साउन १५ मा खीर खान दुग्ध व्यवसायीको अपील,यस्ता छन् खीरका फाइदा


appharu

१४ श्रावण २०७९, शनिबार ०७:४४ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । नेपाल डेरी एसोसिएसनले यस वर्षको श्रावण १५ मा खीर खाऔं, आफ्नो परम्परा जोगाऔं भन्ने नाराका साथ देशभर सबैलाई खीर खान आव्हान गरेको छ ।

साउन १५ लाई नेपालमा राष्ट्रिय दुग्ध विकास बोर्डले विगत केहि वर्ष यता खीर दिवसको रुपमा मनाउँदै आएको छ । यस वर्ष पनि सरोकारवाला सबैलाई भेला गरि कृषि तथा पशु पन्छी विकास मत्री र सचीवको विशेष उपस्तिथिमा पोषिलो खीर, स्वस्थ्य शरीर भन्ने नाराका साथ बोर्डमा मनाउन गइरहेको एशोसिएसनका अध्यक्ष प्रल्हालद दाहालले जनाएका छन् । नेपाल डेरी एसोसिएसनले पनि आफ्ना सातै प्रदेशमा विभिन्न स्थानमा खीरको महत्त्व बुझाउने एवं खीर खुवाउने कार्यक्रम राखेको दाहालले जनाए । यस दिन देशैभर सबैले खीर खाने चलन छ ।

विश्वमा खीर खाने प्रचलन १४ औं शताव्दीदेखि छिमेकी मुलुक चीनबाट सुरु भएको इतिहास सुनिन्छ । खासगरी मध्यपूर्वी एशिया, उत्तर अफ्रिका, पश्चिम एशिया, सार्क क्षेत्रमा बढी मात्रामा खीरको प्रचलन रहेको पाइन्छ । यूरोप र अमेरिकामा समेत खीरलाई एक विशिष्ट खानाका रुपमा प्रयोग गरेको पाइएको छ । छिमेकी मुलुक भारतको गुजरातमा खीरलाई दूधपाक, वंगालीमा पायस र श्रीलंकामा क्रिवथ नामबाट प्रयोग गर्ने गरेको पाइन्छ । सामान्यतया सय ग्राम खीरबाट ९२ क्यालोरी प्राप्त हुन्छ भने पानी ८८.९, कार्बाेहाइड्रेड १६.४, प्रोटिन ३.३, फयाट १.३ र फाइवर ०.१ ग्राम प्राप्त हुन्छ।

प्रत्येक वर्ष साउनको १५ गते खीर खाइन्छ । यस दिन कुनै धार्मीक महत्व नभएपनि साँस्कृतिक रुपमा हाम्रो देश कृषि प्रधान भएको नाताले यो दिनको बेग्लै महत्व रहेको छ । एक महिना अघि असार १५ गते दहि चिउरा खाए जस्तै साउनको १५ मा खीर खाने चलन छ । हरेक महिनामा एक विशेष प्रकारको खानेकुरा खाने भने झैं साउनमा खीर खाइन्छ ।

यो पहिलेदेखि नै रहँदै आएको थिती भएको संस्कृतिविद्हरु बताउँछन् । यो पुरानै चलन हो । साउनमा हरियो परियो धेरै पाइने हुनाले गाईले दुध बढि दिने हुँदा यो समयमा खीर खाने गरिएको हो भन्ने चलन पनि छ । हरेक शुभ साइतमा खीरको महत्व छ । त्रेया युगमा दशरथका ३ महारानीले खीर खाएरै गर्भ धारण गरेका थिए भन्ने पनि सुनिन्छ । विभिन्न पूजा आजामा पनि चोखो मानी खीर खाने गरिन्छ । हवनमा समेत खीर या पायसलाई अग्नीमा चढाउने गरिन्छ । खीरको धार्मिक महत्त्व पनि उत्तिकै छ ।

असार महिनामा रोपाँइ सकेपछि साउन १५ मा कृषकहरूले तातो खीर खाएर मनाउने गरेका हुन्छन् । यस प्रकारको खानेकुरा खानाले स्वास्थ्यमा लाभ हुने जन विश्वास छ । असारभरी पानी हिलोमा खेल्दा सर्दी लाग्ने र तातो खीर खाँदा सर्दिबाट जोगीने विश्वास पनि छ । साउन १५ मा खासै धार्मीक महत्त्व नदेखिए पनि साँस्कृतिक महत्व भने छ ।

