हरि घिमिरे बाणगंगा, १५ असोज – उद्योग व्यापार संघ कपिलवस्तुले आगामी मंसिर ५ देखि १७ गतेसम्म बाणगंगास्थित मायादेवी रंगशालामा ‘दोस्रो कपिलवस्तु व्यापार मेला तथा महोत्सव’ आयोजना गर्ने घोषणा गरेको छ । पत्रकार सम्मेलनमार्फत आयोजकले तयारी तीव्र पारिएको जनाए पनि स्थानीय स्तरमा भने साझा महोत्सवको सट्टा छुट्टाछुट्टै आयोजना गर्ने परिपाटीलाई लिएर गम्भीर प्रश्न उठ्न थालेको छ ।
विगतको निरन्तरता स्वरूप मायादेवी रंगशालामै महोत्सव आयोजना गर्न लागिएको समितिका अध्यक्ष टोपनारायण बेल्वासेले जानकारी दिए । उनका अनुसार स्टल व्यवस्थापन, व्यापारिक गतिविधि तथा सांस्कृतिक कार्यक्रमको पूर्वतयारी सुरु भइसकेको छ ।
उता, कपिलवस्तु उद्योग वाणिज्य संघले पनि बुद्ध रंगशालामा महोत्सव सञ्चालन गर्ने तयारी अघि बढाएको छ। पूर्व निर्धारित तालिका अनुसार नै आफूहरू तयारीमा लागेको संघको भनाइ छ । गत वर्ष बाणगंगा वेलफेयर सोसाइटीले मेला आयोजना गरेकाले यस वर्ष पालैपालो प्रणाली अनुसार आफ्नो पालो भएको दाबी उद्योग वाणिज्य संघले गर्दै आएको छ ।
संस्थागत गुटबन्दी र विभाजित बजार
महोत्सवलाई व्यवसाय प्रवर्द्धनमुखी बनाउने आयोजकहरूको दाबी रहे पनि एउटै भूगोल र सीमित बजार क्षेत्रमा छुट्टाछुट्टै मेला-महोत्सव हुनुले स्थानीय व्यवसायी, प्रायोजक र दर्शक विभाजित हुने निश्चित छ। पत्रकार सम्मेलनमै सहभागी सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूले व्यापारिक संस्थाहरूबीचको यस्तो विभाजनले समग्र क्षेत्रको अर्थतन्त्रलाई नै हानि पुर्याउने औंल्याएका छन् ।
आयोजक समितिका अध्यक्ष बेल्वासेले भने अर्को पक्ष उद्योग वाणिज्य संघसँग सहमति कायम गर्न पटक-पटक संवाद गरिए पनि निष्कर्षमा पुग्न नसकिएको दाबी गरे । “हामी साझा महोत्सवका लागि सकारात्मक थियौं, तर अपेक्षित सहमति बन्न सकेन,” उनले भने ।
त्यस्तै, उद्योग व्यापार संघका महासचिव माधव भाट क्षेत्रीले सहअस्तित्व र सहकार्यको वातावरण बने अझै पनि संयुक्त रूपमा अघि बढ्न तयार रहेको बताए । “यदि सहमति जुट्न सकेन भने हामी आफ्नै ढंगले उत्कृष्ट महोत्सव सञ्चालन गर्छौं,” क्षेत्रीको भनाइ थियो ।
अभिभावकीय भूमिकामा नगरपालिका चुक्दै ?
आर्थिक सुस्तता छाएको वर्तमान समयमा संस्थागत प्रतिस्पर्धाभन्दा व्यवसायीको हित र स्थानीय उत्पादनको बजार विस्तार प्राथमिक विषय हुनुपर्ने देखिन्छ। एउटै क्षेत्रमा फरक-फरक मञ्च खडा हुँदा दीर्घकालीन रूपमा बजार र स्थानीय अर्थतन्त्र नै कमजोर बन्ने जोखिम रहन्छ।
यस्तो अवस्थामा स्थानीय सरकारको रूपमा रहेको बाणगंगा नगरपालिकाको भूमिकामाथि पनि प्रश्न उठेको छ । व्यावसायिक संघ-संस्थाहरूबीचको मतभेद सुल्झाउन र सबैलाई एउटै मञ्चमा ल्याउन नगरपालिकाले अभिभावकीय तथा समन्वयकारी पहलकदमी लिनुपर्ने जोडदार माग उठेको छ ।
महोत्सव कसले सञ्चालन गर्ने भन्ने भन्दा पनि कसरी स्थानीय उद्योग, कृषि, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने भन्ने विषय केन्द्रमा हुनुपर्छ । सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउन बाणगंगा नगरपालिका, उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ र स्थानीय व्यवसायीबीच तत्काल औपचारिक संवाद सुरु हुनु आवश्यक छ। विभाजन छाडेर एउटै साझा मञ्चमार्फत अघि बढे मात्र स्थानीय अर्थतन्त्र र सरोकारवाला सबैलाई वास्तविक लाभ पुग्ने देखिन्छ ।

