तिलोत्तमा– ६ र १४ मा जनमुक्तिको प्रतिवद्धता : भ्रष्टाचारमुक्त वडा, नदी दोहन नियन्त्रण र सुकुम्बासीको व्यवस्थापन


appharu

२३ बैशाख २०७९, शुक्रबार १९:५८ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । भ्रष्टाचार निर्मूल गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्दै राष्ट्रिय जनमुक्ति पार्टीले तिलोत्तमा नगरपालिकामा चुनावी सभालाई निरन्तरता दिएको छ । यसैबीच चुनावी अभियान अन्तर्गत वडा नं ६ मा वडा अध्यक्ष उम्मेदवार राधिका श्रीसमगरको टिमले घरदैलो गरेको छ । सो क्रममा अध्यक्षकी उम्मेदवार श्रीसले वडालाई प्रशासनिक भ्रष्टाचारमुक्त बनाउने,विज्ञहरुको राय सुझावको आधारमा विकास निर्माण कार्य अघि बढाउने,तिनाउ नदी उत्खनन् व्यवस्थित गर्ने बताइन् । वडा अध्यक्ष उम्मेदवार श्रीस नेपाल मगर महिला संघकी नगर अध्यक्ष,आदिवासी जनजाति युवा महासंघकी केन्द्रीय सचिव र पार्टीको नगर उपाध्यक्ष हुन् । श्रीसले महिला हिंसा विरुद्धको आन्दोलन र अन्यायमा परेका समुदायको पक्षमा निरन्तर संघर्ष गर्दै आएकी छन् ।
यस्तै जनमुक्ति पार्टीबाट वडा नंं १४ का उम्मेदवार भोमबहादुर बुढा मगरले पार्टीले अघि सारेको भ्रष्टाचार निर्मूल गर्ने नीति अनुसार काम गर्ने बताए । उनले वडा नंं १४ लाई अर्गानिक कृषि वडा बनाउने,कृषकको उत्पादन बजारीकरण र कोल्डस्टोर स्थापना गर्ने, तिनाउ नदीको दोहन रोक्ने,विद्यालयको शैक्षिक स्तर र भौतिक पुर्वाधार सुधार तथा सुकुम्बासी समस्या समाधान गर्न पहल गर्ने बताए । भोमबहादुर यसअघि वडा सदस्य निर्वाचित थिए । उनी विभिन्न सामाजिक काममा सक्रिय छन् ।
तिलोत्तमा नगरपालिकामा एक्लै चुनाव लडेको राष्ट्रिय जनमुक्ति पार्टीले मेयर र उपमेयरसहित १७ वटा वडा मध्ये १६ वडामा अध्यक्ष सहित सबै पदमा उम्मेदवारी दिएको छ ।
पार्टीले तिलोत्तमाको सबै वडाहरुमा पुगेर मतदाता शिक्षा सहित चुनावी अभियान तीब्र बनाएको जनमुक्ति युवा महासंघका अध्यक्ष शंकर गाहाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्