साउन १५ मा घरपरिवारका सदस्यहरु एवं साथीभाई एकै ठाउँमा भेला भई रमाइलो गर्दै खीर खाने गरिन्छ । अहिले पछिल्लो समय अफिस, स्कुल, कलेजमा पनि खीर रमाइलो गर्दै खीर खाने चलन बढेर गएको छ । यसले पनि खीरको महत्त्व झन् बढाएको छ ।

आजभोलि स्वदेशमा रहेका नेपालीले मात्र होइन विदेशमा पुगेका नेपालीलले पनि खीर खाई आफ्नो परम्परा धानेको देखिन्छ । खीर खाने दिन दुधको जोहोमा गृहणीदेखि युवा पुस्तासम्म ब्यस्त रहन्छन् । सबैजनाले एकै दिन उपभोग धेरै हुने भएकोले त्यस दिन दुधको लागि अलि अगाडि नै जोहो गर्नु परेको हो ।

साउन १५ गतेको विहान दुध नपाइएला भनेर अघिल्लै दिनदेखि दुधको जोहो गरेर राख्ने चलन छ । कतिले दूध नपाइएला भनेर ३ दिन अघि देखि नै नजिकैको डेरीमा अर्डर गरेर राख्ने वा अघिल्लो दिन दिउँसै दूध किनेर फ्रिजमा हालेर राख्ने भन्ने कुरालाई पिरोलिएका हुन्छन् । आफ्नो अनुकुल सबैले सहज व्यवस्थापन गरेकै हुन्छन् । तर अझ बजारमा त्यस दिन सहज बनाउन सक्ने हो भने खपत अलि बढ्ने देखिन्छ ।

यस दिन विहानै पसलमा प्याकेटको दुध किन्नेदेखि घरमा पालेका गाइको दुध लिन जानेसम्म धेरैलाई भ्याइनभ्याइ हुन्छ। यस दिन अघिपछिको तुलनामा झन्डै ५ गुणा बढी दुध खपत हुन्छ । गाईभैसीले दिने दुध उत्तिकै हो अनि नपुग दूध कहाँबाट आउँछ भन्ने खुल्दुली सबैलाई भएको हुनसक्छ । यस दिन नपुग दूध करिब एक हप्ताबाट अलि अलि बचत गर्दै राख्ने र अलि अलि धुलो दूध प्रयोग गर्दै गर्दै बढाउँदै लैजाने र बजारको माग पूरा गर्ने गरिन्छ । यस दिन करिब ५० लाख लिटर दूध बजारमा बिक्री र यसबाट करिब ५० करोड यो दिन दुधबाट आर्थिक कारोबार हुने एशोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिए ।

आम मानिसलाई खीर खानुभन्दा पनि खीर खाँदा हुने छुट्टै रमाइलो मन पर्छ । खीर खाने चलन राम्रो भए पनी पछिल्लो समय यसमा विकृती पनि बढ्दै गएको छ । पछिल्लो समय खीर खाने निहुँमा मदिरा सेवन गर्ने , राती अबेरसम्म बसेर होहल्ला गर्दे अरुलाई अफ्ठ्यारो पार्ने पनि गरिएको देखिन्छ।

वर्षका विभिन्न महिनामा एक विशेष परिकार खाने चलन हाम्रो देशमा परम्परा जस्तै रहँदै आएको छ । असार १५ मा दही चिउरा खाने , मंसिर १५ मा न्वागी खाने, माघमा खिँचडी खाने, दशैमा मासु खाने, तिहारमा सेल खाने तथा पुस १५ मा घिउ खट्टे खाने चलन आदि विभिन्न चलन चल्दै आएका छन्। त्यस कारण यी यस्ता परम्परा भनेकै हाम्रो देशको पहिचान हो । त्यस कारण हामीले यी र यस्ता सबै किसिमका चाड पर्व मनाउने गरेका छौँ । देशैभर सबै जनाले खीर खाऔं र आफ्नो परम्परा जोगाऔं ।

प्रतिक्रिया दिनुहोस्