कपिलवस्तुका गठबन्धन दलहरु मिलेर चुनाव लड्ने


appharu

३० श्रावण २०७९, सोमबार ०६:२० मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु ।
बैशाख ३० को स्थानीय तह निर्वाचनमा मिल्न नसकेका गठबन्धन दलहरु आसन्न संघीय र प्रदेशसभा सदस्य निर्वाचनमा मिलेर जानुपर्ने मनस्थिति बनाएका छन् ।

पटक पटकका वार्ता र संवाद भएपनि वार्ताले कुनै ठोस निष्कर्ष दिन नसक्दा गएको स्थानीय तहको चुनावमा कपिलवस्तुका गठबन्धन दलहरु एक्ला एक्लै चुनावी मैदानमा होमिएका थिए ।

एक्ला एक्लै चुनाव लड्दा अनपेक्षित नतीजा प्राप्त गरेका दलहरु आगामी चुनावमा केन्द्रले लिने निति अनुसार जाने बताउँन थालेका छन् ।

१० पालिका र ९६ वडा रहेको कपिलवस्तुमा कांग्रेस र एमाले झण्डै हाराहारीको शक्ति बनेका छन् । ०७४ सालको स्थानीय तह चुनावमा एक्लौटी वर्चश्व कायम राख्न सफल कांग्रेसका लागि बैशाख ३० को स्थानीय निर्वाचनमा खासै फलिफाप हुन सकेन् ।

०७४ मा जितेको जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख, उपप्रमुख, कपिलवस्तु नगरपालिकाको मेयर, उपमेयर, बाणगंगा नगरपालिकाको मेयर, शुद्धोधन गाउँपालिकाको उपाध्यक्ष, यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गुमाउन पुग्यो ।

०७४ को चुनावमा कांग्रेस भन्दा निकै पछाडी रहेको नेकपा (एमाले) यो चुनावमा कांग्रेसको हाराहारीको शक्ति बनेको छ । दक्षिण भेगमा निकै कमजोर रहेको एमाले यो निर्वाचनमा आफूलाई निकै सुधार गरेको छ । मधेसका प्रभावशाली नेताको एमाले प्रवेशले पनि यो दल शक्तिशाली बनेको हो ।

आसन्न निर्वाचनमा केन्द्रीय स्तरमा बनेको ५ दलिय गठबन्धनको मर्म र भावना अनुसार जिल्लामा पनि मिलेर जाने गठबन्धन भित्रका दलहरुले मनस्थिति बनाएका छन् । स्थानीय तहको निर्वाचनमा मिल्नै पर्ने बाध्यता रहेपनि विभिन्न कारणले मिल्न नसक्दा अरुले फाइदा उठाएको भन्दै यो निर्वाचनमा जसरी पनि मिल्नुपर्नेमा ५ दलिय गठबन्धनका नेताहरुको जोड छ ।

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य चक्रपाणी खनाल (बलदेव) ले आसन्न चुनावमा गठबन्धन गरेरै चुनावमा जाने बताउँछन् । केन्द्रले गरेको निर्णय बमोजिम सबै कुरा हुने भन्दै गठबन्धन हुन्छ कि हुन्न भनेर शंका पाल्न नहुने उनको भनाई ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले आगामी निर्वाचनमा गठबन्धन हुने बताउँछन् । केन्द्रमा रहेको गठबन्धनको चाहना अनुसार कपिलवस्तुमा पनि गठबन्धन हुने र सबै निर्वाचन क्षेत्र जित्ने गरी योजना बन्ने मायादेवी अनलाइनलाई आचार्यले बताए ।

स्थानीय तहमा पनि गठबन्धन गर्ने निकै प्रयास गरेपनि धेरै आकांक्षी हुँदा समस्या भएको उनको तर्क छ ।

‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने लामो प्रयास भए पनि त्यो सम्भव हुन सकेन् । चुनावमा उठ्ने आकांक्षी धेरै हुँदा समस्या भयो, पूर्व राज्यमन्त्री समेत रहेका आचार्यले भने, ‘संघ र प्रदेशमा उम्मेद्वार बन्ने कम हुन्छन् त्यसले पनि सहज हुन्छ । गठबन्धनबाट केन्द्रले टिकट बाड्ने हुँदा गठबन्धन भएरै छाड्छ ।’

तीन प्रतिनिधिसभा रहेको जिल्लामा एक क्षेत्र माओवादी र दुई क्षेत्र कांग्रेसले पाउने सम्भावना रहेको पनि उनले सुनाए ।

‘दुई क्षेत्रमा यस अगाडी माओवादी र कांग्रेसले जितेका थिए त्यहाँ त्यहीँ हुने होला । अर्को क्षेत्रमा कांग्रेस बलियो भएको कारण पाउने सम्भावना प्रवल छ ।’ आचार्यले भने ।

जनता समाजवादी पार्टीका प्रदेश नेता सहसराम यादवले पनि आसन्न चुनावमा गठबन्धन हुने बताए । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका यादवले स्थानीय तहको चुनावी समिक्षा गरी आसन्न चुनावमा गठबन्धन गरेर जाने प्रदेश भित्र निर्णय भएको सुनाए ।

अहिले गठबन्धनको आवश्यकता रहेको भन्दै नेता यादवले टिकट वितरण न्यायोचित हुने बताउँछन् ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य क्षेत्र बहादुर खत्रीले केन्द्रस्तरमा रहेको गठबन्धन जिल्लामा हुने प्रष्ट्याए । मुलुकको संविधान बचाउनका लागि बनेको गठबन्धनको औचित्य अझै रहेको भन्दै जिल्लामा पनि यसको महत्व रहेको खत्रीले जनाए । पार्टीका जिल्ला इन्चार्ज समेत रहेका खत्रीले टिकट वितरण कसरी हुन्छ अझै भन्न नसकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्