सुठौली–तौलिहवा सडकमा मालवाहकको मनपरी पार्किङ, दुर्घटनाको जोखिम बढेपछि युवाले दिए ज्ञापनपत्र


पालिका पत्र

11 September, 2026 7:14 pm मा प्रकाशित

कपिलवस्तु । सुठौली भन्सारदेखि तौलिहवासम्मको मुख्य सडकमा ठूला मालवाहक सवारी साधनको अव्यवस्थित पार्किङ बढ्दै गएपछि सडक सुरक्षा र यातायात व्यवस्थापनमा प्रश्न उठेको छ। सडकको दुवैतर्फ ट्रक, टेलर र कन्टेनर घण्टौँसम्म पार्किङ गरिँदा सडक साँघुरिनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय युवा तथा समाजसेवीहरूले तत्काल व्यवस्थापनको माग गरेका छन्।

युवा समाजसेवी रूपक बनियाको नेतृत्वमा रहेको टोलीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापनपत्र बुझाउँदै सुठौली भन्सार कार्यालयदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय तौलिहवासम्मको सडकमा हुने अव्यवस्थित पार्किङ नियन्त्रण गर्न माग गरेको हो।

ज्ञापनपत्रमा भन्सारबाट जाँचपास भएर आउने तथा जाने ठूला मालवाहक सवारी साधन भन्सार कार्यालय र ट्राफिक प्रहरी कार्यालय आसपास मुख्य सडककै दुवैतर्फ लामो समयसम्म पार्किङ गर्ने गरेको उल्लेख छ। यसरी सडकमा सवारी साधन तेर्स्याएर राख्दा आवागमन प्रभावित हुनुका साथै मोटरसाइकल, साना सवारी साधन र पैदल यात्रु जोखिममा पर्ने गरेको युवाहरूको भनाइ छ।

अव्यवस्थित पार्किङकै कारण एम्बुलेन्स, दमकल तथा अन्य अत्यावश्यक सेवाका सवारी साधनसमेत जाममा फस्ने अवस्था आउने गरेको ज्ञापनपत्रमा उल्लेख छ। सडक किनारमा जथाभावी सवारी साधन राखिँदा स्थानीय बासिन्दाको दैनिक आवतजावतसमेत प्रभावित भएको उनीहरूले बताएका छन्।

युवाहरूले समस्या पार्किङमा मात्रै सीमित नरहेको भन्दै ओभरलोड नियन्त्रणलाई पनि प्राथमिकतामा राख्न प्रशासनसँग माग गरेका छन्। भन्सारबाट तोकिएको क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारी साधनलाई जाँचपास दिने कार्य नियन्त्रण गर्नुपर्ने उनीहरूको माग छ। ओभरलोडका कारण सडकको क्षमताभन्दा बढी भार पर्ने र सडक समयअगावै जीर्ण तथा क्षतिग्रस्त हुने अवस्था रहेको भन्दै प्रभावकारी अनुगमन र कारबाही गर्न आग्रह गरिएको छ।

त्यसैगरी भन्सार तथा सम्बन्धित कार्यालयमा हुने जाँचपास प्रक्रिया छिटो र व्यवस्थित बनाउन माग गरिएको छ। जाँचपासका क्रममा सडकमा मालवाहक सवारी साधनको लामो लाइन लाग्ने अवस्था अन्त्य गर्न भन्सार आसपास छुट्टै पार्किङ स्थल वा यार्ड निर्माण अथवा पहिचान गर्नुपर्ने उनीहरूको माग छ।

युवाहरूले सुठौली–तौलिहवा सडकखण्डलाई पूर्ण रूपमा ‘नो पार्किङ जोन’ घोषणा गरी सडकमा सवारी साधन खडा गर्न रोक लगाउन समेत माग गरेका छन्। सडकमा अव्यवस्थित रूपमा पार्किङ गरिएका सवारी तत्काल हटाउन र नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न २४ घण्टा प्रभावकारी ट्राफिक निगरानी आवश्यक रहेको उनीहरूको भनाइ छ।

रातिको समयमा दुर्घटनाको जोखिम घटाउन जोखिमपूर्ण मोड तथा सडकखण्डमा हाइवे लाइट जडान गर्न र स्पष्ट देखिने ट्राफिक संकेत बोर्ड राख्न पनि प्रशासनको ध्यानाकर्षण गराइएको छ। यससँगै तौलिहवा बजारमा बढ्दै गएको अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण नियन्त्रण गर्न पनि माग गरिएको छ।

ज्ञापनपत्रमा मागहरू तत्काल सम्बोधन नभए स्थानीय बासिन्दा तथा सर्वसाधारणको जीवन रक्षाका लागि चरणबद्ध रूपमा दबाबमूलक तथा शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी दिइएको छ।

ज्ञापनपत्रमा युवा समाजसेवी रूपक बनिया, सुदीप भुसाल, गौरव उपाध्याय, राज बनिया, शिवा गुप्ता, हरिराम जयसवाल, गोरख चौधरी, मिनिष देव मिश्रा र राजेश्वर यादवलगायतले हस्ताक्षर गरेका छन्। ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, यशोधरा गाउँपालिका, सुठौली भन्सार कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, कपिलवस्तु नगरपालिका र यातायात सेवा कार्यालय तौलिहवालाई दिइएको छ।

‘नागरिकले दैनिक रूपमा भोगिरहेको सास्ती समाधानका लागि ज्ञापनपत्र बुझाएका हौँ,’ युवा समाजसेवी रूपक बनियाले भन्नुभयो।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले उठाइएका विषयबारे सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्