चौथो तिलोत्तमा राष्ट्रपति रनिङ शिल्ड फागुन १देखि


appharu

२७ माघ २०७९, शुक्रबार २०:४९ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको आयोजनामा चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १ गतेदेखि हुने भएको छ । तिलोत्तमा ४ स्थित जनज्योति क्लबको खेल मैदानमा फागुन ३ गतेसम्म हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३५ विद्यालयका करिब ४ हजार विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
रनिङ शिल्डमा छात्र र छात्रा दुबैतर्फ एथलेटिक्स, भलिबल, कबड्डी र मार्शल आर्टका खेलहरु खेलाइने रनिङ शिल्ड प्रतियोगिताको सचिवालय संयोजक दीपक खनालले बताए । एथलेटिक्सतर्फ सय मिटरदेखि ३ हजार मिटरसम्मका दौड र फिल्ड इभेन्टमा हाइजम्प,लङजम्प,ट्रिपल जम्प,ज्याभलिन थ्रो र सर्टपुटमा छात्र र छात्राले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै भलिबलमा छात्रतर्फ २१ र छात्रातर्फ १८ टिम, कबड्डीमा छात्रतर्फ २० र छात्रातर्फ १५ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक खनालले जानकारी दिए ।
यसैबीच नगरपालिकाले रनिङ शिल्डमा भाग लिने विद्यालयका खेल शिक्षक र अफिसियलसंग प्रतियोगिताको तयारीबारे छलफल गरेको छ ।
कार्यक्रममा नगरका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले रनिङ शिल्ड सम्पन्न गर्न अघिल्लो वर्ष १८ लाख वजेट रहेकामा यस वर्ष घटेर नगरपालिकाले १० लाख र संघीय सरकारबाट प्राप्त एक लाख गरी ११ लाख वजेट मात्र रहेको जानकारी दिए ।
शिक्षा शाखाकी अधिकृत शारदा भट्टराईले विद्यार्थीको शैक्षिकसंगै खेल प्रतिभा प्रष्फुटनका लागि रनिङ शिल्ड प्रतियोगिता आयोजना भएको र यसले विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा योगदान गर्ने बताइन् । विजयी खेलाडी जिल्ला, प्रदेश हुंदै राष्ट्रिय र अन्तराष्ट्रियस्तरसम्म पुग्ने भएकाले विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा रनिङ शिल्डको ठूलो महत्व हुने उनले बताइन् ।
छलफलमा एथलेटिक्स विधाका रेफ्री मोहन घले,भलिबलका रोशन चन्द,कबड्डीका महेन्द्र सुनार, वडा सदस्यहरु मित्रलाल न्यौपाने र मिलन रानाले विभिन्न सुझाव राखेका थिए । यसअघिका प्रतियोगितामा पहिलो संस्करण नवज्योति बोर्डिङ स्कुलले तथा दोस्रो र तेस्रो संस्करणको रनिङ शिल्ड कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा ८ ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्