बाणगंगामा टेण्डरको सूचना सीमित पत्रकारलाई बांडेर कमिसनको धन्दा


appharu

२७ भाद्र २०७९, सोमबार १५:२९ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको लाखौँको टेण्डर सूचनामा कमिसनको खेल हुने गरेको पाइएको छ । बाणगंगामा अहिले नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा खिमानन्द भुसाल आएका छन् । उनी आएको थोरै समय भएकाले अहिले कस्तो बदमासी भएको छ त्यो खुलेको छैन, यद्यपी धेरैले उनीमाथि पनि शंका भने गर्न थालेका छन् । तर यसअघिको स्थानीय तहको कार्यकालभरी नगर प्रमुख, नगर उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, अधिकृत स्तरका शाखा प्रमुख, वडाअध्यक्ष कर्मचारीको इच्छा अनुसार पत्रकारले लाखौँको टेण्डरका सूचना कमिसनमा पाउने गरेका बिभिन्न श्रोतबाट जानकारी आएको छ ।

दैनिक या साप्ताहिक पत्रिकामा प्रकाशित गर्नै पर्ने ठेक्कापट्टा, जरुरी महत्वका सार्वजनिक सूचनाहरु मिडिया हाउसको इमेलमा पठाउनु पर्नेमा केही मुट्ठीभरका पत्रकारको ब्यक्तिगत इमेलमा पठाउने गरेको खुलेको हो । कमिसन पाउने पत्रकारमा धेरै एमालेका, त्यसपछि काँग्रेस–माओवादीका रहेका भेटिन्छन् । उनीहरुले भागवण्डामा आलोपालोे सूचनाअरु पाउने गरेका बताइन्छ । यस्तो सूचना सबैभन्दा धेरै कमन नेपाल प्रालीद्धारा संचालित बुद्ध दर्पण दैनिक, बुद्ध आवाज साप्ताहिक छन् भने वाणगंगा बाहिरका दैनिक लुम्बिनी, मेचीकाली, बुटवल टुडे, दैनिक पत्र लगायत छन् ।

सूचना मिडियामा प्रकाशन हुनु अनिवार्य कुरा हो तर कमिसनको खेलमा सिमित पत्रकारले आफ्नो इमेलमा यस्ता सूचना पाउनु र दिनूले उनीहरुलाई शंकाको घेरामा तानेको छ । विडम्बनाको कुरा के छ भने ती मिडियाको संस्थागत इमेलमा सूचना नपठाएर त्यसका प्रमुख, संचालक, सम्पादक, संवाददाताको ब्यक्तिगत इमेलमा नगरप्रमुख या जनप्रतिनिधिको सल्लाहमा हाकिमले पठाउने गर्दछन् । यस तथ्यबाट के प्रष्ट हुन्छ भने बाणगंगाका टेण्डरका सूचनामा कमिसनको धन्दा विगत ६ बर्षदेखि मौलाइरहेको छ । होइन भने ती जरुरी सूचना संस्थाको इमेलमा किन पठाइन्न ? सरोकारवालाले प्रश्न गर्न थालेका छन् ।

यस्तो सूचना पाउने पत्रकार पनि दलमा आवद्ध रहेका पाइएको छ । नगर प्रमुख, उपप्रमुख, हाकिम, वडा अध्यक्षहरु बसेको, उठेको, हिँडेको, फेसबुकमा लेखेको कुरालाई समाचार बनाउने, आवश्यक अनावश्यक लेखहरु निरन्तर प्रकाशन गरिरहने, दैनिक कार्यालयमा धाउने र गफ छाँट्न, आवश्यकता अनुसार खाजा, खाना र डिनरमा विहान, दिउँसो, साँझ उठवस गर्ने पत्रकारहरुले यस्तो सूचना पाउने गरेका नगरपालिकाभित्रकै बिभिन्न श्रोतले बताउँछ । यसमा धेरै दलीय पत्रकार नै समावेश रहेका त्यहाँस्थित पीडित पत्रकारहरु बताउँछन् ।

