काठमाडौं ।
देशभरका ४६० गाउँपालिकामध्ये आज अर्थात १० असारमा ४१६ वटा गाउँपालिकाले मात्र आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघका अनुसार ४१ वटा गाउँपालिकाले कोरोनादेखि आन्तरिक कलहसम्मका कारण बजेट ल्याउन नसकेका हुन् ।
महासंघका अनुसार ३ वटा गाउँपालिकासँग सम्पर्क हुन नसकेका कारण उनीहरुले बजेट ल्याए नल्याएको विवरण प्राप्त हुन सकेको छैन ।
बजेट नल्याउनेमा सवैभन्दा वढी प्रदेश २ का पालिकाहरु छन् । प्रदेश २ का ५९ मध्ये २१ पालिकाले बजेट ल्याएका छैनन् । प्रदेश १ का ८८ मध्ये ५ पालिका, बागमतीका ७४ मध्ये ४ पालिकाले बजेट ल्याएका छैनन्।
त्यसैगरी गण्डकीका ५८ मध्ये ५ वटाले बजेट ल्याएका छैनन् भने एउटा पालिकाले बजेट ल्याए नल्याएको विवरण संकलन हुन नसकेको महासंघले जनाएको छ ।
लुम्बिनीका ७३ मध्ये दुईवटा पालिका सम्पर्कमा नआएको कारण विवरण प्राप्त हुन नसकेको, कर्णालीका ५४ मध्ये ७ वटा र सुदुरपश्चिम प्रदेशका ५४ मध्ये एउटा गाउँपालिकाले बजेट ल्याएका छैनन् ।
प्रदेश २ का ४ वटा स्थानीय तहले भने चालु आर्थिक वर्षकै बजेट ल्याएका छैनन् । महासंघका अनुसार कतै वाढी पहिरोका कारण कार्यालय संचालन हुन नसकेर बजेट आएन भने कतै कोरोना संक्रमणका कारण बजेट ल्याउन बाधा परेको छ ।
केही पालिकाले भने प्रशासकीय अधिकृत नभएकै कारण बजेट ल्याउन सकेनन् भने कतिपय गाउँपालिकाले आन्तरिक विवादका कारण बजेट ल्याउन नसकेको महासंघले जनाएको छ ।