बाणगंगामा हाकिम टिक्नै सकेनन्, कारण आन्तरिक कर्मचारीको गुटबन्दी !


appharu

१३ श्रावण २०७९, शुक्रबार १८:११ मा प्रकाशित

पालिका पत्र, बाणगंगा ।
तत्कालिन स्थानीय निकाय स्थानीय तहमा रुपान्तरण भएको ५ बर्ष पूरा भएको छ । ०७२ असोज ३ गते संविधान जारी भएसंगै स्थानीय तहलाई नजिकको सिंहदरबारका रुपमा लिने गरिन्छ ।

०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिको विदाई भएका छन् । लगत्तै ०७९ बैशाख ३० गते सम्पन्न निर्वाचन मार्फत मुलुकभरका स्थानीय तहमा नयाँ जनप्रतिनिधि सत्तामा आएका छन् ।

जनताको प्रत्यक्ष सरोकार रहने स्थानीय तहमा जनप्रतिनिधि ५ बर्षका स्थायी प्रतिनिधि भएपनि हाकिम नटिक्दा सेवाप्रवाहमा समस्या देखिन थालेको छ ।

सरकारको खुकुलो कानुन, आन्तरिक गुटबन्दी, दलीय प्रभाव, शक्ति समूह बीचको खिचातानीले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत टिक्नै छाडेका छन् । निजामती ऐनमा कार्यालय प्रमुख दुई बर्षका लागि अनिवार्य हुनुपर्ने व्यवस्था भएपनि यसको स्थानीय तहमा धज्जी उड्ने गरेको छ । जसले गर्दा पालिकाका प्रशासनिक काममा मात्र होइन् पूजीगत खर्चमा समेत समस्या देखिने गरेको छ ।

छिटो छिटो हाकिम फेरिनेमा यसको उदाहरण बनेको छ कपिलवस्तुको बाणगंगा नगरपालिका ।

बाणगंगामा ०७४ साल यता ५ बर्षको अवधिमा ६ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् भने सातौं प्रमुख प्रशासकीय अधिकृतको रुपमा नयाँ आउँदैछन् । यसले प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नका बाणगंगा मुलुककै अग्रभागमा पर्छ ।

जबकी जिल्लाका अरु ९ पालिकामा बाणगंगामा जसरी प्रमुख प्रशासकीय अधिकृतको फेरबदल हुने गरेको छैन् ।

इश्मा गाउँपालिका १ गुल्मीका तुलसीराम मरासिनी कपिलवस्तुको बाणगंगा नगरपालिकामा सबैभन्दा लामो समय ३२ महिना प्रमुख प्रशासकीय अधिकृत भएर काम गरे । २०७३ । १२ । ९ गते नगरमा हाजिर भएका उनको हातमा सरुवा पत्र आएपछि २०७६ । ६ । २६ गते उनी विदा भए ।

त्यसपछि नगरमा कार्यकारी प्रमुखको रुपमा पर्वत ८ फलेबास स्थायी घर भई हाल बुटवल बस्दै आएका कृष्ण प्रसाद सापकोटा २०७६ । ६ । २६ गते नगरमा हाजिर भए । त्यसको तीन महिना पुरा हुँदा नहुँदै उनको हातमा पनि सरुवाको पत्र थमौती भयो । उनले २०७६ । ९ । २६ गते नगरबाट विदा लिए । सापकोटाको सरुवा लगत्तै फेरि नगरमा रेसुङ्गा नगरपालिका ७ गुल्मीका चुरामणी पन्थी प्रमुख प्रशासकीय अधिकृतको रुपमा नगरमा अवतरण भए ।

तर, उनी पनि धेरै समय टिक्न सकेनन् । २०७६ । १० । ६ गते हाजिर भएका उनी २०७७। ७ । ३० गते ९ महिनामै विदा भए । त्यसपछि आए तुलसीपुर उपमहानगरपालिका दाङका गेहेन्द्र बहादुर डाँगी । उनी त ‘आयाराम गयाराम’ भनेजस्तै २०७७ । ८ । १ गते हाजिर लगाउन आएर ७७ । १२ । १७ गते नगरको हाजिरी रजिष्ट्ररमा अन्तिम हाजिर गरे । उनी त झन् ३ महिनामै विदा भए ।

डाँगीको सरुवा गर्न नगरभित्रैका कर्मचारीको ठूलो भूमिका रहेको त्यति बेला पनि चर्चा चलेको थियो । हक्की स्वभावका डाँगी कमचोर कर्मचारीका लागि कडै थिए । त्यहीँ शैलीको विरोध स्वरुप कर्मचारीकै मिलेमतोमा डाँगीलाई यहाँबाट सरुवा गर्ने सुरु चलखेल भएको स्रोत बताउँछ ।

डाँगीको सरुवा लगत्तै नगरका जनप्रतिनिधि र कर्मचारी प्रमुख प्रशासकीय अधिकृत खोज्न विभिन्न शक्ति केन्द्र धाएका थिए । अर्घाखाँची घर भएका बासुदेव खनाल बाणगंगाको रोजाईमा परे । भर्खरै अधिकृतबाट उपसचिव भएका खनाल बाणगंगाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा यहाँ आएका थिए ।

कतिपयले खनाललाई नगरपालिका सञ्चालनमा राम्रो अनुभव नभएको भनि टिप्पणी गर्थे । यद्यपि खनाल बाणगंगाका जनप्रतिनिधि र कर्मचारीको रोजाईमा परे पछि यहाँ आएका हुन् ।

