लुम्बिनीका १२ जिल्ला समन्वय समितिमा कहां कस्को पल्ला भारी ?


appharu

३० जेष्ठ २०७९, सोमबार १६:३१ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु ।
लुम्बिनीका १२ जिल्ला मध्ये ८ वटा जिल्लामा जिल्ला समन्वय समितिको नेतृत्व चयन भएको छ । जसमा कांग्रेस पहिलो बनेको छ ।

अर्घाखाँची
जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
पाँचदलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाई एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन ।
जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता जिवनारायण कोइराला निर्विरोध चयन भएका छन् । कोइराला नेकपा एमाले प्रदेश कमिटीको सदस्य समेत रहेका छन् ।
यसैगरी उपप्रमुखमा लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवाली तत्कालीन नेकपा माओवादी केन्द्रबाट नेकपा हुंदै एमालेमा रहेकी हुन् ।
समन्वय समितिको खु्ल्ला सदस्यमा कमल घिमिरे , झुपलाल खनाल र सन्धिखर्क–७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् ।
महिला सदस्यमा टुल्कादेबी आचार्य, डालकुमारी भण्डारी, सीता आचार्य भएका छन् । दलित–अल्पसंख्यक सदस्य पदमा मिना बिसी परियार चयन भएकी छन् ।
जिल्लाका ६ वटा पालिका मध्ये एमालेले ३ वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुईवटा पालिकामा उपप्रमुख जितेको थियो ।
समन्वय समिति गठनको निम्ति आवश्यक १२ मत मध्ये नेकपा एमालेको आठ, नेपाली कांग्रेसको दुई, राष्ट्रिय जनमोर्चाको एक र नेकपा माओवादी केन्द्रको एकमत थियो ।
रुकुम पुर्व
जिल्ला समन्वय समिति रुकुमपुर्वमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
समन्वय समितिको प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी निर्विरोध भएका छन् । श्रेष्ठ नेकपा (माओवादी केन्द्र)बाट र केसी नेकपा (एकीकृत समाजवादी) का हुन् । प्रमुखसहित अन्य सात सदस्य सबै माओवादी केन्द्रबाट रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्यहरूमा महिला सदस्यमा बिन्दु रावल, विष्णु रोका, प्रतिमा पुन, दलित तथा अल्पसङ्ख्यकबाट कल्पनाकुमारी सुनार तथा अन्य सदस्यमा बलकर्म बुढा, महिमान रोका र लालजीत बुढा छन् ।
रुकुम पूर्वमा तीन पालिका छन् ।

कपिलवस्तु
स्थानीय निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा गएका सत्तारुढ ५ दलको कपिलवस्तुमा जिल्ला समन्वय समिति बनाउन स्पष्ट बहुमत थियो । तर नेकपा एमाले नेतृत्वको लोसपा र राप्रपा गठबन्धनले बाजी मारेको छ । १० पालिका रहेको जिल्लामा जिससका लागि २० मत रहेकोमा कांग्रेस, माओवादी, जसपाको गठबन्धनमा ११ मत रहेको थियो भने एमाले, लोसपा र राप्रपाको गठबन्धनमा ९ मत रहेको थियो ।
शुक्रबार भएको मतदानमा प्रमुख पदमा एमालेका बाबुराम आचार्य र कांग्रेसका ज्ञानबहादुर कार्कीले १० बराबर मत ल्याएका थिए । पछि गोला थुतेर टुंगो लगाउँदा एमालेका आचार्य विजयी भए । उपप्रमुखमा एमाले नेतृत्वको गठबन्धनका उम्मेदवार लोपपाका रमेश कुर्मीले ११ मत पाएर विजयी भए ।
सत्तारुढ गठबन्धनबाट प्रमुखमा कांग्रेसका ज्ञानबहादुर कार्की र जसपाका वीरेन्द्र प्रताप गडेरियाले उपप्रमुखमा उम्मेदवारी दिएका थिए ।

