कपिलवस्तु, ०९ भदौ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको चालु आठौँ अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार साँझ राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ ११ गते बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिए ।
बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री घिमिरेले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएको बताए । प्रदेश प्रमुखबाट स्वीकृति भएपछि भदौ ११ गते राति १२ बजेदेखि आठौँ अधिवेशन औपचारिक रूपमा अन्त्य हुनेछ ।
मन्त्रिपरिषद्ले प्रदेश सरकारको स्थायी सङ्गठन तथा व्यवस्थापन संरचना तयार गर्न भइरहेको अध्ययन तथा सर्वेक्षणको अवधि पनि थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको स्थायी सङ्गठन तथा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आवश्यक अध्ययन तथा सर्वेक्षण भइरहेको र त्यसका लागि थप समय उपलब्ध गराउने निर्णय गरिएको हो ।
यसैगरी, बैठकले हालै जिम्मेवारी सम्हालेका नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ । मन्त्रीहरूको जिम्मेवारी हेरफेरपछि बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ जिम्मेवारीअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत निर्णय गरेको हो ।
बैठकले सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पुनः तोकेको छ । यसअघि स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा रहँदा पनि घिमिरेले प्रदेश सरकारको प्रवक्ताका रूपमा काम गरेका थिए ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य हुने प्रक्रिया अघि बढेको छ भने प्रदेश सरकारको स्थायी सङ्गठन तथा व्यवस्थापन संरचनासम्बन्धी अध्ययनलाई समेत थप समय प्राप्त भएको छ । सरकारले आगामी दिनमा प्रशासनिक संरचनालाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।

