बुटवल बहुमुखी क्याम्पसलाई उत्कृष्ट बनाउने अनेरास्ववियुको प्रतिवद्धता


पालिका पत्र

२ चैत्र २०७९, बिहीबार ०७:४० मा प्रकाशित

पालिकापत्र,बुटवल। स्ववियु निर्वाचनका लागि चुनावी प्रचारको अन्तिम दिन विद्यार्थी संगठनहरु अन्तिम चुनावी रणनीतिमा जुटेका छन् । लुम्बिनी प्रदेशका अधिकांश कलेजमा स्ववियु निर्वाचनको माहोल तातेको छ । लुम्बिनी प्रदेशको मुख्य कलेज मानिएको बुटवल बहुमुखी क्याम्पसमा पनि विद्यार्थी संगठनहरु चुनावी माहौल आफ्नो पक्षमा पार्न लागिरहेका छन् ।

२०४५ सालदेखि नै अनेरास्ववियुले एकछत्र रा जगर्दै आएको यो क्याम्पसमा यसपटक पनि अनेरास्ववियु आफ्नो पुरानो विरासत जोगाउने दाउमा छ ।स्ववियु निर्वाचन नजिकिदै जांदा पश्चिम नेपालकै दोस्रो ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरुले आफुले आगामी दिनमा गर्ने कामहरुको प्रतिवद्धता पत्र घोषणा गरिसकेका छन् । त्यसमध्ये सबैभन्दा ठूलो संगठन अनेरास्ववियुले पनि आगामी योजना सहित आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको छ । गुणस्तरीय शिक्षा आजको आवश्यकता, प्राज्ञिक उन्नयनमा सार्थक पहल हाम्रो प्रतिबद्वता’ भन्ने नाराका साथ अनेरास्ववियूले आफ्नो घोषणापत्रमा
बुटवल बहुमुखी क्याम्पसलाई पश्चिम क्षेत्रकै उत्कृष्ट र नमुना क्याम्पस बनाउने, परीक्षा नियन्त्रण कार्यालयको शाखा कार्यालय बुटवल क्याम्पसमा स्थापनाका लागि विशेष पहल गर्ने, क्याम्पसको प्रशासनिक कामलाई बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्ने, परिक्षाका लागि बुटवल बहुमुखी क्याम्पसका विद्यार्थी अन्य क्याम्पसमा जान नपर्ने ब्यवस्था गर्ने, स्नातकोत्तर र स्नातकमा नयाँ विषयहरु थप गर्ने, स्नातकोत्तर तहको पढाई बिहानी समयमा समेत सञ्चालन गर्ने, भौतिक संरचनाहरुको ब्यवस्थापन र निर्माण गर्ने लगायतका प्रतिवद्धता अनेरास्ववियुले सार्वजनिक गरेको छ ।

