कपिलवस्तुका ९६ वडामा कस्को बर्चश्व ? (सूचिसहित)


appharu

१४ जेष्ठ २०७९, शनिबार ०७:५४ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु ।
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कपिलवस्तुका १० पालिका मध्ये ६ नगरपालिका, चार गाउँपालिका र ९६ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले चार पालिका, नेकपा (एमाले) ले तीन पालिका, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एकरएक पालिकाको प्रमुखमा जित निकालेका छन् ।

पालिकाका प्रमुख उप-प्रमुख गरि २० पदमध्ये कांग्रेस ८ पदमा, एमाले ७ पदमा, जसपा, २ पदमा, राप्रपा, लोसपा र माओवादी केन्द्रका उम्मेद्वार एक एक पदमा विजयी भएका छन् ।

उपप्रमुख तर्फ शिवराज नगरपालिकामा एमाले र शुद्धोधन गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् । अरु पालिकामा सबै दलका प्रमुख, उप-प्रमुख नै विजयी भएका छन् ।

९६ वडामा कांग्रेस पहिलो शक्तिका रुपमा उदाएको छ । कांग्रेसले जिल्लाका ३४ वटा वडामा जित निकालेको छ । जसमा कांग्रेसले कपिलवस्तु नगरपालिकाका ५ वडामा जित निकालेको छ । वाणगंगा नगरपालिकामा ४ वडा, बुद्धभूमि नगरपालिकाका ५ वडा, शिवराज नगरपालिकाका ३ वडा, कृष्णनगर पालिकाका ३ वडा र महाराजगञ्ज नगरपालिकाका ८ वडामा जित निकालेको छ ।

यस्तै गाउँपालिका तर्फ विजयनगर गाउँपालिकाका कुनै पनि वडा जित्न नसकेको कांग्रेसले मायादेवी गाउँपालिकामा १ वडा, शुद्धोधन गाउँपालिकामा ३ वडा र यशोधरा गाउँपालिकाका २ वडामा जित निकालेको छ ।

०७४ सालको निर्वाचनमा भन्दा आफुलाई सुधार गरेको एमाले कांग्रेस हारहारीकै शक्तिका रुपमा जिल्लामा उदाएको छ । जिल्लाको दक्षिणी भेगमा तुलनात्मक रुपमा कमजोर देखिएको एमालेका लागि यो निर्वाचन फलिफाप जस्तै देखिन्छ । एमालेले जिल्लाका ३० वटा वडामा जित निकाल्न सफल भएको छ ।

जसमा नगर तर्फ कपिलवस्तु नगरपालिकाका ४ वडा, वाणगंगा नगरपालिकाका ६ वडा, बुद्धभूमि नगरपालिकाका ४ वडा, शिवराज नगरपालिकाका ३ वडा, कृष्णनगर नगरपालिकाका ३ वडा र महाराजगञ्ज नगरपालिकामा १ वडामा विजयी हासिल गरेको छ ।

गाउँपालिका तर्फ एमालेले विजयनगर गाउँपालिकाका ६ वडा र यशोधरा गाउँपालिकाका ३ वडामा जित निकालेको छ । शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाका कुनै पनि वडामा एमालेले जित निकाल्न सकेन् ।

जिल्लाको वडागत तहमा तेस्रो शक्तिका रुपमा जनता समाजवादी पार्टी (जसपा) उदाएको छ । जसपाले जिल्लाका १५ वडामा जित निकाल्न सफल भएको छ ।

कपिलवस्तु नगरपालिकाका ३ वडा, शिवराज र बुद्धभूमि नगरपालिकामा एकरएक वडा र कृष्णनगर नगरपालिकाका २ वडामा जसपाले विजयी हासिल गरेको छ । जसपाले महाराजगञ्ज नगरपालिका र वाणगंगा नगरपालिकामा भने खाता खोल्न सकेन् ।

गाउँपालिका तर्फ विजयनगरमा १ वडा, मायादेवीमा ४ वडा, शुद्धोधन गाउँपालिकामा २ वडा र यशोधरा गाउँपालिकाको १ वडामा जसपाका उम्मेद्वार विजयी भएका छन् ।

जिल्लामा ०७४ सालमा भन्दा यो निर्वाचनमा माओवादी केन्द्रले सुधार गरेको छ । माओवादीले जिल्लाका ९ वडामा जित निकाल्न सफल भएको छ ।

