‘जनता माविको जग्गा बेचियो’ भन्दै शुलिल पौडेलको कडा टिप्पणी


पालिका पत्र

3 August, 2026 9:00 pm मा प्रकाशित

कपिलवस्तु, १८ साउन ।

शिद्धार्थ क्याम्पसका पूर्व स्ववियु सभापति शुलिल पौडेलले बाणगंगा नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयको जग्गा बिक्रीको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक गरेको आफ्नो धारणा मार्फत पौडेलले आफूले सिद्धार्थ क्याम्पसको गुम्दै गएको जग्गा फिर्ता गराउन औपचारिक रूपमा आठ वर्षसम्म निरन्तर संघर्ष गरेको उल्लेख गरेका छन् । उक्त अभियानमा स्वर्गीय शेरबहादुर, स्वर्गीय पुरुषोत्तम तथा स्वर्गीय दीपबहादुर केसीको साथ र योगदान रहेको स्मरणसमेत गरेका छन् ।

त्यसक्रममा उनले एक व्यक्तिलाई लक्षित गर्दै बाणगंगा–२ स्थित जनता माध्यमिक विद्यालयको जग्गा बिक्री गरेको आरोप लगाएका छन् । साथै ती व्यक्तिले नयाँ राजनीतिक दल गठन गर्ने तयारी गरिरहेको भन्ने चर्चाप्रति व्यंग्यात्मक टिप्पणीसमेत गरेका छन् ।

पौडेलले आफ्नो अभिव्यक्तिमा कडा र आक्रोशपूर्ण शब्द प्रयोग गरेका छन् । यद्यपि, उनले लगाएका आरोपहरूको पुष्टि भएको छैन । यस विषयमा आरोपित पक्षको प्रतिक्रिया प्राप्त हुन सकेको छैन । प्रतिक्रिया प्राप्त भएमा समाचार अद्यावधिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्