एमाले कपिलवस्तुका उम्मेदवारमा ‘आयाराम’वालाको वर्चश्व


appharu

३ कार्तिक २०७९, बिहीबार १८:५० मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु । आसन्न मंसिर ४ हुन गइरहेको संघ र प्रदेश निर्वाचनमा ‘आयाराम’वालाको वर्चश्व देखिएको छ ।

नेकपा (एमाले) कपिलवस्तुबाट टिकट पाएका मध्ये अधिकांश उम्मेदवार अरु पार्टीबाट आएकाहरु रहेका छन् ।

३ प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा एमालेले सबै क्षेत्रमा उम्मेदवार खडा गरेको छ ।

तीन प्रतिनिधि सभा मध्ये दुई क्षेत्रमा हालै एमाले भित्रिएका उम्मेदवार छन् । प्रतिनिधि सभा-२ मा मधेसवादी दलमा आस्था राख्ने बृजेशकुमार गुप्ता एमालेका उम्मेदवार छन् भने प्रतिनिधि सभा-३ पनि मधेस केन्द्रीत दलकै पृष्ठभूमि भएका मंगलप्रसाद गुप्ता उम्मेदवार छन् ।

प्रतिनिधि सभा-१ मा मात्र एमालेका पुराना नेता बलराम अधिकारी उम्मेदवार रहेका छन् । अधिकारी एमाले कपिलवस्तुका संस्थापक नेता हुन् । दुई कार्यकाल एमाले जिल्लाको नेतृत्व गरेका उनी हाल केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज छन् ।

०७० मा संविधान सभा सदस्य रहेका उनी शिक्षण पेशाको जागीर छाडेर पूर्णकालिन राजनीतिमा होमिएका थिए ।

६ प्रदेश सभा मध्ये दुई क्षेत्रमा मात्र एमालेका पुराना नेताले टिकट पाएका छन् । प्रतिनिधि सभा-१ को प्रदेश सभा ‘क’ का उम्मेदवार विष्णु पन्थी र प्रतिनिधि सभा-३ को प्रदेश सभा ‘क’ का उम्मेदवार अर्जुन केसी पुराना एमाले हुन् ।

पन्थी अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष समेत भएका नेता हुन् । विद्यार्थी राजनीतिबाट स्थापित पन्थी केन्द्रीय लेखा आयोगका उपाध्यक्ष छन् । एमाले राजनीतिमा सक्रिय उनी पञ्चायतकालबाटै राजनीतिमा होमिएका थिए । पन्थी ०७४ पनि यही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

केसी पनि एमाले पृष्ठभूमिकै हुन् । केही बर्ष अगाडीसम्म एमालेको सक्रिय कार्यकर्ता रहेका केसी ०७४ मा प्रदेश सभामा निर्वाचन भएका थिए । हाल उनी पार्टीका जिल्ला उप-सचिव रहेका छन् ।

पन्थी र केसी बाहेक ४ क्षेत्रका उम्मेदवार एमालेमा हालै आएका प्रवेश गरेका नेता हुन् ।

प्रतिनिधि-१ को प्रदेश सभा ‘ख’का उम्मेदवार मधुसुदनशरण चौधरी मधेस केन्द्रीत दलबाट एमालेमा आएका हुन् ।

प्रतिनिधि सभा-२ को प्रदेश सभा ‘क’ का उम्मेदवार राप्रपा, कांग्रेस हुँदै हालै एमाले भित्रिएर नवराज लामिछानेले टिकट पाएका हुन् ।

प्रदेश सभा ‘ख’का उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तव पनि मधेस केन्द्रीत पृष्ठभूमिका नेता हुन् ।

प्रतिनिधिसभा-३ को प्रदेश सभा ‘ख’का उम्मेदवार रजाउर्रहमान खाँ पनि एमालेका नयाँ अनुहार हुन् ।

