लुम्बिनी सांस्कृतिकका हाकिमको सांढे शैलीको आतंक

निरंकुश र मनपरी व्यवहारले मातहतका कर्मचारी हैरान


appharu

२३ श्रावण २०७९, सोमबार १५:१० मा प्रकाशित

पालिकापत्र, बुटवल । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुखसंग मिलेर प्रमुख प्रशासकीय अधिकृतले मातहतका कर्मचारीमाथि निरंकुश शैलीको व्यवहार गर्दा मातहतका कर्मचारी आतंकित भएका छन् ।

साउन १५ गते सरुवाको पत्र पाइसकेका प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले साउन २० गते सांझ कार्यालय समय सकिए पछि कार्यालय आएर कर्मचारीहरुको सरुवाको निर्णय गरेका छन् ।

उनले प्रशासन सेवाका अधिकृतहरुलाई दरबन्दी नै नभएको वडामा दुई जना अधिकृत मध्ये एकजनालाई वडा नंं १० को वडा सचिवमा र अर्कालाई वडा नं ७ र ८ को सचिवको रुपका सरुवा गरेको निर्णय गरेका छन् । नियम अनुसार अधिकृत तहका कर्मचारीलाई वडामा खटाउन मिल्दैन ।

नगरपालिकाकी उपमेयर कल्पना हरिजनले प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले विधि प्रकृया मिचेर निरंकुश ढंगले निर्णय गर्नुका साथै महिला र अन्य कर्मचारीमाथि आपत्तिजनक र ज्यादतीूर्ण व्यववहार गरेको गुनासो गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डे सरुवा रोक्न केही वडाध्यक्षलाई लिएर काठमाडौं गएका र नगरपालिका कर्मचारीविहीन हुंदा सेवाग्राही मर्कामा परेको बताइन् ।

नगरपालिकाको माइन्युट पुस्तिका आफूसंग भएको तर मेयर र हाकिमले अवैध तरिकाले मनपरी निर्णय गरेको उनकालले उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरी कारवाही गर्नुपर्ने उपमेयर हरिजनको माग छ । प्रमुख प्रशासकीय अधिकृतसंग सम्पर्क गर्न पटक पटक प्रयास गर्दा पनि फोन सम्पर्क हुन सकेन ।

यसअघि आफूहरुलाई कुनै जानकारी नै नगराई ९ जना करारका कर्मचारीलाई निलम्बन तथा ११ जना नयाँ कर्मचारी थप गरिएको बिरोधमा उपप्रमुखसहित ६ जना वडाअध्यक्षहरुले संयुक्त रुपमा नगर प्रमुख, जिल्ला समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । कुनै प्रक्रिया नै पुरा नगरी आफ्ना मान्छेलाई करार तथा ज्यालादारीमा नियुक्त गरिएकाले सो कार्यको पुर्नविचार गरी खारेज नगरेमा आगामी दिनमा कडा रुपमा प्रस्तुत हुने उनीहरुले चेतावनी दिएका छन् ।

उप-प्रमुख कल्पना हरिजन, वडा नम्बर १ का अध्यक्ष सुरज कलवार, ३ का अध्यक्ष अकरामुद्दीन नाउ मुसलमान, ४ का अध्यक्ष विनोद श्रीवास्तव, ७ का अध्यक्ष ध्रुव यादव, १० का अध्यक्ष विनोद कहाँर र १२ का अध्यक्ष हरिकेश लोधले नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुँवर र जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईलाई प्रत्येक्ष भेटेर सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।

नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले किर्ते निर्णय गराएर पुराना कर्मचारीलाई विदाई तथा नयाँ कर्मचारी नियुक्ति गरेको आरोप छ ।

नगर परिषद र नगर सभाको नाममा वार्षिक नियमित बजेट मात्र छलफल भई पारित भएको र अन्य कुनै पनि एजेण्डाहरु टेबुल नै नगरी र छलफलमा नल्याई आफ्ना पार्टी, नेता कार्यकर्ताको आग्रहमा प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा नयाँ कर्मचारी नियुक्त गरिएको भन्दै नेकपा एमाले, लोसपा नेपाल र जनमत पार्टीबाट निर्वाचित उपप्रमुख, वडाअध्यक्ष लगायत जनप्रतिनिधिहरु विरोध गरेका छन् ।

‘नगरप्रमुख लगायत नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु तथा गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपालका जनप्रतिनिधि एवं प्रमुख प्रशासकीय अधिकृतको हैसियतले गरेका यस्ता कार्यहरुको तुरुन्त पुर्नविचार गर्नुपर्छ ’–ज्ञापनपत्रमा भनिएको छ । कर्मचारी हटाउने र नयाँ कर्मचारी नियुक्त गर्ने कार्यको विरुद्धमा आन्दोलन गर्नुपर्ने अवस्थामा तालाबन्दी समेत गर्न पछि नपर्ने उनीहरुले चेतावनी दिएका छन् । १३ वटा वडा रहेको लुम्बिनी साँस्कृतिक नगरपालिकामा प्रमुख कांग्रेसले जितेको छ भने उपप्रमुख एमालेले जितेको छ । त्यस्तै एमालेले ५, कांग्रेस र जसपाले ३–३, तथा लोसपा र जनमत पार्टीले १–१ वडा जितेका छन् ।

