यसकारण खारेज भयो राजु गुरुङ र निकोलस भुसालको उम्मेदवारी

गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रूपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो।


appharu

२५ आश्विन २०७९, मंगलवार २३:५५ मा प्रकाशित

पालिकापत्र,बुटवल । रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङ र हाम्रो नेपाली पार्टीका उम्मेदवार डा कमल भुसालको उम्मेदवारी खारेज भएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति ११ बजेपछि जारी गरेको सूचना अनुसार डा. निकोलस भनिने कमल भुसालको उम्मेदवारी विरुद्ध स्वतन्त्र उम्मेदवारहरु विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दिएका थिए । उजुरीमाथि छानवीन गर्दा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले भुसालको उम्मेदवारी खारेज भएको हो ।

यस्तै गुरुङ र बस्यालको उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि छानवीन गर्दा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १६ (ज) अनुसार दुबै जना उम्मेदवार हुन अयोग्य भएकाले उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपुर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ७ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालो सूचिमा राखेको थियो ।
उक्त कम्पनीको अग्रपंक्तिमा देखिंदा झलनाथ खनालका छोरा निर्भिक खनाल र राजु गुरुङ देखिए पनि फुर्वा शेर्पा, सुनिल रायमाझी, राजेश मानन्धर, सञ्जिव राई, शक्ति डङ्गोल र गणेश श्रेष्ठले मिलेर काम गरेका थिए ।

गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रूपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो।

गुरुङसहित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनाल सहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जीत विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरूद्ध २०७६साउन ६ गते मुद्दा दर्ता भएको थियो।

काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भीक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जिव राई र शक्तिमान डंगोल समेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा २०७८ मंसिर १२ गते उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो। 

गुरुङ लगायतलाई जनही दुई हजार जरिवाना र २ करोड २५ लाख रूपैयाँको चेक काटिएको मितिदेखि २०७६ साउन ६ गते सम्मको सयकडा १० प्रतिशतका दरले कानुन बमोजिमको ब्याजसहित भुक्तानी दिनुपर्ने फैसला गरेको थियो।

गुरुङहरूको उक्त कम्पनीले २०७३ साल फागुन २० गते २५ लाख, फागुन ३० गते २५ लाख, चैत १५ गते २४ लाख, चैत ३० गते ५४ लाख, २०७४ वैशाख १५ गते २५ लाख, वैशाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रूपैयाँ गरी ७ वटा चेक दिएकामा बैंकमा पर्याप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरूविरूद्ध उजुरी परेको थियो।


यस्तै कमल भुसाल नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको हो ।
गुरुङ गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेदवार थिए । सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका भुसाल र गुरुङविरुद्ध आयोगमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्