हथौसा लिटिल स्टारमा ‘पत्रु खाना निषेध’ अभियान, अभिभावकलाई स्वस्थ खानपानबारे सचेतना


पालिका पत्र

21 September, 2026 7:09 pm मा प्रकाशित

राधा पाण्डे, कपिलवस्तु, असोज ५ ।
कपिलवस्तुको हथौसा लिटिल स्टार ई. बोर्डिङ स्कुलले बालबालिकालाई स्वस्थ तथा पोषणयुक्त खानपानतर्फ अभिप्रेरित गर्ने उद्देश्यले ‘पत्रु खाना निषेध’ अभियानलाई निरन्तरता दिएको छ। विद्यालयले जेठ ३ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत विभिन्न चरणमा विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको हो।

अभियानकै क्रममा सोमबार विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयमा उपस्थित गराई जंक फुडको प्रयोग, त्यसबाट बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असर तथा स्वस्थ र सन्तुलित खानपानको महत्त्वबारे जानकारी गराइएको हो।

कार्यक्रममा बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा अधिकृतद्वय भक्तिराम पाण्डेय र कुल प्रसाद पन्थीले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले जंक फुडको नियमित प्रयोगले बालबालिकाको स्वास्थ्यमा पार्न सक्ने असर, पोषणयुक्त खानाको आवश्यकता तथा बालबालिकामा स्वस्थ खानपानको बानी विकास गराउन अभिभावकको भूमिकाबारे जानकारी गराउनुभयो।

कार्यक्रममा विशेषगरी प्रि–प्राइमरी तहका अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयका प्रधानाध्यापक सुन्दर पाण्डेले बालबालिकाको स्वस्थ जीवनशैली निर्माणका लागि घर र विद्यालय दुवैबाट स्वस्थ खानपानको वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो।

उहाँले जंक फुडको प्रयोगलाई निरुत्साहित गर्दै बालबालिकालाई पौष्टिक, सन्तुलित र स्वस्थ खाना खाने बानी विकास गराउन अभिभावक तथा विद्यालय दुवैको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।

विद्यालयले विगतका वर्षदेखि नै पत्रु खाना निषेधसम्बन्धी वातावरण निर्माण गर्दै आएको जनाएको छ। विद्यालयले निर्धारण गरेको नीति तथा नियमलाई विद्यार्थीहरूले समेत पालना गर्दै आएका छन्। सोही अभ्यासका कारण विद्यालयले पूर्ण रूपमा पत्रु खाना निषेध गर्ने विद्यालयका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको विद्यालयको दाबी छ।

कार्यक्रमले विद्यार्थी र अभिभावकमा पत्रु खाना निषेध, स्वस्थ खानपान तथा बालबालिकाको स्वास्थ्यप्रति थप सचेतना अभिवृद्धि गर्न योगदान पुगेको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्