दोस्रो कार्यकालका लागि दोहोरिएका कपिलवस्तुका यी पालिका प्रमुख


appharu

१४ जेष्ठ २०७९, शनिबार ०७:४२ मा प्रकाशित

पालिकापत्र, वाणगंगा ।
१० स्थानीय तह रहेको कपिलवस्तुका सबै पालिकाको अन्तिम मत मतपरिणाम आइसकेको छ ।

गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम आइ पुग्दा नेपाली कांग्रेसले चार पालिका, नेकपा (एमाले) ले तीन पालिका, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एकरएक पालिकाको प्रमुखमा जित निकालेका छन् ।

जिल्लामा ६ पालिकाको प्रमुखमा नयाँ अनुहार आउँदा चार पालिकाका प्रमुख भने पुरानै अनुहार दोहोरिएका छन् ।

गएको ०७४ सालमा पालिका प्रमुख भएर ५ बर्षे कार्यकाल विताएका चार जना जनप्रतिनिधि पुनः दोस्रो कार्यकालका लागि प्रमुखमा दोहोरिएका हुन् ।

दोस्रो कार्यकालका लागि दोहोरिने जनप्रतिनिधिमा नेपाली कांग्रेसका धेरै छन् । नेपाली कांग्रेसबाट निर्वाचित बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ, कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह, महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँ दोस्रो कार्यकालका लागि प्रमुखमा दोहोरिएका हुन् ।

नेकपा (एमाले) बाट विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा पुनः दोस्रो कार्यकालका लागि दोहोरिएका छन् ।

०७४ मा नेपाली कांग्रेसले कपिलवस्तुका ५ पालिका प्रमुख जितेको थियो भने, स्वतन्त्र रुपमा निर्वाचित रजत प्रताप शाह कांग्रेस प्रवेश गरेपछि ६ पालिका भएको थियो ।

६ पालिका प्रमुख मध्ये कांग्रेसले अहिलेको निर्वाचनमा ४ पालिकामा दोहोराएर उम्मेद्वार बनाएको थियो । वाणगंगा नगरपालिका र यशोधरा गाउँपालिकाको प्रमुख मात्र कांग्रेसले दोहोराएन् ।

पुनः दोहोरिएका मध्ये कपिलवस्तु नगरपालिकाका प्रमुखका उम्मेद्वार किरण सिंह पराजित हुन् पुगे भने अन्य तीन पालिकामा प्रमुख पुनः निर्वाचित भएका हुन् ।

कांग्रेसबाट पुनः दोस्रो कार्यकालका लागि दोहारिएका महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँले एमाले उम्मेद्वार रामदास चौधरीलाई हराए ।

खाँ १० हजार २ सय मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी चौधरीले ८ हजार ६ सय ६८ मत पाए ।

बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले पनि एमालेकै उम्मेद्वार पीताम्बर खनाललाई पराजित गरे । श्रेष्ठले १४ हजार ३ सय ८४ मत ल्याएर विजयीको माला लगाउँदा १३ हजार ५ सय ९६ मत पाएर खनाल पराजित भए ।

कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह ५ हजार ६ सय ६ मतका साथ प्रमुखका विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका दिपक रजौरिया ४ हजार १ सय १२ मत पाएर पराजित हुन पुगे ।

नेकपा (एमाले) बाट विजयनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित गोपाल थापाले ५ हजार ८ सय ३८ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी जानकी यादवले ५ हजार ३ सय ३४ मत पाएर पराजित हुन् पुगे ।

प्रतिक्रिया दिनुहोस्