माओवादीले वाणगंगा नगरपालिकामा १ वडा, शिवराज नगरपालिकामा २ वडा, कृष्णनगर नगरपालिकाका २ वडामा जित निकालेको छ । बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र महाराजगञ्ज नगरपालिकामा माओवादीले खाता खोल्न सकेन् ।

गाउँपालिका तर्फ माओवादीले मायादेवी गाउँपालिकाका ३ वडामा विजयी हासिल गर्दा शुद्धोधन गाउँपालिकामा एक वडामा विजयी भएको छ । विजयजगर र यशोधरामा जित निकाल्न सकेन् ।

जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले शिवराज नगरपालिकामा २ र महाराजगञ्ज नगरपालिकामा १ गरि ३ वडा जितेको छ ।

जनता प्रगतिशिल पार्टी (जप्रपा) ले महाराजगञ्ज नगरपालिकाको एक वडामा जित निकाल्दा जनमत पार्टी (जपा) ले यशोधरा गाउँपालिकाको एक वडा जितेको छ । यशोधरा गाउँपालिकाको एक वडामा स्वतन्त्र उम्मेद्वार विजयी हुँदा कृष्णनगर नगरपालिकाको एक वडामा बहुजन शक्ति पार्टीका उम्मेद्वार निर्वाचित भएका छन् भने, कृष्णनगर नगरपालिकाको एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेद्वार निर्वाचित भएका छन् ।

कपिलवस्तु नगरपालिका
कपिलवस्तु नगरपालिकाका १२ वडा मध्ये ५ वडामा कांग्रेस विजयी भएको छ । ४ वडामा एमाले विजयी हुँदा ३ वडामा जसपाले जितेको छ ।

यो नगरको वडा नं १ को वडाध्यक्ष मा जसपाका मुहम्मद जाहिद खाँ, वडा नं २ मा एमालेका अशोक कुमार गुप्त, वडा नं ३ मा कांग्रेसका रुद्र बहादुर गैरे, वडा नं ४ मा एमालेका रवेन्द्र प्रसाद तिवारी, वडा नं ५ मा कांग्रेसका दिरेप कुमार चौधरी, वडा नं ६ मा एमालेका रामजित प्रसाद कुर्मी, वडा नं ७ मा जसपाका इन्द्रमणी कुर्मी, वडा नं ८ मा कांग्रेस शिवकुमार पाण्डेय, वडा नं ९ मा एमालेका दिपक बहादुर गुरुङ, वडा नं १० मा कांग्रेसका मोहनलाल शर्मा, वडा नं ११ मा जसपाका रामगोपाल यादव र वडा नं। १२ कांग्रेसका इन्सान अली धुनियाँ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वाणगंगा नगरपालिका
वाणगंगा नगरपालिकाका ११ वडामध्ये ६ वटा वडामा एमालेले जित्दा कांग्रेसले ४ वडामा जित हासिल गरेको छ । माओवादी १ वडा जित्दै वाणगंगामा आफ्नो उपस्थिति जनाउन सफल भएको छ ।

यो नगरको वडा नं १ मा कांग्रेसका सञ्जु सारु मगर, वडा नं २ मा एमालेका विष्णु प्रसाद पौडेल, वडा नं ३ मा माओवादी केन्द्रका टेक बहादुर झेँडी, वडा नं ४ मा एमालेका छविलाल रेश्मी मगर, वडा नं ५ मा कांग्रेसका दुनिका भुसाल, वडा नं ६ मा कांग्रेसका करुण टण्डन, वडा नं ७ मा एमालेका विष्णु गिरी, वडा नं ८ मा एमालेका बाबुराम अर्याल, वडा नं ९ मा एमालेका कमल पौडेल, वडा नं १० मा एमालेका यमलाल पोख्रेल र वडा नं ११ मा कांग्रेसका नरेन्द्र थारु वडाध्यक्षमा निर्वाचित भएका छन् ।

बुद्धभूमि नगरपालिका
१० वडा रहेको बुद्धभूमि नगरपालिकामा ५ वडा कांग्रेसले जितेको छ । ४ वडा एमालेले जित्दा १ वटा वडामा जसपाले खाता खोलेको छ ।

