जनप्रतिनिधिले मापदण्ड विपरित आफ्ना मान्छेलाई खोप लगाउन दिएपछि विवाद


appharu

२६ जेष्ठ २०७८, बुधबार १७:०२ मा प्रकाशित

बुटवल ।
जनप्रतिनिधिहरुले मापदण्ड विपरित आफ्ना मान्छेलाई खोप लगाउन दिएपछि रुपन्देहीमा कोरोना भाइरस विरुद्धको खोप लगाउन केही ठाउँमा स्थगित भएको छ । जनप्रतिनिधिहरुले आफन्त, पार्टी निकटकालाई खोपमा प्राथमिकता दिएपछि विवाद हुंदा जिल्लाका चार स्थानीय तहमा खोप कार्यक्रम स्थगित भएको हो ।

तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका,ओमसतिया र मर्चवारी गाउंपालिकामा विवादका कारण खोप कार्यक्रम स्थगित भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । आवश्यकता भन्दा कम खोप आएको र जनप्रतिनिधिले आफन्त र कार्यकर्तालाई बढी प्राथमिकता दिएपछि विवाद हुँदा खोप लगाउनै स्थगित गरिएको प्रशासनले जनाएको छ ।

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप जिल्लामा ६२–६४ वर्ष उमेर समूहका १४ हजार ५ सय ५५ जना नागरिकलाई मंगलबारबाट लगाउन शुरु भएको थियो । यो उमेर समूहका नागरिकको संख्या जिल्लामा १८ हजार छ । सबैलाई पुग्ने खोप नआएपछि ३ हजार ४ सय ४५ जना यो उमेर समूहका नागरिक भने खोप लगाउनबाट बञ्चित भएका छन् । ‘तोकिएको उमेर समूहभन्दा बाहिर गएर एक जना वडाअध्यक्षले आफ्ना छिमेकी, आफन्त र कार्यकर्तालाई खोप लगाउन दिएपछि विवाद भयो’–ओमसतियाका एक स्वास्थ्यकर्मीले भने ।

प्रजिअ तामाङले विवादका विषयमा केन्द्र र प्रदेश सरकारलाई जानकारी गराइएको र सहजीकरण प्रयास भइरहेको बताए । मंगलबार जिल्लामा ६९ खोप केन्द्रबाट ८ हजार ९९८ जनालाई खोप लगाइएको थियो । यसमध्ये अधिकांश पालिकामा जनप्रतिनिधिले नै आफन्त र कार्यकर्तालाई प्राथमिकता राखेपछि विवाद उत्पन्न भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले विवाद र खोप अभावमा चार स्थानीय तहमा खोप लगाउन स्थगित गरिएको बताए । सरकारले खोप व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ ।
ओमसतिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ज्ञानेश श्रेष्ठले आफन्त र पार्टी कार्यकर्तालाई सरकारी मापदण्डविपरीत गएर खोप लगाउन दिएपछि त्यहाँ विवाद छ । सरकारले तोकेभन्दा बाहिर गएर खोप कार्यक्रममा सहभागी गराएपछि जिल्ला प्रशासनले उनलाई स्पष्टिकरण सोधेको प्रजिअ तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्