कपिलवस्तु । कपिलवस्तुको पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूहले विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
हालै विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामुदायिक वनले उक्त रकम विपद् उद्धार कोषमा प्रदान गरेको हो ।
समूहका अध्यक्ष भीमसेन कार्कीका अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएकाले सामुदायिक वनको तर्फबाट आर्थिक सहयोग गरिएको हो । उनले विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
सामुदायिक वनले वन संरक्षण तथा व्यवस्थापनसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत आफ्नो भूमिका निर्वाह गर्दै आएको जनाएको छ । विपद्का बेला प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कोषमा रकम उपलब्ध गराइएको समूहले जनाएको हो ।

