प्रदेश २ का मुख्यमन्त्रीले दिए बजेट वक्तव्य सच्याउन केन्द्र सरकारलाई चेतावनी


appharu

२० जेष्ठ २०७८, बिहीबार १८:१५ मा प्रकाशित

जनकपुर ।

प्रदेश २ सरकारले केन्द्र सरकारले ल्याएको चुरे क्षेत्रबाट बालुवा, गिटी र ढुङ्गा निकासी गरी व्यापार घाटा घटाउने कदम सच्याउन आग्रह गरेको छ ।

बिहीबार मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ति जारी गर्दै चुरे पहाड प्रदेश २ को रक्षा कवच भएको उल्लेख गर्दै आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख गरिएको बालुवा, गिटी र ढुङ्गाको निकासी बढाउने कदम फिर्ता लिन आग्रह गर्नुभएको हो ।

चुरे क्षेत्रको माटो एकदम कमजोर भएकाले त्यहाँको ढुङ्गा, गिटी र बालुवा निकालिए नदीको बहाव तीव्र भइ मधेशमा बालुवा थुप्रने विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश सरकार मातहत रहेको वन सम्पदाको ठूलो हिस्सा चुरे क्षेत्रमा रहेकाले चुरे दोहनले प्राकृतिक सम्पदाले समेत बासस्थान गुमाउने मुख्यमन्त्री राउतको भनाइ छ ।

केन्द्र सरकारले चुरेको विनास गरेर प्रदेश २ लाखई मरुभूमिकरण गर्न खोजेको मुख्यमन्त्री राउतको आरोप छ । वन विनाश, वातावरणीय सन्तुलन, जैविक विधिताको संरक्षण, पानी मुहानको संरक्षणका साथै प्रदेश २ लाई मरुभूमिकरण हुनबाट जोगाउन प्रदेश सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

साथै मुख्यमन्त्री राउतले नेपाल सरकारको बजेट वक्तव्यलाई नसच्याए तराई मधेशको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिने विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्