बुटवलमा पुस १५देखि सडक खाना महोत्सव,अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने


appharu

१४ पुष २०७९, बिहीबार १८:३२ मा प्रकाशित

पालिकापत्र,बुटवल । सुस्ताएको होटेल तथा रेष्टुरेन्ट व्यवसायलाई चलायमान बनाउन अंग्रेजी नयाँ वर्ष २०२३को अवसर पारेर होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले बुटवलमा चौथो बुटवल सडक खाना महोत्सव गर्ने भएको छ ।

‘अतिथि देवो भव, नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान’ भन्ने नाराका साथ पुस १५देखि १७ गतेसम्म बुटवलको कालिकापथमा महोत्सव आयोजना गरिएको हो ।
सडक खाना महोत्सवको तयारी पूरा भएको बिहीबार आयोजक संस्था होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही, बुटवलले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुग्ने विश्वास लिएको संघका अध्यक्ष रामप्रसाद गौतमले बताए ।

महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुबाट उत्पादित विभिन्न परिकाहरुका साथै जिल्लाभित्र र बाहिर विभिन्न जातजातिका खानाका परिकारको सय वटा स्टल राखिने अध्यक्ष गौतमले बताए ।

संघको आयोजनमा ०७५ साल देखि शुरु गरिएको सडक खाना महोत्सव ०७६ सालमा पनि भव्यरुपमा सम्पन्न गरिएको थियो । तर, ०७६ चैतदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण महोत्सव हुन सकेको थिएन । कोरोनाको प्रभाव विस्तारै घट्दै गएपछि पुनस् ०७९ बैशाख १ गते एकदिने तेस्रो कला संस्कृति तथा खाना महोत्सव बुटवलको हिलपार्कमा गरिएको थियो ।

साँझ ६ बजेदेखि राती १२ बजेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करिव १ करोड बरावरको आर्थिक कारोवार हुने र १ लाखभन्दा वढि दर्शकहरुले अवलोकन गर्ने लक्ष्य रहेको महासचिव माधवकुमार खनालले बताए । महासचिव खनालले सडक खाना महोत्सवले सुस्ताएको होटेल तथा रेष्टुरेन्ट व्यवसाय संगै पर्यटन व्यवसायलाई चलायमान र व्यवसायीलाई उत्साहित बनाउने अपेक्षा रहेको बताए ।
महोत्सवको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शुक्रबार बेलुका ५ बजे गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

महोत्सवलाई व्यवस्थित गराउन २३ वटा बिषयगत उपसमिति गठन गरिएको छ । सडक खाना महोत्सवको पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय पर्यटन परिषद् सह–आयोजक, बुटवल उपमहानगरपालिका प्रवद्र्धक रहेको छ । मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी छ भने, सहप्रायोजकमा सागर डिष्टीलरी प्राली र होटल एभरेष्ट इन हस्पिटालिटी पार्टनरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्