यस्तो छ कर्मचारीले बुझाएको ध्यानाकर्षण पत्र

श्रीमान् नगर प्रमुख ज्यू¸
लुम्बिनी साँस्कृतिक नगरपालिका¸ रुपन्देही ।
श्रीमान् नगर उप प्रमुख ज्यू¸
लुम्बिनी साँस्कृतिक नगरपालिका¸ रुपन्देही ।

विषय: गुनासो सम्बन्धमा ।
प्रस्तुत विषयमा हामी यस लुम्बिनी साँस्कृतिक नगरपालिका¸ नगर कार्यपालिकाको कार्यालयमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरु यस कार्यालय एवं नगरपालिकाको समग्र नियमित¸ आकस्मिक र विकासात्मक कामकारबाहीलाई अघि बढाउन तर्फ कटिबद्ध छौँ साथै आफ्नो तर्फबाट राष्ट्र सेवाको महत्वपूर्ण अभिभारालाई पूरा गर्न प्रतिवद्ध रहँदै आइरहेका छौँ । कुनैपनि कार्यालयको निर्दिष्ट उद्देश्य पूरा गर्न कार्यालय व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्ने व्यहोरा श्रीमान् लाई अवगत नै छ । नेपालको संविधान र सो ले व्यवस्था गरेको संघीय शासन प्रणाली संस्थागत र दिगो गराउन स्थानिय सरकार आधार स्तंभ पनि भएको र स्थानिय तहको सेवा प्रवाह प्रणाली सम्बन्धमा जानकार हुनु¸ सेवा प्रवाह प्रणालीमा कुनै कमि कमजोरी अथवा समस्या देखिएमा समाधानको बाटो तर्फ डोहोर्याउनु पर्ने दायित्व स्थानिय सरकारको अभिभावकत्व निभाउनुहुने श्रीमान् नगर प्रमुख र श्रीमान् नगर उप-प्रमुख ज्यूको समेत रहने हुँदा एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कामकाजमा खटिनुभएका श्रीमान् प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेय ज्यू प्रतिको हाम्रो गुनासो वहाँ स्वयंबाटै सुनुवाई नहुने देखिएको रयहाँ द्वयलाई जानकारी गराउनु यस नगरपालिका¸ हामी कर्मचारीहरु एवं समग्र राष्ट्रकै हितमा हुने विश्वासले गुनासो सम्बोधन हुने आशा सहित यो पत्र श्रीमान् समक्ष पेश गरेका छौँ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका¸ नगर कार्यपालिकाको कार्यालयका श्रीमान् प्रमुख प्रशासकीय अधिकृत श्री भूपेन्द्र पाण्डेय ज्यू प्रति हाम्रा गुनासोहरु:

१. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०७९।०३।०२, च। न. (३८९४३ को निर्णय कार्यान्वयन सम्बन्धमा दिइएको सुझाव बमोजिम ”) : सर्भे तयार गरेर दरबन्दी सिर्जना गरेर मात्र कानुन बमोजिमको प्रक्रिया पुरा गरी भर्ना गर्ने व्यवस्था मिलाउन” भनिएको मा त्यसको विपरितबिना कुनै आधाररप्रकृया¸ बिना कुनै जानकारी¸ बिना कुनै स्पष्टीकरण केहि ज्यालादारी तथा करार कर्मचारीहरुलाई निश्कासन गर्ने र नयाँ थपसंख्यामा कर्मचारी भर्ना गर्ने निर्णय गराएको ।

२. कर्मचारी भर्ना एवम् कर्मचारी व्यवस्थापनमा लापरवाही, मनोमानी गर्ने गरेको, ज्यालादारी को नाममा पुरै एक आर्थिक वर्ष सम्मका लागि सब-इन्जिनियर¸कम्प्यूटर अपरेटर (प्राविधिक सहायक जस्ता पद समेत) स्थानिय सरकार सञ्चालन ऐन र नगरपालिका को नियम विपरित भर्ना गरेको।

३. मातहतका कतिपय कर्मचारीहरु लाई नियूक्ती र हाजिर पश्चात् पनि जिम्मेवारी नदिएको (हाजिरी भएको ५/६ महिना सम्म जिम्मेवारी विहिन गराई सेवा प्रवाहमा प्रभाव पारेको) ।

