मधुवनधाममा १ सय ८ शिवलिङ्गसहित शिवमूर्ति स्थापना


पालिका पत्र

16 August, 2026 8:25 pm मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मधुवनस्थित शान्तकुञ्ज मधुवनधाममा १०८ शिवलिङ्गसहित शिवमूर्ति स्थापना गरी शिवलिङ्ग प्राण प्रतिष्ठापन कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबारदेखि सुरु भएको प्राण प्रतिष्ठापनसम्बन्धी धार्मिक अनुष्ठान आइतबार विशेष पूजाआजा तथा औपचारिक कार्यक्रमसँगै सम्पन्न भएको हो ।

धाम परिसरमा १०८ शिवलिङ्गसहित शिवमूर्ति स्थापना भएपछि त्यसलाई धार्मिक विधिअनुसार प्राण प्रतिष्ठापन गरिएको हो । स्थानीय धार्मिक तथा सामाजिक अगुवाहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला भजन–कीर्तन समूह तथा श्रद्धालु भक्तजनको सहभागितामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बाणगंगा नगरपालिका–८ का वडाध्यक्ष बाबुराम अर्यालले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै यस्ता धामले स्थानीय समुदायलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले शान्तकुञ्ज मधुवनधामलाई धार्मिक आस्थाको केन्द्रका रूपमा विकास गर्न स्थानीय तह, समुदाय र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

उनले धामको विकास केवल धार्मिक गतिविधिमा सीमित नभई यस क्षेत्रको पहिचान, पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिसँग पनि जोडिनुपर्ने बताए । १०८ शिवलिङ्गसहितको संरचना निर्माण तथा प्राण प्रतिष्ठापनले मधुवनधामको धार्मिक महत्व थप बढाएको भन्दै उनले यसको संरक्षण र व्यवस्थापनमा स्थानीय तहबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, विशिष्ट अतिथि मोतिपुर सब–डिभिजन वन कार्यालयका वन अधिकृत एजाज अन्सारीले धार्मिक स्थल र प्राकृतिक वातावरणबीचको सम्बन्ध महत्वपूर्ण रहेको बताए । उनले धार्मिक आस्थाका केन्द्रहरूको विकास गर्दा वातावरण संरक्षणलाई समेत प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै धाम परिसरलाई हरियाली, स्वच्छ र व्यवस्थित बनाउन स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सल्लाहकार तथा सदस्यहरू, अक्षयकोषदाता, आजीवन सदस्य, लेखा संयोजक तथा सदस्यहरू, विभिन्न टोलमा रहेका महिला भजन–कीर्तन समूहका अध्यक्ष तथा सदस्यहरू, बाणगंगा भजन–कीर्तन समूह बैरिया लगायत स्थानीय बुवा–आमा, दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेको छ । धार्मिक अनुष्ठानदेखि व्यवस्थापनसम्म अहोरात्र खटिएका समिति सदस्य, सहयोगी, स्थानीय समुदाय तथा कार्यक्रमको समाचार सम्प्रेषणमार्फत सहयोग गर्ने सञ्चारकर्मीहरूलाई समेत धन्यवाद दिइएको छ ।

धामका अध्यक्ष चुरामणि अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन काशीराम घिमिरेले गरेका थिए ।

आयोजकका अनुसार १०८ शिवलिङ्ग तथा शिवमूर्ति स्थापना र प्राण प्रतिष्ठापनले शान्तकुञ्ज मधुवनधामको धार्मिक पहिचानलाई थप बलियो बनाएको छ । स्थानीयस्तरमा धार्मिक गतिविधि विस्तार हुँदै गएको अवस्थामा धामलाई व्यवस्थित रूपमा विकास गर्न सके यस क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्न सकिने सम्भावना समेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्