बराबर मत आएका समितिका ७ जना सदस्य पनि गोलाप्रथाबाट निर्वाचित गरिएको छ । जसअनुसार नेपाली कांग्रेसका सुनिता चमार, मनोहर धुनिया, माओवादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी र जसपाका रामु अहिर सदस्यमा निर्वाचित भए भने एमालेकी सकुन्तला भण्डारी, सुमित्रा दमै र जसपाकी सन्ध्या पौडेल खां पनि सदस्यमा निर्वाचित भएका छन् । सदस्यहरुमा पनि सबैको १०/१० मत आएपछि गोलाप्रथाबाट निर्वाचित गरिएको हो ।

रोल्पा
जिल्ला समन्वय समिति रोल्पाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी सीता आचार्य निर्वाचित भएकी छिन् । यहां माओवादी एक्लै चुनाव लडेको हो । आइतबार सम्पन्न निर्वाचनबाट प्रमुखमा आचार्य र उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका छन् । आचार्य लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीकी श्रीमती हुन् । घर्ती रुकुम पुर्वका हुन् ।
समन्वय समितिको सदस्यमा नेकपा माओवादी केन्द्रको तर्फवाट ईन्द्रबहादुर रोका, केवल प्रसाद घर्ती र शेरवहादुर पुन निर्वाचित भएका छन् ।
दलित वा अल्पसंख्यक सदस्यमा नेकपा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छिन । महिला सदस्यमा सोही पार्टीका जीतकुमारी विक, मीना सुनार र शर्मिला पुन मगर निर्वाचित भएका छन् ।
२० मतदाता रहेको रोल्पामा नेकपा माओवादी केन्द्रको १४, नेपाली कांग्रेसको ५ र नेकपा एमालेको १ मतदाता रहेका थिए ।
उपप्रमुख वाहेक सवै पद निर्विरोध भएको हो । उपप्रमुखमा नेपाली कांग्रेसका टेकबहादुर वस्नेतले उम्मेदवारी दिएका थिए ।
उप्रमुख परियार यसअघि जिल्ला समन्वय समिति रोल्पाको सदस्य थिए ।
बाँके
जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी नेपालका उमेश कुमार कुर्मीलाई पराजित गर्दै चौधरी प्रमुखमा निर्वाचित भएका हुन् । चौधरीले १३ मत र कुर्मीले ३ मत पाए । यस्तै महिला सदस्यमा जसपाबाट तरुन्नुम बानो शेष, माओवादी केन्द्रबाट रेवती दमाई र नेकपा एकीकृत समाजवादीबाट बैजनाथ ५ की चमेली थरुनी निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलहरुबीच भएको भागबण्डालाई अस्विकार गरेको जसपाले प्रमुख र महिला सदस्यमा छुट्टै उम्मेदवारी हालेको थियो । आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि गठबन्धनकारी दलहरुलाई समेट्दै कांग्रेसले आफूले प्रमुख र उपप्रमुखसहित ३ जना खुला र एक दलित र अल्पसंख्यक सदस्य राखेर जसपा, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई १–१ जना महिला सदस्य दिएको थियो । उपप्रमुख, दलित र अल्पसंख्यक र खुला सदस्य भने यसअघि नै निर्विरोध भइसकेका थिए । नेपाली कांग्रेसकी सीता कार्की उपप्रमुखमा निर्विरोध भएकी छन् । यस्तै दलित र अल्पसंख्यक सदस्यमा जगदिश बाल्मिकी निर्विरोध भएका छन् । खुला सदस्यमा उदय नारायण मिश्र, जुल्फेकार अली मनिहार र सन्त कुमार थारु निर्विरोध भएका हुन् । तीन जना नै कांग्रेसका हुन् । बाँकेमा कांग्रेसका १२, जसपाका ३ र माओवादीका १ जना मतदाता हुन् ।
बर्दिया
जिसस बर्दियाको नेतृत्वमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । नेपाली कांग्रेस ९, नेकपा एमाले ४ र नेकपा माओवादी केन्द्र ३ गरि जिसस समिति चयनका लागि १६ मतमध्ये नेपाली कांग्रेसको ९ मत भएका कारण अन्य दलको उम्मेदवारी नपर्दा जिससमा नेपाली काँग्रेस निर्विरोध निर्वाचित भएको हो ।
प्रमुखमा ठाकुरबाबा नगरपालिका ४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट र उपप्रमुखमा गुलरिया नगरपालिकाकी अमिताकुमारी यादवको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी सदस्य पदमा गुलरिया नगरपालिकाबाट विनय राजभण्डारी, गेरुवा गाउँपलिकाबाट तिर्थ प्रसाद जैसी, बढैयाताल गाउँपलिकाबाट पुरैलाल थारु, बारबर्दिया नगरपालिकाबाट सुनिता नेपाली, मधुवन नगरपालिकाबाट छवि भाट, राजापुर नगरपालिकाबाट विमला थारु र बाँसगढी नगरपालिकाबाट खगिसरा कामी विक निर्विरोध भएका छन् ।

