देउवा पाँचौंपटक प्रधानमन्त्री नियुक्त, को हुन् देउवा ?


appharu

२९ असार २०७८, मंगलवार १४:०३ मा प्रकाशित

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको र साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।

‍सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको थियो । साथै, प्रतिनिधिसभा पुनःस्थापना गरी एक साताभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको थियो ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । मंगलबार ५ बजेभित्र देउवालाई नियुक्त गरिसक्न राष्ट्रपति कार्यालयका नाममा जारी परमादेशमा भनिएको थियो ।

सर्वोच्चले संविधानको धारा ७६ को उपधारा २ र उपधारा ३ बमोजिमको प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले उपधारा ५ बमोजिम दाबी गर्न नमिल्ने आदेश पनि दिएको थियो ।

प्रधानमन्त्री नियुक्त भएपछि देउवाले तीनजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कांग्रेस र सत्तासाझेदार दलहरु माओवादी र जसपाबाट १(१ जना मन्त्री नियुक्त गर्ने देउवाको तयारी रहेको छ ।

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र देउवा दुवैको दाबी नपुगेको निर्णय गरेकी थिइन् । उनले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले प्रधानमन्त्री पदमा नियुक्ति गर्न नमिल्ने बताएकी थिइन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा एमाले माधव नेपाल समूहका २६, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई समूहका १२ र जनमोर्चाका १ गरी १४९ सांसदको समर्थन आफूलाई भएको दाबी गरेका थिए । ओलीले पनि एमालेका सबै १२१ र जसपाका ३२ सांसद गरी आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।

राष्ट्रपतिले जेठ ७ गते राति नै मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसपछि एमालेको खनाल(नेपाल समूहसहित कांग्रेस, माओवादी, जसपाको यादव समूह र जनमोर्चाका गरी १४६ सांसदले प्रतिनिधिसभा पुनस्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

को हुन् देउवा ?

शेरबहादुर देउवा वि.स‌. २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका हुन्। उनले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिएका थिए। उनले स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई अगाल्न थालिसकेका थिए।

एलएसली दिएपछि देउवाले उच्च शिक्षाको लागि भारत नगइ वि.स‌‍. २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भए। यसपछि उनी नेविसंघभित्र राजनीतिमा सक्रिय भए। यसक्रममा उनले विभिन्‍न समयमा पटक पटक पक्राउ परे। 

नेविसंघमा सक्रिय भएर काम गरिरहनु भएका देउवा विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भए। नेविसंघको नेतृत्वमा आएपछि उनले आफ्नो राजनीतिकलाई जन सशक्त रुपमा अगाडि बढाए।

विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाउनु भएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्‍मेवारी दिएर खटाएका थिए। त्यतिबेला उनी भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरा पुगेका थिए।

जब वि‌‌.सं. २०४६ मा नेपाली कांग्रेसले देशमा पहिलो जनाअन्दोलन अगुवाइ गर्‍यो त्यतिबेला देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्‍ययन गरिरहेका थिए। यसपछि २०४७ सालमा जनाअन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं ओर्लिए।

२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बने। गृहमन्त्री बनेको पाँच वर्षभित्रै उनी मुलुकको प्रधानमन्त्री बने। राजनीतिको धेरै उतार चढाव खेप्‍नु भएका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उनले किशुनजी र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाउनु भएको थियो। कोइरालाले अघि बढाएका देउवाले पार्टीको दशौ पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिए। २०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्‍मेदवारी दिनुभएको थियो तर हार व्‍यहोर्नुपर्‍यो।

त्‍यतिबेला देशमा माओवादी जनयुद्धले पक्कड जमाइ सकेको थियो। कांग्रेसमा राजा र सेनाको असहयोग पनि बढ्दै गउको थियो भने एमालेले ५७ दिनसम्मको संसद घेराउ गरेको थियो जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असार राजिनामा दिएका थिए। यसपछि फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उनी पुन: कांग्रेस संसदीय दलको उम्मेदवार बने। सुशील कोइरालालाई हराएर नेता बने। संसदमा पार्टीको बहुमत भएकाले उनी दोस्रोपटक प्रधानमन्त्री भए।

राजनीतिक घटनासँगसँगै विंस‌ २०६१ साल माघ १९ गते ज्ञानेन्द्रले ‘शाही कू’ मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिए। त्‍यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्र विरुद्ध जनान्दोलनको तयारीमा थिए। संसद पुनर्स्थापनापछि गिरिजाप्रसाद पुन: एक पटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आए। यसपछि देउवा कोइरालासँग पार्टी एकीकरण गरेर मूल पार्टीमै फर्किए।

नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा वि‌.सं. २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय भएका हुन्।

प्रतिक्रिया दिनुहोस्