श्रीलंकाको राष्ट्रपति भवन घेराउ, राष्ट्रपति भागे,आन्दोलनकारीलाई रोक्न सेना परिचालन


appharu

२५ असार २०७९, शनिबार १६:२९ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । आर्थिक संकटसँग जुधिरहेको श्रीलंकामा शनिबार जनताले राष्ट्रपति भवन घेराउ गरेका छन् । हजारौं जनताले भवन घेराउ गरेपछि राष्ट्रपति गोटावाया राजापाक्षे कोलम्बोमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । शनिबार देशको स्थितिबाट आजित भिडले राष्ट्रपति गोटाबायाको सरकारी आवासलाई घेरा हालेपछि उनी आवास छाडेर भागेका हुन् ।
कोलोम्बोस्थित राष्ट्रपतिको सरकारी आवासलाई प्रदर्शनकारीहरूले दिउँसोदेखि घेरा हाल्न सुरु गरेका थिए । भिड उग्र बन्दै गएपछि प्रदर्शनकारीहरू तोडफोडमा उत्रिए । प्रदर्शनकारीले सांसद रजिता सेनारत्नेको घरमा पनि आक्रमण गरेका छन् ।

राष्ट्रपतिलाई सुरक्षाका लागि अन्यत्र सारिएको शीर्ष रक्षा स्रोतले एएफपीलाई बताएको सो समाचार संस्थाले बताएको छ । सेनाले आक्रोशित भीडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न हवाइ फायर गरेको सोही स्रोतले बताएको एएफपीले लेखेको छ ।

श्रीलंकाको एक नीजि टेलिभिजन सिरासा टिभीले कडा सुरक्षा घेराभित्र हुने राष्ट्रपति निवासमा भीड प्रवेश गरेको भिडियो फुटेज प्रशारण गरेको छ । अत्यावश्यक वस्तुहरू आयात गर्न विदेशी मुद्रा सकिएपछि श्रीलंकाले महिनौंसम्म खाद्यान्न र इन्धनको अभाव भोगिरहेको छ । यसबीच महँगी आकाशिएसँगै दैनिक जीवन निकै कठिन बन्दै गएको छ ।

देशको अभूतपूर्व आर्थिक संकटविरुद्ध प्रदर्शनका लागि शनिबार देशभरबाट विशाल राजधानी कोलम्बो उत्रिएको छ । विपक्षी दल, अधिकारकर्मी र बार एसोसिएसनले प्रहरी प्रमुखलाई मुद्दा हाल्ने धम्की दिएपछि प्रहरीले शुक्रबार जारी गरेको कर्फ्यू आदेश फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्