लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उप–निर्वाचन आज, कसले जित्ला ?


appharu

१७ जेष्ठ २०७८, सोमबार ०७:१८ मा प्रकाशित

दाङ ।
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि सोमबार उप–निर्वाचन हुँदैछ । घोराही स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान गर्ने समय तोकिएको छ । दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

सोमबार नै नतिजा घोषणा हुनेछ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दीर्घनारायण पाण्डे चुनावी मैदानमा छन् ।

पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ । प्रदेशसभाका ८३ र स्थानीय तहका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्षसहित २१७ जना गरि जम्मा ३ सय जनाले मतदान गर्न पाउने छन् ।

निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगले मतदाता नामावलीमा चारजनाको नाम थपेको थियो । जनता समाजवादी पार्टीका चारजना प्रदेशसभा सदस्यले निर्वाचनमा मतदान गर्न पाउने छन् ।

राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेश सभा तर्फ ७९ जना मतदाता कायम भएकोमा निर्वाचन आयोगको जेठ १६ गते बसेको बैठकले चारजना प्रदेशसभा सदस्यको नाम पुरक मतदाता नामावलीमा समावेस गरेको हो । सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी, कल्पना पाण्डेले मतदान गर्न पाउने भएका हुन् । यता निर्वाचन आयोगले गरेको निर्णयको विरोध गठबन्धले गरेको छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १८ हुन्छ ।

लुम्बिनीमा एमाले र गठबन्धनको उम्मेदवारको बिचमा कडा टक्कर हुने विश्लेषण गरिएको छ । जनता समाजजादी र स्वतन्त्रबाट स्थानीय तहको निर्वाचन जितेकाहरु नै निर्वाचन जिताउने आधार भएको ठान्दै दुवै पक्ष सोही मत तान्न कस्सिएको पाइएको छ ।

लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी ९केन्द्र० ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ३ जना रहेको दाबी गरिएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्यको कुल संख्या ८७ हो । तर, अहिले कायम रहेको संख्या ८३ छ । एमाले गठबन्धनमा ४२ जना सांसद छन् । विपक्षी गठबन्धनका ४१ छन् । नेकपा एमालेका ३८, नेपाली कांग्रेसका १९, माओवादी केन्द्र १९ ९विमला वली सहित०, जसपा महन्थ पक्ष ४, जसपा उपेन्द्र पक्ष २ र राष्ट्रिय जनमोर्चाका १ सांसद लुम्बिनी प्रदेशसभामा छन् ।

प्रतिक्रिया दिनुहोस्