लागूऔषध प्रयोग रोक्न साझा पहल जरुरी


appharu

११ आश्विन २०७९, मंगलवार १७:५८ मा प्रकाशित

पालिकापत्र, बुटवल । पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ताहरुको संख्या विस्तारै बढ्दै गएको भन्दै यसलाई रोक्न सबैको साझा पहल जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् । आस्था समुह बुटवलको आयोजनामा भएको सरोकारवालाहरुबीचको अन्तरक्रियामा बोल्ने वक्ताहरुले लागूऔषध प्रयोगकर्ताहरु सामाजिक समस्याको रुपमा रहेको भन्दै यसलाई रोक्न सबै पक्षको विचमा एकतावद्ध प्रयास आवश्यक रहेको बताएका हुन् ।
अन्तरक्रियामा बोल्दै ईलाका प्रहरी कार्यालय बुटवलका ईन्स्पेक्टर प्रकाश खत्रीले प्रहरी प्रशासनको उक्लो प्रयासबाट मात्रै नभएर सबैको साझा पहलबाट लागू औषध सम्बन्धी सचेतना फैलाउन सकिने बताए । उनले लागू औषधको प्रयोग, यसको असरको विषयमा विद्यालयस्तरबाट नै जनचेतना जगाउन आवश्यक रहेको बताए । उनले यसमा नेपाल प्रहरीले सहकार्य गर्न तयार रहेको बताए । आस्था समुह बुटवलका कार्यक्रम अधिकृत रमेश मल्लका अनुसार लागू औषध प्रयोगकर्ताहरुको संख्या बढ्दै जानु चुनौतिको रुपमा रहेको भन्दै खासगरी युवा पुस्तामा यसको लत बढ्दै जानु थप चुनौति भएको बताए । उनले नेपाल सरकार गृह मन्त्रालय लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा हाल मौखिक उपचार विधि (ओएसटी) बाट लागू औषध प्रयोगकर्ताहरुलाई सामान्य जिवनमा फर्काउनको लागि कार्यक्रम जारी रहेको बताए ।
रुपन्देही जिल्लामा हाल यो विधि प्रयोगबाट ७६ जना लागू औषध प्रयोगकर्ताहरु सामान्य जीवनमा फर्किएको जानकारी दिदै उनले मौखिक प्रतिस्थापन पद्धतीबाट हाल ७२ जनाले नियमित सेवा लिइरहेको बताए । ३६ जनालाई नियमित सेवा दिने योजना रहेपनि हाल २७ जना रहेको जानकारी दिदै उनले यो अवधीमा ४९ जनालाई तालिम समेत प्रदान गरिएको बताए । यस्तै २८ जनाको रगत समेत परिक्षण गरी एचआईभी, हेपाटाईटीस लगायतका भए नभएको परिक्षण गरिएको र उनीहरु हाल सम्म सुरक्षित रहेको जानकारी दिए ।
कार्यपत्र प्रस्तुत गर्दै आस्था समुह बुटवलका खमेराज हितानले सुईबाट लिईने लागू औषध असुरक्षित भएको भन्दै लागू औषध प्रयोगकर्ताहरुल प्रयोग गर्दै आएको लागू औषधको मात्रा लाई विस्तारै कम गर्दै उनीहरुलाई सामान्य जिवनमा ल्याउनका लागि यो परियोजना लागू गरिएको जानकारी दिए । उनले यसको लागि मौखिक प्रतिस्थापन विधिबाट लागू औषध उपचार पद्धती लागू गरी सोही अनुसारको उपचार २७ जनामा जारी रहेको बताए ।
आस्था समुहका संयोजक सुमित कार्कीले लागू औषध प्रयोग गर्दैमा जीवन नै बर्बाद भएको भन्न नहुने बरु यसबाट सहज रुपमा छुटकारा पाउन सकिने भएकाले त्यसको लागि चिकित्सकको निगरानीमा नियमित मौखिक औषधी सेवन गर्नुपर्ने बताए ।
कार्यक्रममा स्थानीय राधाकृष्ण युवा क्लव, प्रहरी कार्यालय,स्थानीय युवा तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्