प्रतिमा–निमा स्मृति प्रतिष्ठानले साढे दुई करोडको स्वास्थ्य सामग्री दिंदै


appharu

२ असार २०७८, बुधबार १९:३२ मा प्रकाशित

पालिका पत्र, सिद्धार्थनगर ।
कारोना भाइरस संक्रमण नियन्त्रण र उपचारमा सहयोग पु-याउने रुपन्देहीको भैरहवास्थित प्रतिमा–निमा स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेशका सबै सरकारी अस्पतालहरुलाई स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ ।

प्रतिष्ठानले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पताल तथा अन्य ११ जिल्लाका जिल्ला अस्पतालहरुमा अक्सिजन कन्सन्ट्रेटर ९० थान, अक्सिजन सिलिण्डर ११५ थान, मेडिकल टेन्ट ५ थान, बाईब्याप मेसिन ५ थान, आइसीयू बेड ५ थान, पीपीई सेट २ हजार २ सय थान, सेनिटाइजर १ हजार १ सय ५० लिटर, सर्जिकल माक्स १२ हजार थान, सर्जिकल ग्लोभ्स २ हजार थान, फेस सिल्ड ४ हजार थान, सर्जिकल क्याप ४ हजार थान वितरण गर्ने कार्यक्रम शुरु गरेको छ ।

बुधबार प्रतिष्ठानले लुम्बिनी प्रादेशिक अस्पताललाई २० थान अक्सिजन सिलिण्डर, २० थान अक्सिजन रेगुलेटर, ८ थान अक्सिजन कन्सन्ट्रेटर,२०० थान पीपीई गाउन र २०० थान शु कभर, १२ सय सर्जिकल मास्क, ४५० थान फेस शिल्ड, ४५० थान सर्जिकल क्याप र १२० लिटर स्यानिटाइजर प्रदान गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।

सो कार्यक्रममा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले कोभिडको नियन्त्रण र उपचारमा सहयोग गर्न प्रतिष्ठानले गरेको सहयोगप्रति धन्यवाद र आभार व्यक्त गरे । प्रतिष्ठानले एक महिनाभित्र प्रदेशका सबै जिल्ला अस्पतालमा पुगेर स्वास्थ्य सामग्री वितरण गरिसक्ने निर्देशक धर्म केसीले बताए ।

यस्तै प्रतिष्ठानले रुपन्देहीको रोहिणी गाउँपालिकाले संचालन गरेको आइसोलेशन सेन्टर, शुद्धोधन गाउँपालिकाले संचालन गरेको कोभिड विशेष अस्पताल र सियारी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टरहरुलाई क्रमशः अक्सिजन कन्सन्ट्रेटर १० लिटरको एक–एक थान, अक्सिजन सिलिण्डर ५–५ थान, पीपीई ५०–५० थान, सेनिटाइजर ५०–५० लिटर, सर्जिकल माक्स एक–एक हजार थान, सर्जिकल ग्लोभ्स ५०–५० थान , फेस सिल्ड ५०–५० थान र सर्जिकल क्याप ५०–५० थान प्रदान गरिने कार्यकारी संस्थाकी अध्यक्ष विजया केसीले बताइन् ।

प्रतिष्ठानले रोहिणी गाउँपालिकाको आइसोलेशन सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी र बिरामीका लागि ३ महिनासम्म निःशुल्क खानाको समेत व्यवस्था गरेको र तीन वटै पालिकाका नागरिकहरुको कोभिड–१९ को कारणबाट मृत्यु भएमा प्रत्येक परिवारलार्ई मृत्यु संस्कारका लागि राहत स्वरुप १० हजार रुपैयांका दरले सहयोग गर्ने कार्यक्रम पनि रहेको उनले बताइन् ।

प्रतिष्ठानले गतवर्ष कोभिड–१९ को महामारीलाई मध्यनजर गरी संस्थाको भवनलाई क्वारेन्टिन र होल्डिङ सेन्टर सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई दिएको थियो । बडाहाकिम प्रतिमान चन्द बोहरा र निमा बोहराको स्मृतिमा २०६० सालमा स्थापना भएको संस्थाले तीनवर्षे वन विज्ञान र तीनवर्षे मेडिकल ल्याबरोटरीको अध्यापन गराउनुका साथै शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा शोध अनुसन्धान गर्दै आएको छ । स्वास्थ्य सामग्री सहयोगका लागि प्रतिष्ठानलाई प्रोजेक्ट होप र अमेरिकाको एक संस्थाले समेत सहकार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्