रात पर्दा वाणगंगा नदीमा चोरीको खेल, दुई महिनामा ७ ट्याक्टर नियन्त्रण


पालिका पत्र

10 September, 2026 8:31 pm मा प्रकाशित

वाणगंगा, २५ भदौ ।
वर्षायामसँगै वाणगंगा नदीमा नदीजन्य पदार्थको ठेक्का तथा निकासी बन्द छ। तर, सरकारी नियमले निकासी रोकेको यही समय केही समूहका लागि भने नदी दोहनको अवसर बनेको छ । रातको अँध्यारोमा नदी तथा घाटगद्दी क्षेत्रमा पुगेर नदीजन्य पदार्थ चोरी निकासी गर्ने क्रम रोकिएको छैन ।

वाणगंगा नगरपालिका–८ र आसपासका नदी क्षेत्रका मधुवन, सिसेनी तथा धनेसपुर नाकामा रातको समयमा चोरी निकासी हुने गरेको सूचना पाएपछि नगर प्रहरीले गस्ती बढाएको छ । नगर प्रहरीका अनुसार साउनदेखि भदौ २५ गतेसम्म मात्रै चोरी निकासीमा संलग्न ७ वटा ट्याक्टर नियन्त्रणमा लिइएका छन् ।

नगर प्रहरी हवल्दार बाबुराम मरासिनीका अनुसार गोप्य सूचनाका आधारमा रातको समयमा गस्ती गर्दा नदीजन्य पदार्थ बोकेर निकासी गर्न खोजिएका ट्याक्टर नियन्त्रणमा लिइएको हो । पछिल्लो पटक पनि नगर प्रहरीले दुई स्थानबाट दुई ट्याक्टर नियन्त्रणमा लिएको छ ।

गएराति मधुवन नाकाबाट लु ३ त १६०८ नम्बरको ट्याक्टर तथा मधुवन कुलो घाटगद्दीबाट लु ३ त ८९४५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको नगर प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका दुवै ट्याक्टर नगरपालिकामा ल्याई नियमानुसार कारबाही तथा जरिवाना गरिएको छ । केही ट्याक्टर पटक–पटक कारबाहीमा परिसकेको नगर प्रहरीको भनाइ छ ।

तर, नदीजन्य पदार्थको चोरी नियन्त्रण गर्नु नगर प्रहरीका लागि सहज छैन । रातको समयमा खोलाभित्रै पुगेर गस्ती गर्नुपर्ने र चोरी निकासीमा संलग्न समूहबाट प्रतिरोध तथा हातपातको जोखिमसमेत हुने गरेको हवल्दार मरासिनी बताउँछन् ।

उनका अनुसार नगर प्रहरीलाई मात्रै परिचालन गरेर नदी दोहन रोक्न चुनौतीपूर्ण छ । चोरी निकासी नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनको समेत प्रभावकारी समन्वय र सहयोग आवश्यक रहेको उनले बताए ।

अर्कोतर्फ, नगरपालिकाको राजस्व शाखाले नगर प्रहरीको सक्रियताले अवैध चोरी निकासी नियन्त्रणसँगै नगरको राजस्व संकलनमा समेत सकारात्मक प्रभाव परेको जनाएको छ । नगरपालिकाका अनुसार पछिल्लो दुई महिनामा खोलानालाबाट मात्रै करिब ४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यसले एउटा प्रश्न भने उब्जाएको छ—ठेक्का तथा निकासी बन्द भएको समयमा नदीबाट नदीजन्य पदार्थ कसरी बाहिरिँदैछ ? नगर प्रहरीको गस्तीमा ट्याक्टरहरू समातिनु आफैंमा नदी दोहनको प्रयास भइरहेको संकेत हो । अब नियन्त्रणमा परेका ट्याक्टरमाथिको कारबाहीसँगै चोरी निकासीमा संलग्न व्यक्ति, समूह र यसको पछाडिको संयन्त्रसम्म अनुसन्धान पुग्ने हो कि होइन भन्ने विषय महत्वपूर्ण बनेको छ ।

वाणगंगा नदीको संरक्षणसँगै राज्यको राजस्वसमेत जोडिएको विषय भएकाले रातको चोरी नियन्त्रणका लागि नगर प्रहरी, नेपाल प्रहरी र सम्बन्धित निकायबीचको समन्वय थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्