कपिलवस्तु, १३ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ ठाकुरापुरस्थित श्री चण्डेश्वरी नवदुर्गा भवानी मन्दिरमा श्रीमद् देवीभागवत ज्ञान महायज्ञ–२०८३ आयोजना हुने भएको छ।
नवनिर्मित मन्दिरको प्राणप्रतिष्ठा तथा अक्षयकोष स्थापना गर्ने उद्देश्यले असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको आयोजक चण्डेश्वरी दुर्गा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
महायज्ञमा श्रीमद् देवीभागवत महापुराणको कथा वाचन, पूजा–पाठ, भजन–कीर्तन तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन हुनेछन् । आयोजकका अनुसार महायज्ञमा भक्तजन, धर्मप्रेमी, समाजसेवी, बुद्धिजीवी तथा धार्मिक आस्थावान् व्यक्तिहरूलाई सहभागी भई पुण्यलाभ लिन आह्वान गरिएको छ ।
महायज्ञमा बिहान ७ बजेदेखि ११ः३० बजेसम्म पूजा तथा श्रीमद् देवीभागवत पाठ पारायण, दिउँसो १२ बजेदेखि ४ बजेसम्म संगीतमय कथा प्रवचन तथा साँझ ६ बजेदेखि १० बजेसम्म आरती, भजन–सन्ध्या, सत्सङ्गलगायतका कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।
महायज्ञका लागि आचार्य थानेश्वर ज्ञवाली यज्ञाचार्य, आचार्य कमल पौडेल सहवाचक तथा आध्यात्मिक प्रवक्ता ऋषिकेश उपाध्याय प्रमुख वाचकका रूपमा रहने बताइएको छ ।
महायज्ञ श्री चण्डेश्वरी नवदुर्गा भवानी मन्दिर, बाणगंगा–४, ठाकुरापुर, कपिलवस्तुमा आयोजना हुनेछ। आयोजकले धार्मिक तथा सामाजिक कार्यमा सहयोग गर्न इच्छुक सबैलाई महायज्ञमा सहभागी हुन अनुरोध गरेको छ।