आठ स्थानीय तह रहेको बर्दियामा गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ५ पालिकामा नेपाली काँग्रेस विजयी भएको थियो ।
दाङ
जिल्ला समन्वय समिति दाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

एमालेले उम्मेदवारी नै दर्ता नगरेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।
प्रमुखमा नेपाली कांग्रेसका नित्यानन्द शर्मा निर्विरोध चयन भएका छन् ।
स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका–७ वडा नम्बरबाट वडा सदस्यमा निर्वाचित भएका शर्मालाई कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवार बनाएको थियो । उपप्रमुखमा नेपाली कांग्रेसका चेतना चौधरी निर्विरोध निर्वाचित भएकी हुन् । सदस्यमा नेपाली कांग्रेसबाट कुलबहादुर बुढा (खुला सदस्य), हरिदेवी पोख्रेल (महिला सदस्य), सरस्वती नेपाली (दलित महिला सदस्य), जुनकुमारी बुढा (महिला सदस्य) र कल्पना शेर्पाइली (महिला सदस्य) र नेकपा माओवादी केन्द्रका तर्फबाट सदस्यमा टोपाराम चौधरी (खुला सदस्य) र दुर्पती चौधरी (खुला सदस्य) मा निर्विरोध निर्वाचित भएका छन् ।
रुपन्देही
रुपन्देहीमा जिसस नेतृत्वका लागि निर्वाचन भएको छैन । १६ स्थानीय तहमध्ये १० वटाको प्रमुख जितेको कांग्रेसलाई जिल्ला समन्वय समितिको नेतृत्वका लागि बहुमत पुर्‍याउन २ मत कम छ । यहाँ कांग्रेस नेतृत्वको गठबन्धनका दलले प्रमुख उपप्रमुख जित्न सकेनन् ।
१० पालिकामा नेतृत्व जितेको नेपाली कांग्रेसबाट उपप्रमुखमा चारजनाले मात्र जितेका छन् । जसपाले गठबन्धन विना एक गाउँपालिका प्रमुख जितेको छ । अन्य दलले कुनै पालिका प्रमुख र उपप्रमुख जित्न नसक्दा गठबन्धनमा रहेका पाँच दलको मतभार १५ मात्रै छ । समन्वय समिति नेतृत्वका लागि १७ मत आवश्यक पर्दछ ।
नेकपा माओवादी केन्द्रका उम्मेदवारले कन्चन गाउँपालिकाको उपप्रमुख जितेपनि नेपाली कांग्रेसको चुनाव चिह्न रुख लिएर निर्वाचित भएकाले कानूनी हिसाबले उनी कांग्रेसकै भएकी छन् भने नेकपा एसले कुनै पनि पालिकामा आफ्नो उपस्थिति जनाउन सकेको छैन ।
यसअघि समन्वय समितिको नेतृत्व लिएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको ३ पालिका प्रमुख र ८ उपप्रमुख गरेर जम्मा ११ मतभार छ । जिसस नेतृत्व लिन उसलाई ६ मत अपुग छ । जिसस गठनमा लोसपा, जनता प्रगतिशील र राप्रपा निर्णायक छन् ।
लोसपाले १ प्रमुख र २ उपप्रमुख, जनता प्रगतिशील पार्टीले १ प्रमुख र १ उपप्रमुख तथा राप्रपाले १ उपप्रमुख जितेका छन् । तीनै दलले गठबन्धनलाई भन्दा एमालेलाई साथ दिने संभावना भएपनि भागवण्डामा कसले के पाउने त्यसमै निर्भर रहनेछ ।
