उपेन्द्र यादवको क्षेत्रबाट डा. सीके राउत लड्ने, चुनावी पासा पल्टिने विश्लेषण


appharu

२० श्रावण २०७९, शुक्रबार ११:०४ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । सरकारले निर्वाचनको मिति मंसिर ४ गतेका लागि घोषणा गरेसंगै देशभर चुनावी माहोल तात्न शुरु भएको छ । यसैक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार भर्चुअल माध्यमबाट बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निर्णय भएको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।
२०७४ को प्रतिनिधिसभा चुनाव यादवले सप्तरीबाट जितेका थिए । अध्यक्ष यादवको चाहना सप्तरी क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने रहेको छ । उनले त्यही अनुसारको तयारी थालेका छन् । उनले आफ्नो क्षेत्रमा चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् ।
२०६४ साल यता उनले पटकपटक आफ्नो चुनाव क्षेत्र परिवर्तन गर्दै आएका छन् । २०६४ को पहिलो संविधानसभा चुनाव मोरङबाट जितेका उपेन्द्र यादवले २०७० को दोस्रो संविधानसभा चुनाव सुनसरीबाट जितेका थिए । डा. राउतले यादवसंग चुनाव लड्ने घोषणा गरेसंगै सप्तरी २ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । यादव पटक पटक सरकारमा गएपनि कुनै उल्लेख्य राम्रो काम गरेर जनतामा छाप छाड्न सकेका छैनन् । उनको पार्टी जसपा पनि विभाजन भएर छिन्नभिन्न भएको छ । एउटा समूहले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेको छ भने डा. बाबुराम भट्टराईको अर्को समूहले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । यादव पटक पटक टेस्टेड नेता हुन् भने राउत पहिलोपटक संसद चुनाव लड्न लागेका हुन् । यसपटक डा. राउतले यादवलाई राम्रै चुनौति दिने र उस्तै परे चुनावी पासा पल्टिने विश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्