कपिलवस्तु । कपिलवस्तुमा रहेको कपिलवस्तु संग्रहालयको संगठनात्मक संरचना परिवर्तन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पुरातत्व विभागले साविकको कपिलवस्तु संग्रहालय कार्यालय खारेज गरी ‘कपिलवस्तु संग्रहालय तथा स्मारक संरक्षण कार्यालय’ कायम गरेको हो ।
कपिलवस्तु संग्रहालय तथा स्मारक संरक्षण कार्यालय, तिलौराकोटबाट जारी गरिएको सूचनाअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणपछि साविकको कार्यालय खारेज भई नयाँ नाम र संरचनामा कार्यालय कायम भएको जानकारी गराइएको छ ।
कार्यालयका निमित्त कार्यालय प्रमुख सुनिता भण्डेलद्वारा जारी पत्रमा सम्बन्धित सबै सरोकारवालालाई नयाँ कार्यालय संरचनाबारे जानकारी गराइएको उल्लेख छ। पत्रमा कार्यालयको नाम “Kapilvastu Museum and Monument Conservation Office, Kapilvastu” कायम भएको जनाइएको छ।
नयाँ संरचनाले संग्रहालयसँगै कपिलवस्तु क्षेत्रका ऐतिहासिक तथा पुरातात्त्विक स्मारकको संरक्षणसम्बन्धी कामलाई एउटै कार्यालयमार्फत अघि बढाउने संकेत गरेको छ। यसले बुद्धसँग सम्बन्धित प्राचीन कपिलवस्तु क्षेत्रको पुरातात्त्विक सम्पदा संरक्षण, व्यवस्थापन तथा संग्रहालय सञ्चालनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
नेपाल सरकारको राष्ट्रिय किताबखानाको संगठन संरचना सूचीमा यसअघि ‘कपिलवस्तु संग्रहालय, कपिलवस्तु’ पुरातत्व विभागअन्तर्गत रहेको उल्लेख छ । पछिल्लो संगठन तथा पद दर्ताको अद्यावधिक विवरणमा भने कपिलवस्तु संग्रहालय तथा स्मारक संरक्षण कार्यालय नाम समावेश भएको देखिन्छ ।
कपिलवस्तु विश्वभरका बौद्ध धर्मावलम्बी तथा इतिहास र पुरातत्वमा रुचि राख्ने पर्यटकका लागि महत्वपूर्ण क्षेत्र हो ।


