कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने तयारी


appharu

४ श्रावण २०७८, सोमबार १६:५४ मा प्रकाशित

काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताउनुभयो ।

बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको जानकारी पाएको बोर्डका अध्यक्ष पौडेलले बताउनुभयो ।

बोर्डको बैठकले निर्णय गरे अनुसार परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने तयारी थालेको छ । गत जेठ २६ गते तय भएको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।

माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षो राष्ट्रिय परीक्षा बोर्डले यो पटक सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै गराउने तयारी गरेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्