यस कारण शिवराजमा गठबन्धनलाई भोट


appharu

२१ बैशाख २०७९, बुधबार ०८:१३ मा प्रकाशित

पालिकापत्र, शिवराज ।
एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले शिवराजमा कृषि, स्वास्थ्य र शिक्षालाई बढी प्राथमिकतामा राखेको छ ।

बामपन्थी चुनावी गठबन्धन आफ्ना एजेन्डा सहित समृद्ध नगर बनाउनको लागि घरदैलोमा मत माग्न व्यस्त देखिन्छ ।
गठबन्धनका कलम चिन्हका मेयर पदका उम्मेद्वार क्षेत्र बहादुर खत्रीले शिवराजका विकास र समृद्ध नगर बनाउन जनताले गठबन्धनलाई जिताउनुपर्ने बताए ।

‘सफा सोच, सही नेतृत्व, सुशासन र विकाससँगै समृद्ध नगर हाम्रो अभियान’ नारा तय गरि निर्वाचनमा होमिएको भन्दै मेयरका उम्मेद्वार खत्रीले परिकल्पनाहरूलाई यर्थाथतामा जोड्न सफा सोच र सही नेतृत्व आउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य, शिक्षा र कृषिलाई मुख्य प्राथमिकता दिएको उनले बताए । नगरमा राम्रो अस्पताल नहुँदा नागरिकहरूलाई धेरै समस्या भइरहेको बताउँदै स्थानीय तहको मातहतमा रहने गरी अस्पताल निर्माण गर्ने बताए ।

डाक्टरहरूलाई विशेष सुविधा सहित १५ जना स्वास्थ्यकर्मी भर्ना गरी नागरिकहरूको सेवामा लगाइने चुनावी प्रतिबद्धता पत्रमा उल्लेख रहेको छ । शिक्षामा पछाडि रहेको शिवराजमा गुणस्तरीय शिक्षा प्रदान गरी शिक्षक अभाव भएको ठाउँमा व्यवस्थापन गरिने खत्रीले बताए ।

कृषि क्षेत्रमा भएका समस्यालाई समाधान गरिने उनले बताउनुभयो । मल बीउ पल लगायत कृषि सामग्रीहरु समयमा उपलब्ध नहुँदा कृषकहरू चिन्तित रहेकोले यसको समाधानको लागि नगरपालिका ठोस निर्णय गर्ने बताए ।

सहज र सरल माध्यमबाट कृषकहरूले विपल मल पाउने वातावरण सिर्जना गरिने उनले जनाए । नगरमा भौतिक पूर्वाधार, रोजगारी, बजार व्यवस्थापन, खानेपानी, सञ्चार, युवा खेलकुद, पर्यटन, कर व्यवस्थापन लगायतका विषयलाई जोड दिइने उनको भनाई छ ।

मेयरका उम्मेद्वार खत्री र उपमेयरका उम्मेदवार पुनले संयुक्त रूपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । उप-मेयरका उम्मेदवार पुनले निर्वाचित भए पश्चात् प्रतिबद्धता पुरा गर्ने बताए । महिला, दलित सुकुम्वासी लगायतका धेरै समस्या रहेकोले यी समस्या समाधानको लागि पहल गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्