खनाल यहाँ आएको लगभग १० महिना नबित्तै उनलाई सरुवा गर्ने चलखेल सुरु भयो । केन्द्रीय सत्ता उथलपुथल, आसन्न स्थानीय तहको निर्वाचन, यसमा बाणगंगा भित्रैका कर्मचारीको गुटबन्दीको शिकारमा खनाल परे । खनाललाई यहाँबाट हटाउन त्यति बेला पनि ठूलै चलखेल भएको कर्मचारीवृत्तमा चर्चा चल्ने गरेको छ ।

खनाल नचाहदा नचाहदैं यहाँबाट १० महिनामै सरुवा भएका थिए । त्यस लगत्तै ०७८ माघ ३ गते आए सैनामैना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका टेकराज पन्थी ।

पन्थी स्थानीय तहमा काम गरेका अनुभव हाकिम मात्र थिएनन्, सैनामैना नगरपालिकामा राम्रो काम गरेर चर्चा कमाएका थिए ।

बुटवल लक्ष्मीनगर घर भएका पन्थी आफ्नै चाहना र नेताहरुको आग्रह बमोजिम बाणगंगामा आएका थिए ।

बाणगंगाको बागडोर सम्हाल आएका पन्थीले सुरुवातताका केहीँ राम्रा काम पनि गरे । स्थानीय तहको निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका पन्थी ६ महिना लगत्तै सरुवा भएका हुन् ।

पन्थीको सरुवालाई लिएर कतिपय आन्तरिक कुरा बाहिर आएका छन् । बाणगंगामा हाकिम नटिक्ने रोग पत्ता लाग्न नसकिरहेको बेला पन्थीको सरुवाले केहीँ नयाँ कुरा बाहिर उजागर गरेको छ ।

पन्थी स्थानीय तहका अनूभवि हाकिम भएको कारण नगरभित्रका कतिपय कर्मचारीको नाकमुख सुकेको थियो । नगरका जनप्रतिनिधि र कर्मचारी बीच गुटबन्दी गर्न माहिर ती कर्मचारी सुरुवात देखि नै पन्थीको कार्यशैली प्रति असन्तुष्ट थिए ।

स्रोतका अनुसार सुरुवातताका पन्थीलाई आफ्नो नियन्त्रणमा राख्नका लागि निकै जोडबल गरेका ती कर्मचारी पन्थीको व्यक्तिगत छविले हच्किएका थिए ।

‘हाकिम पन्थी सुशासन र पादरर्शीतामा सचेत थिए । नगरको चालु खर्चमा पनि उनी मितव्ययी थिए । बर्षौ देखि आन्तरिक चलखेल गर्दै आएका कतिपय साथीहरुका आम्दानीका मुहान बन्द भए, त्यसपछि उहाँमाथि गुटबन्दी सुरु भएको हो, एक जना नगरकै कर्मचारीले नाम नबताउने शर्तमा भने, ‘जनप्रतिनिलाई हाकिमको कुरा लगाउने, हाकिमसंग जनप्रतिनिधिका कुरा लगाएरै किचलो सुरु भएको हो ।’

बाणगंगामा अख्तियारमा कतिपय उजुरी परेका छन् । यी उजुरी हाल्ने आन्तरिक कर्मचारी नै भएको स्रोतको दाबी छ । स्रोत भन्छः ‘बाणगंगा कर्मचारीकै कारण व्यथितिको चाङ्ग बढ्यो, जनप्रतिनिधि एक्सनमा उत्रनै पर्छ ।’

मुलुकको उत्कृष्ट नगरपालिकाको उपाधि दिलाउन सफल तुलसीराम मरासिनीबाहेक अरु कार्यकारी टिक्न नसक्नुलाई नगरका पुराना कर्मचारी र जनप्रतिनिधिले आफ्नै कारण भनेका छन् ।

सरोकारवाला भने हाकिम सरुवा हुनुमा नगरका कर्मचारी नै कारण भएको बताउँछन् । काम नगर्ने, तलवभत्ता पचाउने, बिभिन्न एनजिओ, आइएनजिओ भत्ते कार्यक्रममा समय दिने, जनताको काम नगर्ने, ठेकदारहरुसंग मिल्ने कतिपय कर्मचारीको कारण नगरले राम्रा प्रशासक पनि गुमाउन बाध्य भएको नाम नभन्ने सर्तमा एक जनाले बताए ।

नयाँ कार्यकारी नटिक्नुमा कर्मचारी–कर्मचारीबिचको आन्तरिक द्धन्द्ध रहेको पनि विशेष श्रोतले बताएको छ । नयाँ कर्मचारीलाई पुराना कर्मचारीले नटर्ने, हाकिमको आदेश पालना गर्न नखोज्ने, मान मर्दन गर्न खोज्ने, समयमा काम नगरिदिने, आलटाल गरिदिने इत्यादि समस्या पनि कार्यकारी टिक्नुमा समस्या भएको नगरभित्रकै श्रोतले बतायो ।

प्रमुख प्रशासकीय अधिकृतको छिटो छिटो सरुवा हुँदा समग्र विकास निर्माको काम नै प्रभावित हुने स्वयम कर्मचारी बताउँछन् । योजना सम्झौता, अनुगमन, मूल्याङ्कन, फरफारत, सुशासन, सेवा प्रवाह, नगरका महत्वपूर्ण निर्णय गर्न, कार्यान्वयन गराउन, कार्यालय ब्यवस्थापन, आर्थिक अनुशासनका काम गर्न पनि समस्या हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्