पालिकापत्र,लुम्बिनी ।
नेपाली कांग्रेस र भरत शाहको अयोग्यता कारण रूपन्देही क्षेत्र नं ५ पछाडि परेको नेकपा एमालेका पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले बताउनु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित खुनगाईमा सोमबार आयोजित नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले सो कुरा बताउनु भयो ।
रूपन्देही क्षेत्र नं ५ मा नेपाली कांग्रेसका भरत शाहले तीन पटक जितेर १५ वर्षसम्म केही काम गर्न नसकेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो –नेपाली कांग्रेस र भरत शाहका कारण यस क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, उद्योग व्यवसाय, भौतिक पूर्वाधारहरू बाटो पूल निर्माण, फोहोरमैला व्यवस्थापन लगाएत विकासका सबै काम पछि परेका छन् , नेपाली कांग्रेसले केही काम गरेन। नेपाली कांग्रेसबाट अब देशको विकास र जनताको हित हुन नसक्ने र यस क्षेत्रको विकास हुन नसक्ने उहाँको भनाई छ ।
लुम्बिनी क्षेत्रको विकास जुन गतिमा हुनु पर्ने हो त्यो नभएको बताउदै उहाँले भन्नुभयो –गठबन्धन सरकारले महंगी, भ्रस्टाचार बढाएको छ, अब आर्थिक क्रान्ति सहितको विकास चहिएको छ, त्यो नेकपा एमालेले पूरा गर्छ । रुपन्देही ५ को मुहार फेर्न र विकासमा नमूना बनाउन एमाले उम्मेदवार बासुदेव घिमिरेलाई जिताउन उनले आग्रह गरे ।
रूपन्देही क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले विगतमा तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट बनाएर राष्ट्रियस्तरमा चर्चित बनाए जस्तै अब रुपन्देही ५ बाट जिताए यसलाई पनि उत्कृष्ट बनाउने बताए । उनले रुपन्देही ५ मा मल, बिउ, सिंचाई, गुणस्तरीय र प्राविधिक शिक्षा , लुम्बिनीमै अस्पताल निर्माणलाई २ वर्षभित्रै देखिने गरी काम गर्ने घिमिरेले बताए । यस्तै ककरहवा नाका संग जोडिएको कालिदह भन्सारलाई व्यवस्थित बनाइने, लुम्बिनी र यस बाहिर रहेको बौद्धकालिन सभ्यतासंग गाँसिएर रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा विकास गरिने उहाँले प्रतिबद्धता जनाउनु भयो । सबै जात धर्मको सम्मान गर्दै यस क्षेत्रको समृद्धि र विकास आफ्नो जिम्मा भएको उहाँले बताउनु भयो ।
रूपन्देही क्षेत्र नं ५ खका प्रदेश सभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादवले प्राथमिकताका आधारमा स्थानीयहरूको सहभागितामा विकासका काम गरिने बताउनु भयो । यस क्षेत्रको कृषि,पर्यटन,शिक्षा, स्वास्थ्य लगाएत भौतिक पूर्वधारको विकास गरिने उहाँको भनाई छ ।