शिक्षकले आफुखुसी विद्यालय बिदा घोषणा गरेपछि निरिह बन्यो बाणगंगा नगरपालिका


appharu

२५ जेष्ठ २०७९, बुधबार ०९:११ मा प्रकाशित

पालिकापत्र, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका विद्यालयहरुले नगरको स्विकृति बिना नै गर्मी बिदाको घोषणा गरेका छन् ।

नगरको शिक्षा, युवा तथा खेलकुद शाखाको अनुमति विपरित बाणगंगामा शिक्षकहरुले विद्यालयमा गर्मी बिदाको घोषणा गरेका हुन् ।

गर्मी बिदा दिने की नदिने भन्नेबारे बाणगंगा नगरपालिका र नगर भित्रका शिक्षक बीच द्धन्द्ध थियो । पटकपटक शिक्षकहरुले गर्मी बिदा गर्न दबाब बढाए पनि नगरपालिकाले बिदा नगर्ने अडान लिए पछि शिक्षकहरुले बुधबार देखि ६ दिने गर्मी बिदाको घोषणा गरे पछि दुबै पक्ष बीच द्धन्द्ध बढेको हो ।

मंगलबार शिक्षकहरुको साझा संगठन नगर शिक्षा महासंघ, शिक्षकहरुका विभिन्न संघ, संगठन र प्याब्सन बीच बुधबार देखि ६ दिनसम्म गर्मी बिदा गर्ने सहमति गरेका थिए ।

उक्त सहमति अनुसार बुधबार नगरभित्रका सबै विद्यालय बन्द भएका छन् ।

शिक्षकहरुले आफुखुसी विद्यालय बन्द गरेपछि बाणगंगा नगरपालिका आक्रोशित बनेको छ । नगरपालिकाले बुधबार नै नगरभित्रका राजनीतिक दल र सबै विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसंग छलफलका लागि बैठक आह्वान गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरको अनुमति बेगर बाणगंगामा विद्यालय बन्द हुनु दुखत भएको प्रतिक्रिया दिएका छन् । माध्यमिक तहसम्मको शिक्षा नगर मातहत भएको भन्दै कानुनै हातमा लिएर अगाडी बढ्न खोज्नुलाई सोही अनुसार जवाफ दिइने उनले बताए ।

‘बिदाबारे नगरपालिकाले शैक्षिक क्यालेण्डर बनाएको छ । बर्षमा चार पटक बिदा दिने प्रावधान छ । गर्मी बिदाबारे छलफल हुँदै थियो । मंगलबार बिदा गरौं भन्दै शिक्षकहरु नगरपालिका आउनुभएको थियो । मेयर साव तौलिहवा कामले जानु भएको र आए पछि छलफल गरौंला भन्दा भन्दै शिक्षक साथीहरुले पर्खन सक्दैनौं भन्दै उठेर हिड्नुभयो, नगरका प्रमुख प्रशासकीय अधिकृत पन्थीले बिद्यालय बन्द बारे प्रतिक्रिया दिदैं भने,–‘कानुन नै हातमा लिएर के गर्न खोजिएको हो हामी छलफल गर्दै छौं ।’

नगरभित्रका बिद्यालयमा बिदा गर्ने नगरको अधिकार भएको उनको भनाई छ ।

यता बाणगंगाका शिक्षकहरुले नगरपालिकाले गर्मी बिदा दिन अटेरी गरेको आरोप लगाएका छन् । एक शिक्षकले पालिकापत्र संग भने,–‘नगरका मेयर, उप–मेयर, हाकिम लगायत एसीमा बस्छन् । उनीहरुलाई के थाहा टिनको छानामुनि विद्यार्थीले पढ्ने गरेको पीडा ? दिनहुँको चर्को गर्मीले विद्यार्थी मारमा छन् । पटक पटक बिदा गरौं भन्दा नगरले मानेन् । नगरले बनाएको क्यालेण्डर अनुसार नै हामीले गर्मी बिदा दिएका हौं ।’

प्रतिक्रिया दिनुहोस्