पाल्पा
पाल्पाको जिल्ला समन्वय समिति निर्वाचन हुन बांकी छ । यद्यपि १० स्थानीय तहहरू मध्ये एमालेको ११, गठबन्धनकातर्फबाट कांग्रेसको ६ र माओवादी केन्द्रको ३ मत रहेकाले एमालेकै बन्ने निश्चित छ ।
एमालेले जिसस प्रमुखमा रामपुर नगरपालिका–१०, गेझाका टंक खनालको नाम अगाडि सारेको छ । उपप्रमुखमा भने दुई जनाको नाम चर्चामा छ । तानसेन नगरपालिका–१४, अर्गलीकी बसन्ता ज्ञवाली र तानसेन नगरपालिका–९, की काशिका गैरेको नाम उपप्रमुखमा चर्चामा छ । यद्यपी कुनै निर्णय भने भइ सकेको छैन ।
नेकपा एमालेले निस्दी, पूर्वखोला, माथागढी, रम्भा, बगनासकालीमा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ । एमालेले तिनाउँमा अध्यक्ष जितेको छ । नेपाली कांग्रेसले रामपुर नगपालिका, तानसेन नगरपालिका , रैनादेवीमा अध्यक्ष, रिब्दीकोट र तिनाउँमा उपाध्यक्ष जितेको छ ।
पश्चिम नवलपरासी
तीन नगर र ४ गापा गरी ७ स्थानीय तह रहेको जिल्लामा कांग्रेस ६, एमाले ५, माओवादी केन्द्र २ र राप्रपा १ मत गरी कूल १४ मत ।
कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ । यसअघि कांग्रेससंग गठबन्धन गरेको राप्रपा सहमति तोडेर एमालेसंग गठबन्धन गरेको छ ।
कांग्रेस माओवादी गठबन्धनको पक्षमा वहुमत देखिएको छ ।
गुल्मी
१२ स्थानीय तह मध्ये कांग्रेसका १०, एमालेका १० र माओवादी केन्द्रका ४ जना प्रमुख/उपप्रमुख छन् । वहुमतका लागि १३ मत आवश्यक । कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हुने संभावना बढी । तर माओवादीले प्रमुख मागेकाले सहमति हुन बांकी । कांग्रेस माओवादी तालमेल भए वहुमत पुग्ने ।
प्युठान
प्युठान जिसस प्रमुखमा कांग्रेस,माओवादी र राजमो गठबन्धन निर्विरोध
। प्रमुखमा नेपाली कांग्रेसका धरम बहादुर जिसी र उपप्रमुखमा नेकपा माओबादी केन्द्रका दुर्गा रेग्मी निर्विरोध भएका छन् ।
तीन दलबीच गठवन्धन भएपछि एमालेले उम्मेदवारी नै दिएन । कांग्रेसबाट जिल्ला समन्वय समितीको सदस्यमा टोपाराम कालाथोकी,माओबादी केन्द्रबाट तारा बिक, निर्मला पोख्रेल निर्विरोध चयन भएका छन् । यसैगरी, राष्ट्रिय जनमोर्चाबाट गुणेन्द्र बस्नेत, इन्द्र बहादुर खड्का, खुमा अधिकारी र रेकम रसाईली जिल्ला समन्वय समितीको सदस्यमा निर्विरोध चयन भएको मुख्य निर्बाचन अधिकृत एवं जिल्ला न्यायधिष श्यामलाल घिमिरेले जानकारी दिए ।
दुई नगरपालिका र सात गाउँपालिकामा कांग्रेसको सात,माओवादीको चार, नेकपा एमालेको चार र राष्ट्रीय जनमोर्चाको ३ मतभार रहेको थियो ।

तस्वीर : रोल्पा जिससका पदाधिकारी र सदस्यहरु ।

प्रतिक्रिया दिनुहोस्