प्रधानमन्त्री ओलीले भैरहवामा गरेको त्यो भाषण…जसले उनैलाई गिज्याइरहेको छ !

कुर्सीका लागि राष्ट्रघाती काम गरेको सर्वत्र टिप्पणी


appharu

१० जेष्ठ २०७८, सोमबार १७:१२ मा प्रकाशित

पालिकापत्र डेस्क, बुटवल ।
आइतबार दिउँसो नागरिकता सम्बन्धी अध्यादेश जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको तीन वर्षअघि एउटा भाषणको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तत्कालिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान रक्षार्थ भन्दै २०७३ फागुन २९ गते मेची–महाकाली अभियान अन्तर्गत भैरहवामा गरेको आमसभामा पार्टी अध्यक्ष ओलीले नागरिकता र संविधान संशोधनका विषयमा गरेको भाषण सामाजिक सञ्जालमा भाइरल बनेको हो । साविक लुम्बिनी अञ्चलका ६ वटै जिल्लाबाट ५० हजार बढी कार्यकर्ता र सर्वसाधारण उतारिएको उक्त आमसभामा ओलीले नागरिकता र संविधान संशोधन सम्बन्धी मधेशी मोर्चाको मागको चर्को विरोध गरेका थिए ।

ओलीको भाषण र अहिलेको अध्यादेश ठीक उल्टो भएको भन्दै धेरैले ओलीको राष्ट्रवाद खोक्रो र नक्कली भएको आरोप लगाउंदै भिडियो शेयर गरिरहेका छन् । एमालेले मेची–महाकाली अभियान चलाइरहदा मधेसी मोर्चाले संविधान संशोधन हुनुपर्ने, जन्मसिद्धको आधारमा नागरिकता पाउनुपर्ने लगायतका माग सहित तराईमा आन्दोलन चर्काइरहेको थियो । ओलीले भैरहवाको आमसभामा मधेशी मोर्चालाई लक्षित गर्दै भनेका थिए– ‘उहिले उहिले रानीको जन्म दिनमा केटाकेटीलाई चकलेट बांडिन्थ्यो, नागरिकता चकलेट होइन बोर्डरमा बसेर आउने जतिलाई दिंदै जाने ।’

ओलीले आमसभामा थप गर्जिदैं भनेका थिए–‘बैबाहिक अंगीकृतलाइ भारतमा ७ बर्ष यता नागरिकता मिल्दैन, हामी आउने बित्तिकै दिन्छौं । मन्त्री हुन पांच बर्ष पर्खिनुपर्छ । मधेसी मोर्चाको रडाको केमा छ भने हामीले उताबाट ल्याएका बुहारीले ५ बर्ष किन पर्खिने ? बिहे गरेको भोलिपल्ट मन्त्री हुन पाउनुपर्छ ।’

ओलीले नेपालमा जस्तो नागरिकता प्राप्ती सहज ढंगले वितरण गरेको अन्य देशमा नभएको बताएका थिए । उनले भनेका थिए–‘संसारमा कोहि पनि हुदैंन आइपुग्ने वित्तिकै नागरिकता दिने, कोहि पनि हुदैंन । तर नेपालमा चाहिं हामीले आइपुग्ने वित्तिकै आउनेलाई नागरिकता त दिएका छौं तर आउदा वित्तिकै सांसद,मन्त्री बनाउन सक्दैनौं । ’

नागरिकता जथाभावि बांड्दा सिद्धार्थनगर भैरहवा जस्ता सीमावर्ति शहरमा भोलि नेता पनि सीमापारीकै र मतादाता पनि उतैको हुने भन्दै ओलीले भनेका थिए–‘अब सिद्धार्थनगर नगरपालिकामा सांसद को बनाउनुपर्ने उतैबाट तोकिन्छ, हाम्रो एउटा चेलीको पारिको केटासंग विहे गराईन्छ,अनि त्यो केटालाई सांसद उठाइन्छ, पारिकै मान्छेहरु आएर मतदान गर्छन् अनि त्यो सांसद हुन्छ, त्यो मन्त्री पनि बन्छ । के यहाँ कोही नेपाली योग्य छैनन् ? हामी यो किमार्थ हुन दिंदैनौं । ’ओलीले नेकपा एमालेले नागरिकता विधेयक र संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा पास हुन नदिने बताएका थिए । संविधान संशोधनको प्रस्तावले पहाड र तराइलाई अलग गराउने र नेपालको भौगोलिक अखन्डतालाइ कमजोर बनाउने भन्दै कुनैपनि हालतमा सफल हुन नदिने उनको अडान थियो ।

