सैनामैनाका गोविन पुन भ्वाइस अफ नेपालको टप ११ मा सुरक्षित, टिम दीपका जेनिश राई बाहिरिए


appharu

१ श्रावण २०७८, शुक्रबार २२:५४ मा प्रकाशित

पालिका पत्र/बुटवल ।
राष्ट्रियस्तरको रियालिटी शो गायन प्रतियोगिता भ्वाइस अफ नेपालको टप १२ मध्येबाट रुपन्देहीको सैनामैनाका गोबिन पुनसहित ११ जना सुरक्षित भएका छन् । गत हप्ताबाट शुरु भएको भोटिङ राउण्ड अन्तर्गत शुक्रबार सम्पन्न प्रस्तुतिबाट दर्शकबाट सबै भन्दा मत पाएर जेनिश राई बाहिरिएका छन् । राई टिम दीपका हुन् । उनले २० हजार नगद पुरस्कार हात पारेका छन् । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे प्रशारण हुने यो प्रतियोगितामा अब टिम दीपबाट गोबिन पुन र आर्यन तामाङ छन् ।

यस्तै टिम प्रमोदबाट किरण गजमेर,निहारिका ज्ञवली र रवि गहतराज, टिम राजुबाट विजय ठाडा,सोनाम शेर्पा र तारा श्रीस तथा टिम तृष्णाबाट ज्वाला राई,अफ्रिता खड्गी र कर्णराज गिरी टप ११ मा पर्न सफल भएका छन् । अब यी ११ जनामध्ये दर्शक भोटका आधारमा हरेक हप्ता एक एक जना बाहिरिंदै जानेछन् । २०५६ सालदेखि संगीत क्षेत्रमा लागेका गोबिनले यसअघि कुनै गायन र रियालिटी शो प्रतियोगितामा भाग लिएका थिएनन् । तर म्युजिक कम्पोजर र एरेन्जरको रुपमा संगीत क्षेत्रमै क्रियाशील भने थिए । आफ्ना साथीभाइको आग्रह अनुसार भ्वाइस अफ नेपालको सिजन ३ मा भाग लिएको गोबिनले बताए । ‘यस अघि कुनै रियालिटी शो र गायन प्रतियोगितामा भाग लिएको थिइन’–गोबिनले भने–‘साथीहरुले एकचोटी प्रयास गर भन्नुभयो, अनि भाग लिएं ।’ यतिका वर्ष संगीतमा लागेपनि तेरो बाबाले के ग¥यो भनेर साथीभाई र आफन्तले आफ्नो छोरालाई सोध्दा छोराले के जवाफ देला भन्ने सोंचेर पनि आफूले यो प्रतियोगितामा भाग लिएको गोबिनले खुलाए । आफूलाई विजेता बन्ने भन्दा पनि संगीतप्रेमी दर्शक स्रोताको मन जित्नु ठूलो र महत्वपूर्ण उपलब्धी हुने उनको तर्क छ ।

‘ट्रफी भन्दा दर्शक स्रोताको मन जित्न सकें भने त्यो नै मेरो लागि ठूलो उपलब्धी हुनेछ’–गोबिनले भने–‘अब दर्शकको भोट नै निर्णायक हुन्छ,दर्शक–स्रोताले न्याय गर्नुहुन्छ भन्ने विश्वास छ ।’ म्याग्दीको सिस्नेरी पुख्र्यौंली घर भएका गोबिनको परिवार पोल्ट्री फार्म चलाउन पोखरामा बस्छन् तर उनी भने संगीतप्रतिको लगाव र समर्पणका कारण पोखरा नगई बुटवलमै रहेर म्युजिक कम्पोज र एरेन्जरको काममा क्रियाशील रहेका थिए । त्यही क्रममा भ्वाइस अफ नेपाल सिजन ३ शुरु भएपछि चार महिनादेखि गोबिन परिवारसहित काठमाडौंमा छन् । गोबिनलाई नजिकबाट चिन्ने सैनामैना मुर्गियाका युवा खिम श्रेष्ठले गोबिन सानैदेखि गायन र संगीतमा समर्पित भएर लागेका तर बाहिर एक्सपोज नभएका प्रतिभा भएको र यसपटक भ्वाइस अफ नेपालको उपाधि जित्ने विश्वास व्यक्त गर्छन् ।

प्रतिक्रिया दिनुहोस्