क्याम्पसमा २२ वर्षे युवा दुर्गाबहादुर एमसीलाई स्ववियू अध्यक्ष उम्मेदवार बनाएको अनेरास्ववियूले बुटवल बहुमुखी क्याम्पसमा एमएससी, एमबीए,ब्याचलर अफ इन्जिनियरिङ र बीएससी नर्सिङका कक्षा सञ्चालन गर्न पहल गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै क्याम्पसको भौतिक पूर्वाधार विकास, विद्यार्थी अनुपातमा कक्षा कोठा, विषयगत आवश्यकताका आधारमा आधुनिक सुविधा सम्पन्न छुट्टाछुट्टै ल्याबको व्यवस्था, सफा शौचालय, शुद्ध खानेपानी र ५ सय जना क्षमताको छात्रवास निर्माण अनेरास्ववियूको एजेण्डा छ । विद्यार्थीलाई स्वास्थ्य वीमा पूर्णरुपमा कार्यान्वयन, पर्याप्त पुस्तकसहित आधुनिक लाइब्रेरी, छात्रालाई सेनिटरी प्याड र सिकाई लाई प्रविधियुक्त डिजिटल बनाउने एजेण्डा अघि सारेको अध्यक्ष उम्मेदवार एमसीले बताए ।
सरकारी क्याम्पसलाई आम विद्यार्थीको विश्वास जित्ने आकर्षणको थलो बनाउने कुरामा आफ्नो ध्यान रहेको एमसीले बताए ।
गर्ने ।
प्राध्यापक अध्ययन कक्षको व्यवस्थापन,स्नातकोत्तर तहको सेमेष्टर प्रणालीको पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक र सन्दर्भ पुस्तकका लागि विभागीय पुस्तकालयको निर्माणमा पहल गर्ने, सोध वर्षका शोधार्थीको अध्ययनलाई सहज बनाउन व्यवस्थित रूपमा थेसिस कलेक्सन सेन्टर सहितको पुस्तकालयको व्यवस्था गर्ने, सोधार्थीको सहजका लागि केन्द्रीय पुस्तकालय, त्रि.वि.सँग सहकार्य गरी अनलाइन शोधपत्र अध्ययनको व्यवस्था मिलाउन पहल गरिने, सङ्कायगत लाइब्र्रेरी निर्माणका लागि पहल गरिने, परीक्षाको लागि होम सेन्टरको व्यवस्था र क्याम्पसको समग्र पूर्वाधार विकास गुरुयोजनाको सोच अनुरूप गर्न पहल गरिने र सुविधा सम्पन्न आधुनिक सभाहलको निर्माण गरिने, व्यवस्थित पार्किङ स्थलको निर्माण गरिने र कक्षाकोठामा क्रमशः स्मार्ट बोर्डको व्यवस्था गरिने अनेरास्ववियूको माग छ ।
प्रत्येक वर्ष खेलकुद सप्ताहको आयोजना , खेलकुद मैदानलाई व्यवस्थित बनाई प्याराफिट समेत निर्माण गर्ने, विद्यार्थीहरुलाई व्यक्तित्व र नेतृत्व विकासका कार्यक्रममा सहभागिता गराउने, विषयगत क्षमता अभिवृद्वि र सिपवृद्विका लागि विभिन्न तालिम, गोष्ठी र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, स्ववियुद्वारा प्रकाशन हुँदै आइरहेको हिम क्षितिज स्मारिकाको प्रकाशनलाई नियमित गर्ने र विद्यार्थी, कर्मचारी र प्राध्यापक बिच मैत्रीपूर्ण खेल र विभिन्न सेमिनारहरूको सञ्चालन गर्ने एजेण्डा पनि रहेका अध्यक्षका उम्मेदवार एमसीले बताए ।
क्याम्पसलाई फ्रि वाईफाई जोन, सबै सङ्कायमा उत्कृष्ट विद्यार्थीलाई विशेष छात्रवृत्तिको ब्यवस्था, विद्यार्थीको सुविधाको लागि कम्तीमा ५ ओटा कलेज बस सञ्चालन गर्न पहल गर्ने , सुरक्षाका लागि सीसीटीभी जडान ,अनुशासित र शिक्षणमैत्री वातावरणको निर्माण र प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको ड्रेसकोडको व्यवस्था गर्ने अनेरास्ववियूको माग छ ।
बुटवल वहुमुखी क्याम्पसमा नेवि संघले पनि शैक्षिक गुणस्तर सुधार, भौतिक पुर्वाधार विकास सहितका एजेण्डा अघि सारेर सागर पौडेलको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ । यस्तै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट शिव खवास,स्वतन्त्र विद्यार्थी समूहबाट प्रनेयमराज गौतम,विप्लव माओवादीबाट पदम पराजुली,नेकपा वहुमत निकट विद्यार्थी संगठनबाट पारस राहाडी उम्मेदवार छन् । ७ हजार १ सय ११ मतदाता रहेको बुटवल वहुमुखीमा यसअघि एमाले निकट अनेरास्ववियूबाट बाबुराम पन्थीले जितेपछि चुनाव हुन सकेको छैन । २०७३ मा हुने भनिएपनि अन्तिममा आएर स्थगित भएको थियो ।
यसपटक नेपाल विद्यार्थी संघको जिल्ला नेतृत्वमा शेरबहादुर देउवा र शेखर कोइराला पक्षले अलग अलग सभापति चयन गरेकाले उक्त संगठनमा रहेको आन्तरिक गुटबन्दीको फाइदा एमाले अखिलले लिने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्