एमालेले पुराना कार्यकर्तालाई पाखा लगाएर आयातित नेतालाई टिकट दिए पछि पुराना कार्यकर्ता खुसी छैनन् । आन्तरिक पार्टी भित्र खुलेरै विरोध गरेपनि औपचारिक रुपमा बाहिर असन्तुष्टि जायर भएको छैन् । यद्यपि पुराना नेताहरुले एमालेमा भित्रदो विकृति प्रति चुनाव लगत्तै खुलेरै बोल्ने बताउँछन् ।

एक जना एमाले नेताले पार्टीमा आयारामहरुको वर्चश्व देखिनु पार्टी, क्रान्ति प्रति धोका हुनु भएको टिप्पणी गर्छन् ।

कम्युनिष्टको व्यवहार, आचारण नभएका नेतालाई टिकट दिएर जिताउँदा श्रमिक जनताको पक्षमा नतिजा राम्रो नआउने उनको तर्क छ ।

जिल्लामा एमालेका संस्थापक मध्येका एक बाबुराम खनालले टिकट नै पाएनन् । विद्युत प्राधिकरणको सरकारी जागीर छाडेर क्रान्तिमा होमिएका खनाल आयारामहरुको दबदबाले टिकट नपाएका हुन् । उनको स्थानमा धर्मबहादुरलाल श्रीवास्तवले टिकट पाए ।

एमाले भित्र जनता माझ लोकप्रिय नेता रुपेश श्रेष्ठले पनि टिकट पाएनन् । यसैको असन्तुष्टि स्वरुप श्रेष्ठले असोज २३ गते बागी उम्मेदवारी दिएका थिए । पार्टी नेताको दबाब स्वरुप उनले उम्मेदवारी फिर्ता लिन बाध्य भए । यो स्थानमा एमालेले लामिछानेलाई उठाएको छ ।

आयाराम गयारामको रोचक कथा

पार्टी त्याग्ने र प्रवेश गर्नेलाई भारतीय राजनीतिमा ‘आयाराम गयाराम’ प्रवृत्ति भन्ने गरिन्छ । त्यसैलाई नक्कल गर्दै नेपालमा पनि दल बदल्नेलाई ‘आयाराम गयाराम’ भन्ने गरिएको हो ।

‘नवभारत टाइम्स’ का अनुसार, सन् १९६७ मा ‘आयाराम गयाराम’ को किस्सा सुरु भएको हो । भारतको हरियाणा राज्यको पलवल जिल्लाका गयालालले ‘आयाराम गयाराम’ लाई अमर बनाएका थिए । हसनपुर विधानसभा क्षेत्रबाट निर्वाचित विधायक उनले एकै दिनमा तीनपटक पार्टी परिवर्तन गरेका थिए ।

सबैभन्दा पहिले उनले कांग्रेस त्यागेर जनता पार्टी प्रवेश गरे । केही बेरमै उनी पुनः कांग्रेसमै फर्किए । करिब नौ घण्टापछि उनको हृदय फेरि परिवर्तन भयो र जनता पार्टीमा दोस्रोपटक प्रवेश गरेका थिए । गयालालको हृदय परिवर्तन यत्तिमै रोकिएन । उनी पुनः कांग्रेसमा फर्किए ।

कांग्रेसमा फर्किएपछि कांग्रेस पार्टीका तत्कालीन नेता राव वीरेन्द्र सिंह उनलाई लिएर चण्डीगढ पुगे र पत्रकार सम्मेलन गरे ।

रावले उक्त पत्रकार सम्मेलनमा भनेका थिए, “गयारामजी अब आयाराम हुन् ।”

यो घटनापछि भारतीय राजनीतिमा पार्टी बदल्नेलाई ‘आयाराम गयाराम’ वाक्य प्रयोग हुन थालेको हो । भारतीय राजनीतिको यही ‘आयाराम गयाराम’ नेपालमा पनि प्रयोग गरिन थालेको हो ।

एमालेले गत स्थानीय चुनावअघिदेखि नै सत्तारुढ पाँच दलीय गठबन्धनलाई चुनौती दिन पार्टी प्रवेशको अभियान नै चलायो । जहाँ जसले जित्न सक्छ, उसैलाई टिकट दिने नीतिअनुसार नवप्रवेशीलाई एमालेले पनि टिकट दिएको छ ।

प्रतिक्रिया दिनुहोस्