ओलीको भाषण सुनेर त्यतिबेला ताली बजाउने र ओलीलाई राष्ट्रवादी भनेर गर्व गर्ने एमाले नेता कार्यकर्ता अहिले नागरिकता अध्यादेश आएपछि नाजवाफ बनेका छन् । केही कार्यकर्ताले सत्ता जोगाउनकै लागि आफैले विरोध गरेको विधेयक अहिले ल्याइएको भन्दै विरोध जनाउन शुरु गरेका छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रुपन्देहीका श्रीराम यादव नागरिकता जस्तो संवेदनशील विषय अध्यादेशबाट ल्याइनुलाई संविधानमाथिको बलात्कारको संज्ञा दिंदै आक्रोश पोख्छन् । त्यतिबेला अध्यक्षको भाषणले राष्ट्रियताप्रति गौरव महसुस भएपछि अहिले ठीक उल्टो अध्यादेश आएपछि निराश बनाएको यादवले बताए ।

‘अध्यादेशले मधेशी जनतालाई झन् गुमराहमा पारेको छ,मलाई लाग्छ यो सत्ता जोगाउन मात्र ल्याइएको हो’– यादवले भने–‘संघीय सांसदको दुबै सदनबाट ६ महिन भित्र पारित नभए यो स्वतः निस्कृय हुन्छ ।’ नागरिकता समबन्धी विधेयक संसदबाट नै पारित गरी ऐन बनाएर मात्र कार्यान्वयन गर्नुपर्ने भन्दै यादवले भने–‘तीन वर्षसम्म सरकारमा रहंदा न पार्टीबाट पास गरियो, न सरकारमा दुई तिहाई वहुमत हुंदा संसदबाट पास गरियो, अहिले सरकार ढल्न लागेपछि एकाएक ल्याउनुले नितान्त नाटक सावित गरको छ ।’

नागरिकता अध्यादेशबाट केपी ओलीको राष्ट्रवाद र संविधानप्रतिको ओठेभक्ति उदांगो भएको एमालेका युवा नेता राजु गुरुङ टिप्पणी गर्छन् ।

‘मेची महाकाली अभियानमा म युवा परिचालनको संयोजक थिएं,त्यतिबेला भैरहवाको उहांका भाषणले अध्यक्ष ओली सांच्चिकै राष्ट्रवादी र संविधानप्रति प्रतिवद्ध भएजस्तो लागेकै हो’–गुरुङ भन्छन्–‘तर अहिले प्रधानमन्त्रीको कुर्सी धरापमा परेपछि हिजो आफैले चर्को विरोध गरेको विषयलाई अध्यादेश ल्याएर समाधान खोज्नु राजनीतिक बेइमानी हो,यसले पार्टी कार्यकर्ताको शीर निहुरिएको छ, हामी बोल्न नसक्ने भएका छौं ।’

गुल्मीका एमाले युवा नेता मदन खनालले अध्यक्ष ओलीको उक्त भिडियो फेसबुकमा शेयर गर्दै लेखेका छन्–‘हुँदाहुँदा मधेसी पहाडीको साम्प्रदायिक कुरा छिराएर नागरिकता बिधेयकको बिरोध गर्नेको मुख बन्द गर्ने अभियानमा लाग्नु भएकाहरुलाई यो भिडियोसँगै कुरिकुरी !’
वाम बुद्धिजिवी दिल साहनी नागरिकता जस्तो संवेदनशील विषयमा व्यापक राष्ट्रिय वहस गराएर राष्ट्रिय हित र देशको भविष्यलाई केन्द्रमा राखेर कानून बनाउनुपर्नेमा अध्यादेश ल्याउनु आपत्तिजनक भएको बताउंछन् । ‘अहिले आएको अध्यादेश भारतले चाहे जस्तो हो,यो चानचुने विषय हैन’–साहनी भन्छन्–‘सांच्चिकै दुबै सदनबाट पारित भयो भने यसले नेपालको भविष्य अन्धकार बनाउंछ , भविष्यमा सच्चा नेपाली नै अल्पमतमा पर्ने अवस्था आउंछ ।’

जनता समाजवादी पार्टी रुपन्देहीका नेता महेन्द्र यादव आफ्नो पार्टीले शुरुदेखि नै नागरिकताको माग उठाउँदा सबैभन्दा अनुदार भएर विरोध गर्ने र मधेशी समुदायलाई तल्लो स्तरमा गाली गर्ने प्रधानमन्त्री ओलीले अहिले सरकारमा टिकिराख्ने निहीत स्वार्थले नागरिकता ध्यादेश जारी गर्न लगाएको बताउंछन् । ‘हिजो हाम्रो पार्टी नागरिकता विधेयक र संविधान संशोधन पास गराउन भनेर ओलीको सरकारमा गएकै त हो, दुई तिहाई वहुमत थियो तर उहांले त्यति बेला यी माग किन पूरा गर्नुभएन ?’– प्रश्न गर्दै यादवले भने–‘सत्ता स्वार्थका कारण अध्यादेश आएको हो, यसको निर्देशिका, नियम, विनियम बनाउन ढिला गरेर संसदबाट पास भएन भने के अर्थ हुन्छ ?’ सांच्चिकै मधेशी जनताको नागरिकता समस्या समाधानका लागि अध्यादेश आएको भनेर ओलीका विगतका व्यवहारले विश्वास गर्ने आधार नभएको बरु थुप्रै आशंकाहरु उब्जाएको यादवले बताए ।

सुन्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्