बाणगंगालाई कर्मथलो बनाएर ४ बर्षसम्म पत्रकारिता गरेका एक जना पत्रकारले सामाजिक संजालमा यस खालको स्टाटस राखेपछि त्यसमा पूर्व वडा अध्यक्षसमेतले सहमति जनाएपछि यस धन्दाको थप पर्दाफास भएको छ । यस्तो भागवण्डामा नपरेका पत्रकारले पनि चुरो कुरो आयो भनेर त्यो स्टाटस शेयर गर्ने गरेकोबाट पनि टेण्डरका सूचनामा दलीय पत्रकार र नगरका जनप्रतिनिधि, कर्मचारीको सेटिङ छ भन्ने बुझिन्छ । गत बर्ष बाणगंगामा करिब २५–३० लाख बढीका सूचना यसैगरी बाँडिएको श्रोत बताउँछ । पहिलो स्थानीय तहको कार्यकालमा यही अनुपातमा यसै गरी करोडौँका सूचनाहरु बाँडेर कमिसनतन्त्र चलेको उक्त श्रोत बताउँछ ।

यसो हुनुको पछाडी कमिसनको धन्दा रहेको छ । हाकिमबाट कतिपय छापा मिडिया भएका र कतिपय छापा मिडिया नभएका तर अहोरात्र चाकडी गर्ने पत्रकारको ब्यक्तिगत इमेलमा सूचना पठाइन्छ । ती दुवै थरी पत्रकारले कमिसन खाएर आफ्नो या आफू अनुकुलको दैनिक या साप्ताहिक पत्रिकामा प्रकाशनको लागि पठाउने गर्दछन् । हाकिमले पनि आफ्नो ब्यक्तिगत इमेलबाट यस्ता सूचना पठाउने गर्दछन् । त्यसपछि आएको पैसालाई आवश्यकता अनुसार भागवण्डा गर्ने नभए हाम्रो बारेमा लेखेर मिहिनेत गर्नु भएको छ तपाइको पनि त जिन्दगी चल्नु पर्यो नि भन्दै दिने गरिएको समेत बिभिन्न श्रोतबाट जानकारीमा आएको छ । तर यस कुरालाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले भने नकार्छन् ।

मिडिया हाउसबाट एउटा सूचनाबाट पत्रकारले कति कमिसन पाउँछ र उसले हाकिम र जनप्रतिनिधिलाई कति कमिसन दिन्छ त्यसको अंक भने पालिका पत्रले प्रमाणको रुपमा पाएको छैन । पत्रकार, जनप्रतिनिधि र प्रमुख कर्मचारीले कति कमिसन लिए ? त्यो पनि अज्ञात छ तर बाहिर भने यस विकृतिको राम्रै चर्चा हुने गरेको त्यहाँका पत्रकार बताउँछन् । कमिसन दिने या भजन गाउने शर्तमा त्यसखालका पत्रकारले सूचनाहरु माग्ने गरेको भेटिन्छ । प्रशासकहरु टेण्डरका सूचनाहरु पत्रकारको ब्यक्तिगत इमेलमा नभएर मिडिया आउसकै इमेलमा पठाउनु पर्ने अन्यथा त्यो नियमविपरित हुने बताउँछन् । यस्तो धन्दा बाणगंगामा मात्र नभएर देश ब्यापि रहेको बताइन्छ । पत्रकारिताका विज्ञहरुले पत्रकारहरु यस्तो धन्दामा लाग्नुलाई पीत पत्रककारिताको संज्ञा दिन्छन् ।

बाणगंगा नेपालको यस्तो नगरपालिका हो जहाँ दुई बर्ष नपुग्दै आधादर्जन हाकिम फेरबदल हुन्छन् । यसरी ३,५,६ महिनामा हाकिमको फेरबदल हुनुको पछाडी यस्तैयस्तै कारण रहेको श्रोत बताउँछ । यस धन्दामा नलागेको केही कुशल हाकिमलाई त्यहाँका जनप्रतिनिधिले तिनचार महिना नपुग्दै बिदा गरेको तथ्य पनि छ । बाणगंगामा सूचनामा त यस खालको धन्दा छ भने अरु करोडौँका नदीजन्य पदार्थ लगायतको ठेक्का पट्टामा कति कमिसनको खेल र धन्दा चलेको होला सहजै अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्