दोस्रो बाणगंगा साइकल यात्रा– स्वास्थ्य, वातावरण र पर्यटनसँग जोडिँदै साइकल संस्कृति


पालिका पत्र

20 August, 2026 11:20 am मा प्रकाशित

बाणगंगा, ०४ भदौ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा आयोजना हुन लागेको दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ । बाणगंगा राइडर्स क्लबले साइकल यात्राका विषयमा पत्रकार सम्मेलन गर्दै यसपटकको यात्रा मनोरञ्जन वा खेलकुदमा मात्र सीमित नभई स्वास्थ्य, वातावरण संरक्षण, सडक सुरक्षा र पर्यटन प्रवर्द्धनसँग जोडिएको जनचेतनामूलक अभियानका रूपमा अघि बढाइने जनाएको छ ।

‘स्वस्थ जीवन, स्वच्छ वातावरण र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारासहित आयोजना हुने यात्रामार्फत कपिलवस्तुका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई साइकल पर्यटनसँग जोड्ने आयोजकको तयारी छ। स्थानीय पर्यटन क्षेत्रको सम्भावना उजागर गर्दै जिल्लालाई साइकल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका संयोजक हरि प्रसाद घिमिरेले साइकल यात्रालाई केवल एकदिने कार्यक्रमका रूपमा नभई स्वास्थ्य, वातावरण र पर्यटनलाई जोड्ने अभियानका रूपमा अघि बढाइएको बताए । युवालाई साइकल संस्कृतितर्फ आकर्षित गर्दै कपिलवस्तुका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले यात्रा आयोजना गरिएको उनको भनाइ थियो । उनले यात्रामा सहभागी हुने साइकलयात्रीको संख्या बढ्दै जानुले जिल्लामा साइकल पर्यटनको सम्भावना समेत उजागर गरेको बताए ।

यस्तै, सल्लाहकार विष्णु घिमिरेले साइकल यात्राले वातावरण संरक्षणसँगै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने बताए । कपिलवस्तुका पर्यटकीय गन्तव्यलाई राष्ट्रियस्तरमा चिनाउन साइकल यात्रा प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्दै उनले आगामी दिनमा साइकलमैत्री पूर्वाधार निर्माण र स्थानीय तहको सहकार्य आवश्यक रहेको बताए । साइकल यात्रालाई निरन्तरता दिँदै जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रसँग जोड्न सके यसले पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा क्लबका पदाधिकारीहरूले पछिल्लो समय बढ्दै गएको प्रदूषण, अस्वस्थ जीवनशैली र सडक सुरक्षाका चुनौतीबीच साइकलको प्रयोगलाई वैकल्पिक तथा वातावरणमैत्री यातायातका रूपमा प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका थिए । उनीहरूका अनुसार साइकल यात्रा स्वास्थ्यप्रति सचेतना फैलाउने माध्यमसँगै युवालाई सकारात्मक सामाजिक गतिविधिमा जोड्ने अभियान पनि हो ।

क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटाले साइकल संस्कृतिको विकाससँगै हेल्मेटको अनिवार्य प्रयोग, ट्राफिक नियमको पालना र सडक सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्न यात्राले महत्वपूर्ण भूमिका खेल्ने बताए । युवामा सामाजिक उत्तरदायित्व, अनुशासन र एकताको भावना विकास गराउनु पनि कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ थियो ।

चार सयभन्दा बढी साइकलयात्री सहभागी हुने अपेक्षा

आयोजकका अनुसार दोस्रो वाणगंगा साइकल यात्रामा कपिलवस्तुसहित देशका विभिन्न जिल्लाबाट चार सयभन्दा बढी साइकलयात्री सहभागी हुने अपेक्षा गरिएको छ । ठूलो संख्यामा साइकलयात्रीको सहभागिताले जिल्लाको पर्यटन गतिविधि र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने आयोजकको विश्वास छ ।

तर, साइकल यात्राको प्रभाव एकदिने कार्यक्रममै सीमित नराखी यसलाई नियमित साइकल संस्कृति र पर्यटनसँग जोड्नुपर्ने चुनौती पनि देखिएको छ । त्यसका लागि सुरक्षित साइकल लेन, सडक सुरक्षा पूर्वाधार, पर्यटकीय स्थलसम्म साइकलमैत्री पहुँच र स्थानीय तहबीचको समन्वय आवश्यक देखिन्छ ।

पर्यटन प्रवर्द्धनमा साइकल यात्राको सम्भावना

कपिलवस्तु धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण जिल्ला भए पनि यहाँका धेरै पर्यटकीय स्थलको पर्याप्त प्रचार–प्रसार हुन सकेको छैन । बुद्धसँग सम्बन्धित ऐतिहासिक क्षेत्रदेखि प्राकृतिक तथा सांस्कृतिक सम्पदासम्मलाई साइकल यात्रामार्फत प्रत्यक्ष रूपमा जोड्न सके आन्तरिक पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना खुल्न सक्छ ।

आयोजकले पनि साइकल यात्रालाई यही सम्भावनासँग जोडेर अघि बढाएको जनाएको छ । साइकलमार्फत पर्यटकीय क्षेत्रको भ्रमण गर्ने संस्कृतिको विकास भएमा कम खर्चमा स्थानीय गन्तव्य अवलोकन गर्ने वातावरण बन्नुका साथै स्थानीय होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा समेत आर्थिक गतिविधि बढ्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्