मौलिक तीज गीत ‘कम्मर मरक्कै’ सार्वजनिक, कपिलवस्तुको मौलिक परिवेशमा छायांकन


पालिका पत्र

25 August, 2026 9:36 pm मा प्रकाशित

कपिलवस्तु । हरितालिका तीजलाई लक्षित गर्दै गायक पूर्णचन्द्र परियार र गायिका सम्झना रणपालको स्वरमा नयाँ तीज गीत ‘कम्मर मरक्कै’ सार्वजनिक भएको छ। मौलिक लोकलय, ग्रामीण नेपाली परिवेश र तीजको सांस्कृतिक भावलाई केन्द्रमा राखेर तयार गरिएको गीतले पछिल्लो समय तीज गीतमा हराउँदै गएको मौलिकतालाई उजागर गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।

गीतमा पूर्णचन्द्र परियार र सम्झना रणपालको स्वर रहेको छ। जीवन परियारको संगीत तथा गोविन्द अनेकको शब्द र संगीत संयोजन रहेको ‘कम्मर मरक्कै’लाई परम्परागत नेपाली लोकलय र तीजको उत्सवमय भाव समेटेर तयार गरिएको हो ।

गीतको म्युजिक भिडियोमा ज्योति केसी, गोविन्द केसी र सन्ध्या परियारको अभिनय रहेको छ । सुनिल विश्वकर्माको छायांकन र लोकेन्द्र शाहको निर्देशनमा तयार भएको भिडियोमा स्थानीय कला, संस्कृति र प्राकृतिक सौन्दर्यलाई प्राथमिकता दिइएको छ ।

कपिलवस्तुको मनकामना सामुदायिक वन र मनकामना संस्कृत विद्यापीठ (गुरुकुल) लगायतका स्थानमा भिडियोको छायांकन गरिएको छ । स्थानीय सांस्कृतिक पहिचानसँगै प्राकृतिक सौन्दर्यलाई दृश्यमा उतारेर गीतलाई तीजको सांगीतिक प्रस्तुतिसँग स्थानीय परिवेशसँग जोड्ने प्रयास गरिएको निर्माण पक्षको भनाइ छ ।

पछिल्लो समय तीज गीतका नाममा मौलिक लोकलय र सांस्कृतिक पक्ष कमजोर हुँदै गएको चर्चा भइरहेका बेला ‘कम्मर मरक्कै’लाई भने मौलिक शब्द, लय र नेपाली ग्रामीण परिवेशमा केन्द्रित गरिएको गायक पूर्णचन्द्र परियारले बताए ।

उनका अनुसार गीतमार्फत तीजको परम्परागत सांस्कृतिक भावना र नेपाली लोकसंगीतको स्वादलाई नयाँ पुस्तामाझ पुर्‍याउने प्रयास गरिएको छ । तीजको सांगीतिक माहोलमा नयाँ ऊर्जा थप्नुका साथै नेपाली मौलिक संस्कृतिको संरक्षणमा समेत गीतले योगदान पुर्‍याउने अपेक्षा गरिएको उनले बताए ।

गीत सार्वजनिक भएसँगै निर्माण पक्षले दर्शक–श्रोतालाई गीत हेर्न, सुन्न र प्रतिक्रिया दिन आग्रह गरेको छ । मौलिक शब्द, लोकलय, अभिनय तथा कपिलवस्तुको प्राकृतिक र सांस्कृतिक परिवेशको संयोजन गरिएको ‘कम्मर मरक्कै’ यस वर्षको तीजका लागि नयाँ सांगीतिक कोशेलीका रूपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्