यो नगरको वडा नं १ मा कांग्रेसका तेज बहादुर बस्नेत, वडा नं २ मा कांग्रेसका सुरज प्रताप राणा, वडा नं ३ मा एमालेका गोविन्द प्रसाद आचार्य, वडा नं ४ मा एमालेका सुशील कुमार चौधरी, वडा नं ५ मा एमालेका रोमलाल थापा क्षेत्री, वडा नं ६ मा कांग्रेसका ऐलेन्द्र प्रसाद कुर्मी, वडा नं ७ मा एमालेका शालिकराम यादव, वडा नं ८ मा कांग्रेसका कपिलदेव तिवारी, वडा नं ९ मा कांग्रेसका प्रमोद आचार्य र वडा नं १० मा जसपाका सन्दीप पाण्डेय वडाध्यक्षमा निर्वाचित भएका छन् ।

शिवराज नगरपालिका
शिवराज नगरपालिकामा ११ वडा छन् । जसमा दलहरुको मिश्रित नतिजा छ । शिवराजमा कांग्रेसले एमाले र कांग्रेसले तीन तीन वडा जित्दा लोकतान्त्रिक समाजवादी पार्टीले २ वडा जितेको छ । माओवादी केन्द्रले २ वडा जित्दा जसपा १ वडामा विजयी भएको छ ।

यो नगरको वडा नं १ मा एमालेका खिमविक्रम केसी, वडा नं २ मा कांग्रेसका राम बहादुर चौधरी, वडा नं ३ मा एमालेका टेकलाल सापकोटा, वडा नं ४ मा लोसपाका नशिम अहमद खाँ, वडा नं ५ मा एमालेका नेत्रप्रसाद बेल्वासे, वडा नं ६ मा जसपाका महेताब आलम खाँ, वडा नं ७ मा माओवादीका अनुपकुमार चौधरी, वडा नं ८ मा कांग्रेसका रिजवान अहमद, वडा नं ९ मा माओवादीका रामगोपाल चौधरी, वडा नं १० मा लोसपकी मञ्जु मिश्रा र वडा नं ११ मा कांग्रेसका रमेश्वर प्रसाद बर्मा वडाध्यक्षमा निर्वाचित भएका छन् ।

कृष्णनगर नगरपालिका
कृष्णनगर नगरपालिकामा १२ वडा रहेका छन् । ०७४ सालमा कुनै पनि वडा जित्न नसकेको एमालेले यो निर्वाचनमा ३ वडा जितेको छ । कांग्रेसले ३ वडा जित्दा माओवादी केन्द्रले २ वडा जितेको छ । जसपा २ वडामा विजयी हुँदा राप्रपा र बहुजन शक्ति पार्टी एक एक वडामा विजयी भएका छन् ।

यो नगरको वडा नं १ मा राप्रपाका तुङ्गनाथ चौधरी, वडा नं २ मा एमालेका कृष्ण कुमार गुप्ता, वडा नं ३ मा एमालेका सगिर अहमद खाँ, वडा नं ४ मा कांग्रेसका घनश्याम बानियाँ, वडा नं ५ मा कांग्रेसका महोम्मद जमिल खाँ, वडा नं ६ मा एमालेका जावेद आलम खान, वडा नं ७ मा जसपाका राजकिशोर यादव, वडा नं ८ मा माओवादीका नुर महोम्मद मुसलमान, वडा नं ९ मा बहुजन शक्ति पार्टीका शतिस कुमार हरिजन, वडा नं १० मा कांग्रेसका हरिपाल चुतुर्वेदी, वडा नं। ११ मा जसपाका जीवन श्रीवास्तव र वडा नं १२ मा माओवादीका प्रह्लाद यादव वडाध्यक्षमा निर्वाचित भएका छन् ।

महाराजगञ्ज नगरपालिका
कांग्रेसको वर्चश्व नै रहेको महाराजगञ्ज नगरपालिका यो निर्वाचनमा केहीँ कमजोर देखिएको छ । १२ वडा रहेको महराजगञ्जमा बहुमत वडा कांग्रेसले जितेको छ । ८ वडा जितेको कांग्रेस एमाले १ वडामा सिमित रह्यो । ०७४ मा उम्मेद्वार समेत नपाउने एमाले यहाँ दरिलो गरि उपस्थिति जनाउन पुगेको छ ।

