बुटवल र तुल्सीपुरको उपमेयरमा गुरुङ र राना उम्मेदवार


appharu

९ बैशाख २०७९, शुक्रबार १४:०७ मा प्रकाशित

पालिकापत्र
बुटवल । नेकपा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुर उपमहानगरपालिकाको उपमेयर उम्मेदवारमा क्रमशः चिनबहादुर गुरुङ र जोगबहादुर रानालाई उम्मेदवार हुने भएका छन् । उनीहरुको नाम पार्टी केन्द्रबाट अनुमोदन भएर आइसकेको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले बताए । बुटवलको उपमेयरमा सिफारिस गुरुङ पार्टीका बुटवल नगर अध्यक्ष हुन् । अघिल्लो निर्वाचनमा उनी बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए । गुरुङ नेपालकै ठूलो यातायात मजदुरको संस्था यातायात मजदुर तथा व्यवसायी भलाई कोषका पुर्व अध्यक्ष समेत हुन् । गुरुङ सरल र इमान्दार नेताका रुपमा परिचित छन् ।
तुल्सीपुरको उपमेयरमा सिफारिस राना तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका पुर्व जिल्ला अध्यक्ष, एमाले पार्टीको जिल्ला सचिव,उपाध्यक्ष र कार्यवाहक अध्यक्ष भइसकेका व्यक्ति हुन् । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज छन् ।
लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुरमा उपमेयर पाएको थियो । बुटवलमा मेयर कांग्रेसको भागमा परेको छ । यस्तै तुल्सीपुरको मेयर कांग्रेसको भागमा परेको छ । कांग्रेसले दुबै उपमहानगरको मेयरको उम्मेदवार टुंगो लगाउन सकेको छैन । बुटवलमा खेलराज पाण्डेको एकल नाम सिफारिस भएकाले उनी उम्मेदवार हुने निश्चित जस्तै छ ।

प्रतिक्रिया दिनुहोस्