लुम्बिनी प्रादेशिक अस्पतालमा बर्न एण्ड प्लास्टिक सर्जरी सेवा शुरु


appharu

३० असार २०७९, बिहीबार १५:५९ मा प्रकाशित

पालिकापत्र, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विशेषज्ञ चिकित्सकबाट बर्न एण्ड प्लास्टिक सर्जरी सेवा शुरु भएको छ । विभिन्न कारणले जलेका र शरीरका अंगमा चोटपटक लागेका विरामीहरुको उपचारका लागि लुम्बिनी प्रदेशमै पहिलोपटक विशेषज्ञ सेवा शुरु गरेको अस्पतालले जनाएको छ । यसअघि जनरल सर्जन डाक्टरबाट उपचार हुंदै आएको थियो । विशेषज्ञ सेवाको अस्पताल विकास समितिकी सदस्य रिज्जु श्रेष्ठले बिहीबार उद्घाटन गरिन् । हाल ५ बेडबाट सेवा शुरु भएको विभागमा एमसीएच प्लास्टिक सर्जन डा. विकेश राजभण्डारीले विरामीको चेकजांच र उपचार गर्ने छन् । यो विभागमा आगोले पोलेका, करेन्ट लागेर जलेका, ओंठ र तालु खुइलेको, ठूला घाउ चोट,औला जोडिएका र घाउका पुराना दागको समस्या भएकाले उपचार सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले बताए । यो सेवाले विपन्न वर्गका विरामीहरु महंगा निजी अस्पताल र बुटवल बाहिर धाउनुपर्ने वाध्यताको अन्त्य भएको डा. ढकालले बताए । सेवालाई भविष्यमा २० बेडमा विस्तार गर्ने योजना रहेको पनि उनले बताए । अस्पतालकी सदस्य रिज्जु श्रेष्ठले अस्पतालमा एसिड आक्रमणमा परेकाको उपचारसहित अन्य आवश्यक सेवाहरु विस्तार गरी सर्वसाधारण जनतालाई राहत दिने बताइन् । यसअघि हालै मात्र अस्पतालले मिर्गौला डायलाइसिस सेवा ६ बेडबाट १७ बेडमा बिस्तार गरेको र २ बेड सेरो पोजेटिभ विरामीहरुको लागि छुट्टाइएको र कोभिड पोजेटिभ विरामीको पनि डायलाइसिस सेवा सुरु गरेको अस्पतालकी मेट्रोन ज्योति पौडेलले बताइन् ।

प्रतिक्रिया दिनुहोस्