तिलोत्तमामा एकीकृत समाजवादीको आकर्षक प्रतिबद्धता : ट्याक्स फ्रि , सरकारी स्कूलमा शुल्क लिन बन्देज र सिटी कार्ड लागु गरिने


appharu

१८ बैशाख २०७९, आईतवार १५:३२ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । नेकपा एकिकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको छ । स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरि नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्रि ) बनाउने योजना सार्वजनिक गरेको हो ।

एकिकृत समाजवादीले तिलोत्तमा नगरपालिकामा मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जिव भण्डारीलाई उम्मेद्वार बनाएको छ । पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै कार्यपालिकाको बैठकहरु रेडियो, टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने उल्लेख गरेको छ । नगरप्रमुख र उपप्रमुखले हाल सुविधा लिदै आएको गाडी, नेपाल प्रहरी र एम्बुलेन्स सञ्चालनका लागि प्रयोग गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । नगरपालिकाका पदाधिकारीले आफ्नै निजि साधन प्रयोग गर्ने तिलोत्तमाको प्रतिबद्धता छ ।

त्यसैगरि नगरमा रहेको बैंकमा नगरपालिकाले पैसा राखेवापत ब्याज दिन नसके पनि संस्थागत सामाजिक दायित्व अन्तर्गत नगरपालिकाले बनाउने ठूला संरचना बनाउनुपर्ने शर्त अघि सारेको छ ।

समाजवादीले तिलोत्तमा नगरमा सरकारी सामुदायिक विद्यालयले अग्रेजी माध्यमको वाहनामा शुक लिन नपाउने ब्यवस्था गर्ने जनाएको छ । संस्थागत विद्यालयले लिने शुल्क र गुणस्तर लेखाजोखा गर्ने, शिक्षाको विकासका लागि आवश्यक बजेट छुट्याउने योजना राखेको उपमेयरका उम्मेद्वार इञ्जिनियर सञ्जिब भण्डारीले बताए । उनका अनुसार तिलोत्तमा वडा न. १३ र १४ मा इञ्जिनियरिङ कलेज, १०÷११ मा कृषि क्याम्पस सञ्चालन गरिनेछ । त्यस्तै तिलोत्तमा नगरपालिकाले हालै निर्माण गरेको वनवाटिका स्थित भ्यू टावरलाई व्यवस्थपन कलेज बनाउने उनले बताए ।

त्यसैगरि तिलोत्तमा नगरपालिकाका नागरिकहरुलाई सिछि कार्ड बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ । नगरपालिकाले प्रदान गर्ने सेवा, सार्वजनिक यातायात, स्वास्थ्य सेवा र अन्य सुविधामा छुट दिने जनाइएको छ ।

तिलोत्तमा सञ्चालित रोजगारी प्रदान गर्ने उद्योगलाई कर मिनाहा, बेरोजगार र सिप खोज्ने युवा विद्यार्थीहरुलाई मासिक १० हजार तलब दिएर तालिम दिने व्यवस्था गर्ने मेयरका उम्मेदवार आशाकुमारी चौधरीले बताईन । उिनले तिलोत्तमा क्षेत्रको मौलिकता र सस्कृतिको संरक्षमा समेत बिशेष ध्यान दिने बताईन । उनका अनुसार बृद्ध भत्ता, एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षाका रकमहरु महिना महिनामा वितरण गरिनेछ । अव्यवस्थित बसोबास भएका र सुकुम्बासीहरुलाई न्यूूनतम राजस्वमा तिरेर स्वामित्व प्रदान गर्न पहल गर्ने प्रतिबद्धता पत्रमा छ ।

शिक्षा स्वास्थ्य र रोजगारी, कृषि र पूर्वाधारमा समेत नागरिकको आवश्यकता अनुसार बनाउने योजना अघि सारेको छ । नेकपा एस तिलोत्तमामा गठबन्धन कायम नगरि निर्वाचनमा होमिएको छ ।

प्रतिक्रिया दिनुहोस्