ठाकुर–महतो पक्षमा लागेका पांच सांसद उपेन्द्र–बाबुराम पक्षमा

संसदीय दलमा पनि वहुमत


appharu

२ श्रावण २०७८, शनिबार १५:०६ मा प्रकाशित

पालिका पत्र, काठमाडौं ।
जनता समाजवादी पार्टी जसपाको महन्थ ठकुर–राजेन्द्र महतो पक्षमा लागेका पाचजना सांसदले उनीहरुको साथ छाडेका छन् । ठाकुर महतो समूहबाट विद्रोह गरेर सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही नाज उपेन्द्र–बाबुराम पक्षको संसदीय दलको शनिबारको बैठकमा सहभागी भएका छन्।

पार्टी कार्यालय बालकुमारीमा बसिरहेको जसपा संसदीय दलको अनौपचारिक बैठकमा ठाकुर–महतो पक्षका पांचजना सांसदहरु सहभागी भएका सांसद इस्तियाक राईले जानकारी दिए । उक्त समूहबाट अन्य सांसदहरु पनि आफ्नो समूहमा आउने तयारी रहेको सांसद राईले बताए । पांचजना आफ्नो पक्षमा आएपछि संसदीय दलमा पनि आफूहरुको स्पष्ट वहुमत पुगेको उपेन्द्र(बाबुराम पक्षको दाबी छ । प्रमोद साहले भने- ठाकुरजीहरु लोकतन्त्र सिध्याउन लाग्नुभयो । राजावादीसँग मिल्नुभयो । केपी ओलीलाई नेता मानेर हिँड्नुभयो । त्यसैले हामीले साथ दिन सकेनौं । मसहित ६/७ जना साथीहरु उपेन्द्रजीसँग लाग्ने तयारीमा छौं ।

जसपाका ३४ मध्ये २ जना सांसद निलम्बित छन् । बाँकी ३२ मध्ये राष्ट्रपति समक्ष जाने बेला उपेन्द्र यादव पक्षका १२ जना सांसदले शेरबहादुर देउवालाई समर्थन जनाएका थिए भने ठाकुर-महतोको पक्षमा २० जना सांसद थिए ।

जसपा विवादबारे निर्वाचन आयोगले इजलाससमेत गठन गरेको छ। आयोगले गठन गरेको इजलास आइतबार बस्दै छ। पार्टीको कार्यकारिणी समितिमा पनि उपेन्द्र बाबुराम पक्षको वहुमत छ ।

प्रतिक्रिया दिनुहोस्