आठौं प्राचीन कपिलवस्तु महोत्सव मेला : दैनिक दर्शकको उत्साहजनक सहभागिता


पालिका पत्र

४ बैशाख २०८१, मंगलवार ०९:३४ मा प्रकाशित

बैशाख ४ गते । “कपिलवस्तु जिल्लाको समग्र बिकासको आधार, धार्मिक स्थलको पर्वद्धन, कृषि पर्यटन, उद्योग र ब्यापार” भन्ने नाराका साथ आयोजित आठौँ प्राचीन कपिलवस्तु महोत्सवको मध्यअवधि सम्म आईपुग्दा महोत्सव सफलतातर्फ उन्मुख भएको देखिएको आयोजकले दावी गरेका छन् । तौलिहवा उद्योग वाणिज्य संघद्धारा आयोजित आठौँ प्राचीन कपिलवस्तु महोत्सव यही चैत्र २७ गतेबाट शुरु भएको हो । महोत्सवको छैठौ दिनसम्म आईपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति रहेको भन्दै महोत्सव सफलता तर्फ अगाडि बढिरहेको आयोजकले दावी गरेको हो ।

महोत्सवमा छैठौ दिन सम्म आईपुग्दा हरेक दिन दर्शकहरुको भीडभाड उत्तिकै देखिएको भन्दै महोत्सव आयोजक मुल समितिका संयोजक गयादिन कुर्मी दिपुले भन्नुभयो, “महोत्सवको पाँचौ दिनसम्म आईपुग्दा महोत्सव सफलतातर्फ उन्मुख भएको देखिएको छ । दर्शकहरुको उत्साहजनक सहभागिताले आयोजकलाई उत्साहित बनाएको छ ।”

महोत्सव सफल पार्न यहाँका व्यापारी व्यवसायी तथा आम सर्वसाधारण र सरोकारवालाको महत्वपुर्ण भुमिका रहेको भन्दै महोत्सवमा राखिएका स्थानीय उत्पादन तथा कृषि स्टलहरुमा पनि दर्शकले निकै चाँसो राख्नुभएको अध्यक्ष कुर्मीले बताउनुभयो ।

समग्र महोत्सवमा रहेका गतिविधिहरुप्रति दर्शकहरुको निकै रुची र चासो देखिएको भन्दै महोत्सवका सहसंयोजक संदीप श्रीवास्तवले भन्नुभयो, “धेरै वर्षपछि कलाकारसंग रम्ने अवसर महोत्सवले प्रदान गरेको छ, बालबालिकाहरुदेखि बृद्धबृद्धासम्मको लागी मनोरञ्जन लिने एउटै साझा मञ्च यो महोत्सव सावित भएको छ । महोत्सवको आधा समयसम्म आईपुग्दा धेरै उत्साहजनक नै छ । दर्शकको माया र सहभागिताले आयोजकलाई थप उर्जा थपेकोे छ ।”

महोत्सवको आधा समय सम्म आईपुग्दा महोत्सवले आयोजकलाई थप आगामी दिनका लागी समेत उर्जा थपेको भन्दै महोत्सवलाई सफलतातर्फ उन्मुख बनाउन मद्दत गर्नुहुने दर्शक तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै सहसंयोजक श्रीवास्तवले महोत्सव समग्र कपिलवस्तुकै शान भएको बताउनुभयो ।

महोत्सवको छैठौ दिन सोमबार लोक गायक मिसन भुसाल, आधुनिक गायक सन्दिप कुमार दुवे, लगायतका कलाकारको प्रस्तुती रहेको थियो । यस्तै छैठौंदिन सम्म आइपुग्दा चर्चित कलाकार दिपक भण्डारी, अन्जु कुस्मी, शिव खनाल, अनिल दिवाना, कपिल धवल, चर्चित भोजपुरी गायक धिरेन्द्र धासु खेसारी २, लगायतको प्रस्तुतिले महोत्सवको माहोललाई निकै रोमाञ्चक प्रदान गरेको थियो ।

त्यस्तै आज मंगलबार लोकप्रिय मोडल तथा टिकटक स्टार प्रिती पासवानको प्रस्तुति रहनेछ भने नृत्यकार बबिता धितालको समेत प्रस्तुति रहनेछ । दैनिक प्रतियोगितात्मक प्रस्तुति अन्र्तगत तेस्रो डान्स आइडलको समेत प्रर्दशन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्