लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनः २ सय ९६ मतदाता


appharu

१३ जेष्ठ २०७८, बिहीबार ०६:११ मा प्रकाशित

दाङ ।
लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन यही जेठ १७ गते दाङको घोराहीमा हुन लागेको छ । निर्वाचन समयतालिका अनुसार जेठ १७ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदान हुने प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ। माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित चन्द्रबहादुर खड्काले पाटी परिवर्तन गरेपछि उनको पद रिक्त भएको छ ।

उक्त रिक्त पदमा अहिले उपनिर्वाचन हुन लागेको कार्यालयका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए। उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ७९ जना र प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख, उपपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष २१७ जना गरी जम्मा २९६ जना मतदाता सहभागी हुँदैछन् ।

प्रदेशका १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एमालेका ९१, कांग्रेसका ६४, माओवादी केन्द्रका ३९, जसपाका १३, जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना रहेका छन्। मतदान घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने भएको छ । मतदानस्थलमा ३ वटा मतदान केन्द्र तोकिएको छ ।

जसमा प्रदेशसभा सदस्यका लागि ‘क’ स्थानीय पालिकाका प्रमुख,उपप्रमुखका लागि ‘ख’ र कोरोना संक्रमित भएका मतदाताहरुका लागि ग गरी छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको पनि निवाचन अधिकारी भट्टराईले जानकारी दिए ।

उपनिर्वाचनमा २ जनाको प्रतिष्प्रर्धा रहेको छ । नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का, र विपक्षी गठबन्धनको तर्फबाट दृग नारायण पाण्डेय चुनावी मैदानमा छन। उनीहरू दुवै जनालाई निर्वाचन कार्यालयले चुनाव चिन्हसमेत प्रदान गरेको छ । जसमा खड्कालाई सूर्य र पाण्डेलाई रूख चिन्ह प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्