४. कर्मचारीहरु प्रति (कार्यालय प्रमुख) अभिभावकले गर्ने समुचित व्यवहार नगर्ने र नातावाद, आफ्नो निरन्तर जिहजुरी गर्ने, चाप्लुसी गर्ने, ताबेदारीमा तल्लिन कर्मचारीलाई मात्र काखी च्याप्ने तथा स्वेच्छाचारी निरंकुश र तानाशाही प्रवृतिमा कार्यालय सञ्चालन गर्ने गरेको र कर्मचारीले भययूक्त वातावरणमा कार्यसम्पादन गर्नु परेको ।

५. सुचनाको हक को मान्यताहरु लाई वेवास्ता गर्ने गरेको (कार्यपालिका बैठकका निर्णयहरुलाई गोप्य राख्ने, सम्बन्धित शाखा सँग सम्बन्धित गरिएको निर्णय शाखालाई समेत जानकारी नगराउने) ।

६. स्रोत अनुमान तथा वजेट सिमा निर्धारण समितिले वजेट सिलिङ् तोकेबमोजिम शाखा बाट तयार भइ सिफारिस गरेका योजना तथा कार्यक्रमहरु शाखा लाई जानकारी समेत नगराई मनमौजी ढंगले परामर्श सेवा खरिद हुने खालका आफुअनुकूलका योजना तथा कार्यक्रममा परिमार्जन गरी योजना ईन्ट्री गर्न लगाएको ।

६. कार्यालयबाट हालसम्म कर्मचारी का क्षमता अभिबृद्धी हुने खालका तालिम सञ्चालन मा उदासिनता देखाएको तर कर्मचारीको क्षमता माथि बारम्बार प्रश्न गर्ने गरेको ।

७. संवेदनशिल विषयहरुमा समेत विना प्रक्रिया मौखिक आदेशानुसार कार्यसम्पन्न गर्न अनुचित दवाब दिने गरेको ।

८. हाल सम्म कर्मचारी बैठकको आयोजना नगरेको र कर्मचारीहरुका गुनासोलाई वेवास्ता गरेको ।

९. कर्मचारीहरु सँग अपशब्द बोल्ने (तँ, पाजी, आईमाइ, निर्लज्ज, लाज पचेकी, कर्तुत, अपरिपक्क, मलाई कुनै कर्मचारीको आवश्यकता नरहेको जस्ता) र अमर्यादित व्यवहार गर्ने गरेको (कर्मचारीहरु लाई मर्यादा नराखी कार्यसम्पादनको अवमूल्यन गर्ने गरी कार्यालय बाहिरका मानिसहरुका अगाडी होच्याउने, थर्काउने) ।

१०. कार्यालय सञ्चालनका क्रममा विषयगत शाखा बाट हुने सम्बन्धित कामहरु शाखालाई जानकारी समेत नदिई अनाधिकारिक व्यक्ति, संस्था तथा कर्मचारी मार्फत गराउने गरेको तर शाखाका कर्मचारीलाई दायित्व मात्र बहन गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको ।

११. कार्यालय सञ्चालन तथा व्यवस्थापनमा कार्यालय बाट मनग्य खर्च हुने गरेपनि अत्यावश्यक कार्यालय व्यवस्थापनमा ध्यान नदिने गरेको (कार्यालय भवनहरु अस्तव्यस्त रहेको (शाखागत कार्यकक्षहरु साना र सांघुरारहेका, भएका कर्मचारीहरु लाई जिम्मेवारी नदिने र सेवाचाप बढि हुनेशाखामा कर्मचारी व्यवस्थापन नगरेको, सरुवा भइ आउन चाहने स्थायी कर्मचारीहरु लाई सरुवा सहमति दिन चासो नदेखाएको)।

१२. कार्यालयका महत्त्वपूर्ण दस्तावेजहरु (आवधिक योजना,पार्श्वचित्र, वृत्तचित्र, राजश्व सुधार गुरुयोजना,पाठ्यक्रम, विभिन्न ब्राउजर) आदि निर्माण गर्दा हचुवाको भरमा हतार हतारमा बजेट सक्नका लागि मात्र जस्तोगरेर प्रकाशन र छपाई गर्ने गरेको,गुणस्तरीयतामा ख्याल नगरेको¸ उपयोगमाउदासिनता देखाएको आदी ।

१३. लुम्बिनी साँस्कृतिक नगरपालिकाको संस्थागत स्व-मूल्याङ्कन सुचकाङ्क वहाँकै कार्यकालमा ५४ अंकबाट ३६.२५ अंकमा गिरावट आई रुपन्देहीका १० वटा नगरपालिकाहरु मध्ये सबै भन्दा कमजोर हुन पुगेको ।

बोधार्थ: कर्मचारी परिवार
श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लुम्बिनी साँस्कृतिक नगरपालिका
सिंहदरबार¸ काठमाण्डौ । नगर कार्यपालिकाको कार्यालय¸
श्री मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय रुपन्देही ।
मूकाम बुटवल¸ रुपन्देही ।
श्री जिल्ला समन्वय समिति¸ रुपन्देही ।
श्री जिल्ला प्रशासन कार्यालय¸ रुपन्देही ।

प्रतिक्रिया दिनुहोस्