जनता प्रगतिशिल पार्टीले १ वडा जित्न सफल भएको महाराजगञ्जमा लोसपा र जसपा एक एक वडामा विजयी भएका छन् ।
यो नगरको वडा नं १ मा कांग्रेसका प्रमोद कुमार चौधरी, वडा नं २ मा कांग्रेसका उजेर अली, वडा नं ३ मा कांग्रेसका नैन दास मुराउ, वडा नं ४ मा लोसपाका शैलेन्द्रनाथ शुक्ल, वडा नं ५ मा कांग्रेसका छेदी प्रसाद कुर्मी, वडा नं ६ मा कांग्रेसका रामसिंह कुर्मी चौधरी, वडा नं ७ मा जनता प्रगतिशिल पार्टीका रामरुप बढई, वडा नं ८ मा कांग्रेसका योगेन्द्रकुमार केसी, वडा नं ९ मा एमालेका फरीद अहमद मुसलमान, वडा नं १० मा कांग्रेसका शैलेन्द्र कुमार चौधरी र वडा नं १२ मा कांग्रेसका धमेन्द्र कुमार पुरी निर्वाचित भएका छन् ।

विजयनगर गाउँपालिका
एमालेको बर्चश्व काय रहेको पालिका विजयनगर हुन पुगेको छ । ७ वडा मध्ये ६ वडा जित्दै एमाले बलियो शक्तिका रुपमा उदाएको छ । एक वडामा भने जसपाले जित निकालेको छ ।

यो गाउँपालिकाको वडा नं १ मा एमालेका इन्दर थारु, वडा नं २ मा एमालेका नेपाल चौधरी, वडा नं ३ मा जसपाका हृदयविकास चौधरी, वडा नं ४ मा एमालेका तिलमराम कँडेल, वडा नं ५ मा एमालेका अनवर महोम्मद मुसलमान, वडा नं ६ मा एमालेका प्रेमबहादुर कलवार र वडा नं ७ मा एमालेका दिनेश कुमार चौधरी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

मायादेवी गाउँपालिका
जसपाको बलियो उपस्थिति रहेको मायादेवीमा ४ वडा यसैले जितेको छ । ३ वडा माओवादीले जित्दा एक वडामा कांग्रेस विजयी भएको छ ।

यो गाउँपालिकाको वडा नं १ मा माओवादीका मुहम्मल इसहाक मुसलमान, वडा नं २ मा कांग्रेसका महम्मद हुसेन मुसलमान, वडा नं ३ मा जसपाका शैलेन्द्र कुमार यादव, वडा नं ४ मा जसपाका अस्फाक अहमद मुसलमान, वडा नं ५ मा माओवादीका राघवेन्द्र प्रसाद पाण्डेय, वडा नं ६ मा जसपाका सन्दीप कुमार चौधरी, वडा नं ७ मा जसपाका जनार्दन प्रसाद चौधरी र वडा नं ८ मा माओवादीका मुस्ताक अहमद मुसलमान वडाध्यक्षमा विजयी भएका छन् ।

शुद्धोधन गाउँपालिका
६ वडा रहेको शुद्धोधन गाउँपालिकाका तीन वडामा कांग्रेस विजयी भएको छ । दुई वडामा जसपा विजयी हुँदा एक वडामा माओवादीले जित हात पारेको छ ।

यो गाउँपालिकाको वडा नं १ मा कांग्रेसका तीलकराम यादव, वडा नं २ मा जसपाका मनोजकुमार यादव, वडा नं ३ मा माओवादीका महिमुद्दिन मुसलमान, वडा नं ४ मा कांग्रेसका नरेश अहिर, वडा नं ५ मा कांग्रेसका आशुतोष कुमार सिंह र वडा नं ६ मा जसपाका विजय बहादुर यादव वडाध्यक्षमा निर्वाचित भएका छन् ।

यशोधरा गाउँपालिका
यशोधरामा एक मात्र वडा जित्दै जनमत पार्टीले कपिलवस्तुमा खाता खालेको छ । ३ वडा एमालेले जित्दा एक वडामा स्वतन्त्र उम्मेद्वारले चुनाव जितेका छन् । जसपाले एक वडामा जित निकालेको छ भने कांग्रेसका उम्मेद्वार २ वडामा विजयी भएका छन् ।

यो गाउँपालिकाको वडा नं १ मा एमालेका अब्दुल कय्युम खान, वडा नं २ मा एमालेका मनोज कुमार चौवे, वडा नं ३ मा कांग्रेसकी सरिता त्रिपाठी, वडा नं ४ मा जसपाका अहमद अली खान, वडा नं ५ मा स्वतन्त्रबाट जुवेर अहमद मुसलमान, वडा नं ६ मा जनमत पार्टीका राजकुमार जयसवाल, वडा नं ७ मा कांग्रेसका चन्द्र प्रकाश दुवे र वडा नं ८ मा एमालेका शहाबुद्दीन मुसलमान वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्