महरा समानुपातिक बसेपछि शंकर पोखरेलले सांठगांठ गरेको चर्चा

मुख्य प्रतिस्पर्धी पार्टीको बलियो उम्मेदवारलाई जित सहज हुने गरी मैदान छाड्नुको अर्थ भित्री सांठगांठ नै भएको विश्लेषण छ ।


appharu

३ आश्विन २०७९, सोमबार २१:१९ मा प्रकाशित

पालिकापत्र, दाङ । दाङ २ मा एमाले महासचिव शंकर पोखरेललाई सहज हुने गरी माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा समानुपातिकमा बसेपछि राजनीतिक वृत्तमा अनेक अड्कलबाजी शुरु भएका छन् ।

यसअघि यो क्षेत्रमा सत्ता गठबन्धनका महरा र एमालेका पोखरेलबीच भिडन्त हुने चर्चा थियो । सोही अनुसार दुबै पार्टीले दुबै जनालाई उम्मेदवार सिफारिस गरेका थिए । यद्यपि एमालेले पोखरेललाई एकल सिफारिस गर्दा माओवादीले भने महरा संगै रेखा शर्मा र निर्मल आचार्य गरी तीनजनाको नाम सिफारिस गरेको थियो । तर महरालाई पार्टीले एकाएक समानुपातिक सूचिमा राखेपछि अनेक कोणबाट वहस शुरु भएका छन् ।

धेरैले यसमा महराले शंकर पोखरेललाई वाक ओभर दिएर जितका लागि बाटो खोलिदिएको अर्थमा बुझेका छन् । शंकर पोखरेल कुटिल राजनीतिक खेलाडी भएकाले एमाले पार्टीमा हावी हुन आफ्नो जित सुनिश्चितताका लागि महरासंग सांठगांठ गरेर समानुपातिकमा बस्न लगाएको धेरैको बुझाई छ । यसअघि २०७४ सालमा सोही क्षेत्रबाट महरा संघमा र पोखरेल प्रदेशबाट चुनाव जितेका थिए ।

महरा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र हुन् भने पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका दाहिने हात । महरा प्रत्यक्षमा उठेको अवस्थामा पोखरेलले हार्न सक्ने आंकलन गरेर महरालाई समानुपातिकमा बस्न पोखरेलले नै लगाएको राजनीतिक वृत्तमा चर्चा छ । महराले भने आफूले हुर्काएका नेतालाई अवसर दिन समानुपातिकमा बसेको जिकिर गरेका छन् । तर उनको यो भनाई पत्याउने खालको छैन । किनभने महरा माओवादीमा सबैभन्दा बढी अवसर लिने नेता हुन् । उनले हरेक कार्यकाल कुनै न कुनै महत्वपुर्ण लाभको पद लिदै आएका छन् ।

महरा प्रत्यक्षमा नउठेपछि आफ्नो जित सुनिश्चित हुने र भोलि नेकपा एमालेमा आफ्नो वर्चश्व कायम राख्न सहज हुने पोखरेलको आन्तरिक हिसाबकिताब छ । किनभने एमालेमा पोखरेल भन्दा माथिल्लो बरियताका उपाध्यक्ष पदमा रुपन्देही २ का विष्णु पौडेल पनि छन् ।

बुटवलबाट राजधानी दाङ लैजान शंकर पोखरेल र महरा दुबै मिलेर प्रचण्ड र ओलीलाई सहमत गराएका थिए । शंकर पोखरेलले पार्टीभित्र चलखेल गरेर बुटवलबाट स्थायी राजधानी दाङ लैजान सफल भएपछि पौडेलमाथि राजधानी बुटवलमा राख्न नसकेको झुठो आरोप लाग्ने गरेको छ ।

तत्कालीन नेकपाका ९ जना सचिवालय सदस्य मध्ये पोखरेल सहित ८ जना दाङको पक्षमा भएपछि बुटवल राजधानी कायम राख्न पौडेलले गरेको प्रयासको केही जोर चलेको थिएन ।

माओवादीका एक कार्यकर्ताले भने आफ्नै क्षेत्रमा रहेका धेरै माओवादी नेताकार्यकर्ता एमाले प्रवेश गरेकाले पोखरलेसंग लड्न डराएको आंकलन गरेका । दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गर्न नसकिने र रोल्पामा अरु नेताहरुलाई छाड्नपरेकाले उनले समानुपातिकको सहज बाटो रोजेको माओवादी नेताहरुको भनाइ छ ।

राजधानीकै विषयले पौडेल र पोखरेलबीच भित्री रुपमा मतभेद छन् । अर्र्काेतर्फ पौडेल उपाध्यक्ष भएकाले पार्टीमा अर्कोपटक स्वतः अध्यक्षका दावेदार पनि पौडेल हुन् । त्यसैले शंकर पोखरेलले संसदीय र पार्टी दुबै मोर्चामा हावी हुन प्रतिनिधि सभा चुनाव जित्न चाहन्छन् । त्यसका लागि नै महरालाई समानुपातिकमा बस्ने अवस्थामा पुराएको विश्लेषण गरिएको छ ।

महराको वाक ओभरले पोखरेललाई सहज भएसंगै यता विष्णु पौडेललाई पनि चुनाव जित्नैपर्ने दवाव सिर्जना भएको छ । एमाले लुम्बिनी प्रदेश कमिटीका एक सदस्यले महरा समानुपातिकमा बस्नुले धेरै आशंकाह जन्माएको बताए । ‘ गठबन्धनका महरा र शंकर पोखरेलबीच कतै कुनै सांठगांठ त भएन भन्ने प्रश्न पनि उब्जेको छ’– ती नेताले भने–मुख्य प्रतिस्पर्धी पार्टीको बलियो उम्मेदवारलाई जित सहज हुने गरी मैदान छाड्नुको अर्थ भित्री सांठगांठ नै भएको विश्लेषण छ ।’

२ पटक दाङबाट र १ पटक रोल्पाबाट जितेका महरालाई जिल्लामा काम नगरेको आरोप पनि छ । सभामुख रहँदा महिलासँग मुछिएका महरा विवादित समेत बनेका थिए ।

अघिल्लो चुनावमा महराले कांग्रेसका उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले पराजित गरेका थिए । महराले ४० हजार ४२ मत पाएका थिए भने खनालले २५ हजार ८९७ मत ल्याएका थिए । त्यो बेला माओवादी–एमाले गठबन्धन थियो ।
वडाध्यक्षको मतको आधारमा एमाले केही कमजोर देखिन्छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा दाङ–२ मा एमालेका वडाध्यक्षका उम्मेदवारले ३३ हजार ५९३ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवारले २३ हजार ३०१, माओवादी केन्द्रका उम्मेदवारले १० हजार ४७८ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले २ हजार ९४२ मत ल्याएका छन् । यस आधारमा गठबन्धनको ३६ हजार ७२१ मत हुन्छ भने एमालेको ३३ हजार ५९३ मत रहन्छ । महराको वाकओभरले पोखरेललाई जित्न सहज हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्