भोटेकोशी बाढीमा ९५ जनाको शव फेला, २८ प्रहरी सम्पर्कविहीन


पालिका पत्र

26 August, 2026 8:42 pm मा प्रकाशित

काठमाडौं, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी अहिलेसम्म ९५ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र पहिचान नखुलेका २० जना रहेका छन् ।

प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको शव भेटिएको छ। धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, गोरखामा एक महिला, ४ पुरुष, एक बालक र पहिचान नखुलेका १० जनाको शव फेला परेको छ। चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक तथा पहिचान नखुलेका ८ जनाको शव भेटिएको छ ।

तनहुँमा ३ पुरुष, एक बालिका र एक बालकको शव फेला परेको छ भने नवलपरासी पूर्वमा ८ पुरुष र ३ बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।

६३ जना घाइतेको उपचार हुँदै

बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक अस्पतालमा एक जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जना उपचाररत छन् ।

त्यस्तै, नर्भिक अस्पतालमा ३ जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टिमुरेबाट १० जना, रसुवागढीबाट ८ जना, स्याफ्रुबेँसीबाट ३ जना, मैलुङबाट ५ जना, वेत्रावतीबाट एक जना र हाकुबाट एक जना गरी २८ जना प्रहरी अझै सम्पर्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्