरणसँगै सामाजिक एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय भजन गायक दिवाकर भण्डारी समूहद्वारा प्रस्तुत हरिनाम सङ्कीर्तन तथा भजन, भगवान् शिवको महिमामा आधारित ताण्डव नृत्य, श्रृङ्गारिक आरती तथा कपिलवस्तु युवा भजन समूहको भक्तिमय प्रस्तुति मुख्य आकर्षणका रूपमा रहेका थिए । भजन, नृत्य र आरतीले कार्यक्रमस्थललाई भक्तिरस र आध्यात्मिक ऊर्जाले भरिएको वातावरणमा परिणत गरेको थियो ।
आयोजकले धर्म, संस्कृति, संस्कार तथा आध्यात्मिक चेतनाको संरक्षण र प्रवर्द्धनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ व्यापक रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । सहभागीहरूले कार्यक्रमलाई सफल, अनुकरणीय र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन् ।



